२३ कात्तिक, काठमाडौं । दोस्रोपटक अमेरिकाको राष्ट्रपति चुनिएका डोनाल्ड ट्रम्पको विश्वभर जति चर्चा भइरहेको छ, त्यस्तै चर्चा उपराष्ट्रपति जे.डी. भान्सको पनि भइरहेको छ । किनभने उनी अमेरिकाको इतिहासमै तेस्रो सबैभन्दा युवा उपराष्ट्रपतिको रुपमा निर्वाचित भएका छन् ।
रिपब्लिकन पार्टीका ४० वर्षीय भान्स ओहायोका सिनेटर हुन् । उनले ६० वर्षीय डेमोक्रेटिक उम्मेदवार टिम वाल्ट्जलाई हराए । सांसद बनेको दुई वर्षमै ट्रम्पको विश्वास पात्रको रुपमा भान्स उपराष्ट्रपति चुनिएका छन् ।
अमेरिकामा सबैभन्दा कम उमेरको उपराष्ट्रपतिको रुपमा पहिलो नम्बरमा जोन सी ब्रेकिनरिजको नाम आउँछ । उनी ३६ वर्षको उमेरमै उपराष्ट्रपति बनेका थिए । उनको कार्यकाल १८५७ देखि १८६१ सम्म थियो ।
उतार–चढावपूर्ण बाल्यकाल
भान्सको जन्म १९८४ को अगष्ट महिनामा ओहायो राज्यको मिडलटाउन शहरमा भएको थियो । भान्स ६ वर्षको छँदै उनका आमा–बुवाको छोडपत्र भयो । उनकी आमाले पाँच पटक बिहे गरिन् । त्यसैले उनले आमा–बुवाको माया सानैदेखि पाउन सकेनन् । बुवा फेरिएसँगै उनले आफ्ना नाम पनि पटक पटक फेर्नु परेको थियो ।
भान्सको चर्चित पुस्तक ‘हिलबिली एलेजी’मा उनले यो प्रसंग उल्लेख गरेका छन् ।
जेडीको सुरुको नाम उनको जैविक पिता डोनाल्ड बोमनको नामबाट ‘डोनाल्ड’राखिएको थियो । तर आमा बेवर्ली एकिन्सले तेस्रो बिहे बब ह्यामलसँग गरेपछि उनको नाम बदलिने क्रम सुरु भएको थियो ।
नाम फेरिरहनु पर्दा र आमा लागुपदार्थको लतमा पर्दा आफ्नो जीवन निकै कठिन भएको जेडी भान्सले आफ्नो पुस्तकमा लेखेका छन् ।
आमाबाट दुर्व्यवहार हुन थालेपछि जेडीको रेखदेख हजुरबुवा जेम्स र हजुरआमा भान्सले गर्न थालेका थिए । त्यसपछि उनको नाम पनि ‘जे.डी. भान्स’ राखिएको थियो ।
उनले सन् २००३ मा मिडलटाउन हाइस्कुलबाट विद्यालयको पढाइ पूरा गरेका थिए । त्यसपछि अमेरिकी नौसेनामा भर्ना भएका उनले इराकमा पुगेरसमेत सेवा गरेका थिए । उनले ओहियो स्टेट युनिभर्सिटीबाट राजनीति विज्ञान र दर्शनशास्त्रमा स्नातकसम्म अध्ययन पूरा गरे ।
भारतीय मूलकी पत्नी
जेडी भान्सले क्याम्पस पढ्दा चिनजान भएकी भारतीय मूलकी उषा चिलुकुरीसँग बिहे गरेका छन् । उषा यल ल जर्नलको कार्यकारी विकास सम्पादक थिइन् । उनी कानुन व्यवसायी हुन् ।
उनीहरुबीच सन् २०१४ मा बिहे भएको थियो । उनीहरुका दुई छोरा र एक छोरी छन् । जेडी भान्स भने राजनीतिज्ञ, लेखक र व्यवसायीको रुपमा परिचित छन् ।
पहिले ट्रम्पका आलोचक, अहिले उनकै सारथी
उपराष्ट्रपतिका रुपमा ट्रम्पको रोजाईमा परेका भान्स कुनै बेला ट्रम्पका कटु आलोचक थिए । सन् २०१६ को चुनावताका उनले ट्रम्पका नीतिविरुद्ध कडा अभिब्यक्तिहरु दिने गरेका थिए । सन् २०१६ देखि २०२० सम्म उनले गरेका ट्वीटमा ट्रम्पप्रति कडा आलोचना देखिन्थ्यो ।
तर, जब उनी ओहायोको सांसदका उम्मेदवार बने तव ट्रम्पप्रतिको दृष्टिकोणमा पनि युटर्न भए । यतिसम्म कि, उनले आफ्ना पुराना सवै ट्वीट डिलिट गरेका थिए । फक्सन्यूजसँगको अन्र्तवार्तामा उनले पुराना ट्वीटका आधारमा आफुप्रति धारणा नबनाउन मतदातालाई आग्रह गरेका थिए ।
सांसद पदका लागि उनलाई ट्रम्पले इन्डोर्स गरेपछि दुवैवीच निकटता बढेको थियो ।
प्रतिक्रिया 4