काठमाडौं । बलिउड निर्माता नितेश तिवारीको प्रतिक्षित फिल्म ‘रामायण’को प्रदर्शन मिति घोषणा भएको छ । फिल्म दुई भागमा रिलिज हुनेछ । पहिलो भाग सन् २०२६ र दोस्रो भाग सन् २०२७ मा तिहारको अवसरमा रिलिज हुनेछ ।
फिल्ममा रणवीर कपुरलाई भगवान रामको भूमिका र साई पल्लवीलाई सीताको भूमिकामा कास्ट गरिएको छ । यश रावणको भूमिकामा देखिनेछन् । फिल्मको पहिलो पोस्टर सेयर गर्दै निर्माता नमिल मल्होत्राले लेखेका छन्- ‘मैले यो महाकाव्यलाई ठूलो पर्दामा ल्याउनको लागि खोज सुरु गरेको छु । जसले ५ हजार वर्षभन्दा बढी समयदेखि अबौं हृदयमा राज गरेको छ ।’
‘म यसलाई सुन्दर ढंगले आकार दिइरहेको देखेर उत्साहित छु । हाम्रो टोलीको एउटै उद्देश्य छ- संसारका मानिसलाई हाम्रो इतिहासको सबैभन्दा प्रामाणिक, पवित्र रूप, हाम्रो सत्य र हाम्रो संस्कृति, हाम्रो रामायण प्रस्तुत गर्नु हो ।’
केही समयअघि यशले हलिउड रिपोर्टरलाई दिएको अन्तर्वार्तामा आफूले यस फिल्ममा रावणको भूमिका निर्वाह गर्ने बताएका थिए । उनले भनेका थिए, ‘एक अभिनेताको हैसियतले रावणको भूमिका खेल्न पाउनु मेरो लागि निकै रोमाञ्चक छ । मलाई उनको चरित्रको सूक्ष्मता धेरै मन पर्छ ।’
‘रामायण’को बारेमा कुरा गर्दै यशले अगाडि भनेका थिए, ‘यति ठूलो बजेटको फिल्म बनाउन त्यस्ता कलाकारलाई ल्याउनुपर्छ । म फिल्मका निर्मातासँग सुरुदेखि नै जोडिएँ । जब म फिल्मबाट ब्रेकमा थिएँ, हामी यस विषयमा छलफल गरिरहेका थियौं । यस फिल्मका लागि पहिले रणवीर, त्यसपछि म र त्यसपछि साई पल्लवीलाई कास्ट गरिएको थियो ।’
प्रतिक्रिया 4