काठमाडौं । हङकङको बक्स अफिसमा शनिबारदेखि नेपाली फिल्म ‘गाउँ आएको बाटो’ रिलिज भएको छ । त्यहाँको मल्टिप्लेक्स चेन गोल्डेन सिन सिनेमाज्ले शनिबार र आइतबारको लागि प्रदर्शन तालिका सार्वजनिक गरेको हो ।
शनिबार अपरान्ह ३ः२० बजे र आइतबार ५ः१० बजेलाई शो तय गरिएको हो । टिकट मूल्य १०० हङकङ डलर (१,७३० नेरु) तोकिएको छ । पहिलोपटक नेपाली फिल्मको वितरण अधिकार किनेर गोल्डेन सिनले प्रदर्शन थालेको हो । अंग्रेजी र चिनियाँ सबटाइटलमा फिल्म देखाइन लागेको हो ।
हङकङका अन्य ५ हलमा समेत प्रदर्शन गर्ने निर्माताको तयारी छ । गोल्डेन सिनले वेबसाइटमार्फत २५ अक्टोबरदेखि टिकट खुला गरेको थियो । हङकङ नेपाली समुदायको बाक्लो बसोबास भएको थलो समेत हो ।
निर्माता अमोद राईका अनुसार टोरोन्टो, बुसानलगायत विश्व प्रतिष्ठित फिल्म फेस्टिभलमा प्रदर्शनपछि ‘गाउँ आएको बाटो’ अन्तर्राष्ट्रिय दर्शकमाझ आउन थालेको हो ।
हङकङबाट प्रकाशन हुने ‘साउथ चाइना मर्निङ पोस्ट’ले फिल्मलाई हङकङमा यो साता गरिने उत्कृष्ट कामको पाँचौ सूचीमा रोखेको छ । अन्य स्थानीय सञ्चारमाध्यमले पनि ‘गाउँ आएको बाटो’को चर्चा गरेका छन् ।
यसअघि सोही हलमा १२ शोमा बाँडेर फिल्म देखाइएको थियो । उक्त क्रममा ८ सय दर्शकले फिल्म हेरेका थिए । स्क्रिनिङमा सहभागि हुन नेपालबाट निर्देशक नवीन सुब्बासहित अभिनेत्री पशुपति राई, बालकलाकार प्रसन राई, लाइन प्रोड्युसर मिङ्सो लिम्बू हङकङ पुगेका थिए ।
यो फिल्म लगत्तै थाइल्यान्ड, इन्डोनेसिया, इटाली र बेलायतमा समेत प्रदर्शन हुनेछ । देवराज राई कार्यकारी निर्माता रहेको फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसन राईको शीर्ष भूमिका छ ।
प्रतिक्रिया 4