+
+

कोशीका मन्त्री जोडिएको प्रकरणमा एमाले र कांग्रेस किन मौन ?

सरकार नै एमालेको नेतृत्वमा भएका कारण अधिकारीमाथि निष्पक्ष छानविन हुनेमा आशंका रहेको नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो बताउँछन् ।

हरि अधिकारी हरि अधिकारी
२०८१ कात्तिक २३ गते २२:३६
लिलाबल्लभ अधिकारी

२३ कात्तिक, विराटनगर । मानव तस्करीको गम्भीर विवादमा मुछिएपछि बुधबार मन्त्रीबाट राजीनामा दिएका एमाले सांसद लिलाबल्लभ अधिकारीले शुक्रबार पार्टीको जिम्मेवारीबाट मुक्त गर्न निवेदन दिएका छन् ।

प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडालाई पत्र लेख्दै जिम्मेवारीबाट मुक्त गर्न भन्दै निवेदन दिएका हुन् । अधिकारी एमालेको प्रतिनिधि परिषद सदस्य हुन् ।

जापानको टोकियो विमानस्थलबाट डिपोट भएपछि विवादित बनेका अधिकारीले जिम्मेवारी छाडे पनि उनको पार्टी र पार्टीको संसदीय दल मौन छ, बरु अधिकारी आफैंले अनुसन्धानका लागि मार्ग प्रसस्त गरेको भन्दै अभिव्यक्ति दिइरहेका छन् ।

शुक्रबार पार्टीको जिम्मेबारीबाट मुक्त गर्न भन्दै प्रदेश कमिटी अध्यक्ष खतिवडा अधिकारीलाई फसाउन खोजिएको दाबी गर्छन् । ‘….हङकङमा पुगेपछि मात्रै अरु मान्छे छन् भन्ने थाहा भयो भन्ने कुरो गरेपछि त उहाँलाई गलत ढंगले फसाइनु हुँदैन भन्ने कुरामा पहल गर्नुपर्ने नै भयो,’ खतिवडाले भने, ‘अनुसन्धानमा सजिलो बनाउनका लागि सहजीकरण पार्टीले गर्छ ।’

सरकार नै एमालेको नेतृत्वमा भएका कारण अधिकारीमाथि निष्पक्ष छानविन हुनेमा आशंका रहेको नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो बताउँछन् ।

‘ एउटै घटनामा जोडिएका अन्य व्यक्ति हिरासतमा छन्, उहाँले त प्रमाण लुकाउन सक्ने प्रशस्त आधार र सम्भावना छ,’ उनले भने,‘ उहाँलाई यतिखेरसम्म अनुसन्धानको दायरामा ल्याउनुपर्ने हो, तर सरकारले गरेको छैन ।’

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो

मन्त्री नै मुछिएको मानव तस्करको जालोको गहिराइमा सरकार पुग्न सक्छ जस्तो नलाग्ने उनले बताए । ‘राष्ट्रको शिर निहुरिने घटनालाई सत्ता साझेदार दलले सामान्य रुपले लिएर यतिकै टुङ्ग्याउन खोजेको देखिन्छ,’ उनले भने, ‘यो घटनाको निष्पक्ष छानबिनमै शंका छ ।’

सांस्कृतिक कार्यक्रममा जाने भन्दै मन्त्रिपरिषदबाट स्वीकृत नगरी जापान हिँडेका मन्त्री अधिकारीसँग गएका अन्य तीन जनासँग नक्कली कागजात भेटिएपछि जापानको अध्यागमनले नेपाल फिर्ता पठाएको थियो ।

अधिकारी नेतृत्वको भ्रमण दलका सदस्य भन्दै पुगेका खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ का ३६ वर्षीय दावा शेपा, खोटाङकै कोपिलासगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई र रसुवाको कालिका गाउँपालिका– ५ का २२ वर्षीय कञ्चन देवकोटालाई जापान विमानस्थलले फर्काएपछि प्रहरीले नियन्त्रणमा लिएको छ, अधिकारीसहित अन्य एक जनालाई भने छाडिएको थियो । यो घटनाको अनुसन्धानका लागि प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी विवादमा फसेपछि दलको नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको निर्देशनमा मन्त्रीबाट अधिकारीले राजीनामा दिएको बताउँछन् ।

अधिकारीको विषयमा थप निर्णय भने संसदीय दलको बैठकले गर्ने उनले बताए । उनका अनुसार संसदीय दलको बैठक तत्काल बस्ने अवस्था छैन । सांसदहरु जिल्लामा रहेको र अधिवेशन पनि नरहेका कारण अहिले नै दलको बैठक बस्दैन ।

‘उहाँले गल्ती कमजोरी भयो भनेर स्वीकार गर्नुभएको छ, अब संसदीय दलको बैठक बसेपछि थप छलफल हुन्छ,’ उनले भने, ‘राज्यको अन्य निकायले पनि अनुसन्धान गरिरहेको छ ।’

मन्त्री अधिकारीले लापरवाही गर्दा विवादमा परेको बताउँदै उनले मुख्यमन्त्री कार्कीले नजान सल्लाह दिँदा पनि विदेश भ्रमणमा गएको दाबी गरे ।

नेपाली कांग्रेस अधिकारीको विषयमा चुपचाप छ । सत्ता साझेदार दल भएका कारण कांग्रेसले सार्वजनिक अभिव्यक्ति नदिएको हो ।

नेकपा माओवादी केन्द्र र राप्रपाले भने प्रदेशका मन्त्री जापानबाट डिपोट भएको घटनाले प्रदेशबासीको शिर निहुरिएको बताएका छन् । माओवादी संसदीय दलले बिहीबार र राप्रपाले शुक्रबार विज्ञप्ति जारी गरेको थियो ।

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता तथा पार्टी प्रदेश समिति सभापति उद्धव थापा

 

 

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता तथा पार्टी प्रदेश समिति सभापति उद्धव थापा प्रहरीले छानविन गरिरहेको विषयमा बोल्न आवश्यक नरहेको बताउँछन् ।

‘प्रहरीले अनुसन्धान गरिरहेको छ, अनुसन्धनबाट केही आउला अनि त्यसपछि केही राख्नुपर्ने कुराहरु होला,’ उनले भने, ‘विदेश जाँदा उहाँले विधि प्रक्रिया पुरा गर्नु भएन, त्यहाँ गल्ती कमजोरी देखिएको छ ।’ पार्टीको धारणा भने प्रहरीले अनुसन्धान सकेपछि मात्रै आउने उनले बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?