+

विश्वकपका लागि नेत्रहीन क्रिकेट खेलाडी बन्द प्रशिक्षणमा

२०८१ कात्तिक  २२ गते २०:४१ २०८१ कात्तिक २२ गते २०:४१
विश्वकपका लागि नेत्रहीन क्रिकेट खेलाडी बन्द प्रशिक्षणमा

२२ कात्तिक, लमही। नेत्रहीन क्रिकेट संघ नेपालले टि-२० विश्व कप पुरुष क्रिकेटका लागि १५ जनालाई बन्द प्रशिक्षण सुरु गरेको छ ।

टि-२० विश्वकपको तयारीका लागि दाङको लमहीमा रहेको देउखुरी क्रिकेट स्टेडियममा अन्तिम चरणको बन्द प्रशिक्षण क्याम्प सुरु भएको हो ।

बन्द प्रशिक्षण कात्तिक २२ गतेदेखि १३ दिनसम्म सञ्चालन हुने नेत्रहीन क्रिकेट संघ नेपालका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले जानकारी दिए ।

बन्द प्रशिक्षणमा कप्तान रमेश बहादुर बानियाँ, उपकप्तान दम बहादुर बडैला, सुनिल सुवेदी क्षत्री, सागर लामा, दुर्गादत्त पौडेल, प्रेम बहादुर क्षेत्री, निश्चल शिवाकोटी, भरत थापा, प्रविन स्याङ्तान, मदन न्यौपाने छन् । यसैगरी अमिश गुरागाईँ, सन्त पहरी, सुनिल रानामगर, नरेश चौधरी र पदम कार्की पनि बन्द प्रशिक्षणमा छन् ।

नेत्रहीन क्रिकेटको नेपाली राष्ट्रिय टोलीलाई नेपाल क्रिकेट संघका प्रशिक्षक एवम् दाङ क्रिकेट संघका सचिव सञ्जु क्षेत्री र सहायक प्रशिक्षक नरेन्द्र निरौलाले प्रशिक्षण दिने बन्द प्रशिक्षणका को-अर्डिनेटर प्रेम पुलामीले जानकारी दिए ।

टि-२० विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर ३ सम्म पाकिस्तानमा हुँदैछ। यस प्रतियोगितामा नेपाल, पाकिस्तान, भारत, श्रीलंका, बंगलादेश, साउथ अफ्रिका, न्युजिल्याण्ड र अफगानिस्तान गरी ८ देश सहभागी हुनेछन् ।

लमहीमा १२ करोड लागतमा क्रिकेट मैदान निर्माण गरिएको छ । ५०० दर्शक क्षमताको (जी स्ट्यान्डर्ड) मैदानमा भीआईपी स्ट्यान्ड, आउटफिल्ड, साइट स्क्रिन, पेभेलियन जस्ता संरचनाहरू निर्माण गरिएको छ ।

लमही नगर विकास समितिको स्वामित्वको यो मैदानमा आठौं राष्ट्रिय खेलकुदका बेला महिला क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो ।

युएईमा गत बुधबारदेखि सुरु आईसीसी यू-१९ महिला टि-२० विश्वकप एसिया छनोट खेलमा सहभागी टोलीलाई पनि करिब दुई महिना लमही क्रिकेट मैदानमा प्रशिक्षण दिइएको थियो ।

पूर्वपश्चिम राजमार्गसँगै सटेको चार बिघा क्षेत्रफलमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार क्रिकेट मैदान निर्माण गरिएको लमही नगर विकास समितिका सब–इञ्जिनियर तुलसीराम अर्यालले बताए ।

लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोकामगरले यो मैदानमा नियमित खेल र अभ्यास गराउन पहल गरिने बताए ।

– शिवु खनालबाट

नेत्रहीन क्रिकेट संघ पुरुष क्रिकेट बन्द प्रशिक्षण विश्वकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय