
२० कात्तिक, काठमाडौं । नोभेम्बर ८ (२३ कात्तिक) देखि लागु हुने गरी करिब पाँच महिनासम्म काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान समय १४ घण्टामा सीमित गरिएको छ ।
विमानस्थल स्तरोन्नति गर्न ‘उडान समय’ छोट्याइएको हो । बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म ‘नोटिस फर एयरमेन’ (नोटाम) जारी भएको छ ।
स्तरोन्नतिपछि जहाजको आउजाउ तथा ट्राफिकमा धेरै सुविधा हुने वायुसेवा कम्पनीले समेत विश्वास लिएका छन् । विमानस्थल सञ्चालन अवधि दैनिक १४ घण्टामा सीमित हुने भएपछि टिकटमा तोकिएको समय ख्याल गर्न वायुसेवा कम्पनीहरूले आग्रह गरेका छन् ।
केही महिनापछि सक्रिय हुने मनसुनले स्तरोन्नतिमा बाधा पुग्ने हुँदा अहिलेकै समय तालिका उचित रहेको निजी वायुसेवा कम्पनी बुद्ध एयरले उल्लेख गरेको छ ।
छोट्याइएको उडान समय जाडो महिनाको छ । जाडो मौसममा अधिकांश विमानस्थलमा हुस्सु तथा कम भिजिबिलिटीका कारण नियमित सञ्चालन प्रभावित हुन्छ ।
‘आईएफआर’ गन्तव्यमा रात्रि उडान भए पनि बेलुका १० बजेभित्र सम्पन्न गर्नुपर्ने हुन्छ । त्यसैगरी ‘भीएफआर’ गन्तव्यमा भिजिबिलिटीका आधारमा दिउँसै सम्पन्न गर्नुपर्ने हुन्छ ।
अन्यथा, उडान रद्द हुने सम्भावना रहन्छ । बुद्धले समयमै उडान भर्न पर्याप्त जहाज रहेको उल्लेख गर्दै नयाँ निर्देशिका जारी गरेको छ ।
कतिपय अवस्थामा प्रतिकूल मौसम तथा एयर ट्राफिकका कारण उडान प्रभावित हुने गरेका छन् । यी कारणले गर्दा यात्रुलाई टिकटमा उल्लेखित समयमै विमानस्थल चेक–इन काउन्टरमा रिपोर्टिङका लागि पुग्न बुद्धले अनुरोध गरेको छ ।
‘यात्रुलाई हवाई टिकटमा उल्लेखित समयमै विमानस्थल चेक–इन काउन्टरमा रिपोर्टिङका लागि पुग्न अनुरोध छ । कम्पनीले उडान समयभन्दा १५ मिनेटअघि नै त्यस गन्तव्यको चेक–इन काउन्टर बन्द गर्ने छ,’ बुद्धको निर्देशिकामा छ, ‘खराब मौसम तथा एयर ट्राफिकका कारण विमानस्थल ढिलो खुले उडान रद्द हुने सम्भावना उत्तिकै रहन्छ । यस्तो भए सिट उपलब्धताका आधारमा अर्को दिनलाई टिकट रिसेड्युल गरिने छ ।’
उडान रद्द भएका टिकटलाई ‘रिफन्ड प्रोसेसिङ’ मा हालिने भएको छ । अनलाइन टिकेटिङका हकमा त्यहीँबाट रिफन्ड हुनेछ । यसका लागि ३ देखि ४ दिनको समय लाग्ने छ ।
त्यसैगरी ट्राभल ऐजन्सीबाट टिकट लिएकाले त्यहीँ सम्पर्क गर्न समेत अनुरोध गरिएको छ । एयर ट्राफिक तथा समय अभावका कारण उडान रद्द भए अर्को दिनलाई ‘डिले सेड्युल’ उपलब्ध नगराइने कम्पनीको भनाइ छ ।
अन्तर्राष्ट्रियतर्फ कनेक्टिङ उडान हुने यात्रुले फराकिलो समयको अन्तर वा एकदिन अघिको टिकट लिए थप सहज हुने कम्पनीको भनाइ छ ।
प्रतिक्रिया 4