२३ कात्तिक, काठमाडौं । अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले ब्याजदर घटाएको छ । बैंकले सन्दर्भ ब्याजदर ०.२५ आधार बिन्दुले घटाएको हो । सो विन्दुले घटाएपछि अब ४.५ प्रतिशतदेखि ४.७५ प्रतिशतसम्म कायम भएको हो । यसअघि ४.७५ प्रतिशतदेखि ५ प्रतिशत रहेको थियो ।
आर्थिक वृद्धिदर सुधार देखिएको, मुद्रास्फीति सन्तुलनमा रहेको, आर्थिक वर्षको सुरुवातबाट नै श्रम बजार सामान्य रहेकाले ब्याजदर घटाइएको बैंकले जनाएको छ ।
फेडले एक प्रेसनोट जारी गर्दै मुद्रास्फीति मौद्रिक समितिको लक्षित सीमा दुई प्रतिशतमा आउनेमा प्रगति भइरहेको भए पनि अझै केही माथि रहेको जनाएको छ ।
अमेरिकी केन्द्रीय बैंकको मौद्रिक समितिले दिर्घकालीन रुपमा अधिक रोजगारी र मुद्रास्फीति २ प्रतिशत कायम राख्ने लक्ष्य राखेको छ ।
कोभिड र रसिया युक्रेन युद्धपछि अन्तर्राष्ट्रिय आपूर्तिमा देखिएको असरले बढेको मुद्रास्फीति नियन्त्रण गर्न बैंकले ब्याजदर बढाउँदै लगेको थियो । सन्दर्भ ब्याजदर ५.२५ देखि ५.५ प्रतिशतसम्म पुर्याएको फेडेरल रिजर्भले २०२४ सेप्टेम्बरमा ०.५ आधार बिन्दु र नोभेम्बरमा पुन: ०.२५ आधार बिन्दुले घटाएको छ ।
अमेरिकी ब्याजदर परिवर्तनले अमेरिकी उत्पादनको लागत तथा मूल्य, कच्चा तेल, सुन, मुद्रा विनियमदरजस्ता विषयलाई प्रत्येक्ष प्रभाव पर्ने भएकाले यसको असर नेपालसहित अरु मुलुकहरूमा पर्न जान्छ ।
प्रतिक्रिया 4