काठमाडौं । अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आईएमई बैंकले जितेको छ ।
नेपाल राष्ट्र बैंक कर्मचारी संघ सिद्धार्थनगर समितिले बुटवलमा आयोजना गरेको प्रथम अन्तर बैंक फुटसल प्रतियोगितामा एनएमबी बैकलाई ६–० गोल अन्तरले पराजित गर्दै ग्लोबल आईएमई बैंकले उपाधि जितेको हो ।
विजेता बनेसँगै ग्लोबल आईएमई बैंकले ५० हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको एनएमबी बैकले २५ हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा ग्लोबल आईएमई बैंकका बमबहादुर भुजेल सर्वोत्कृष्ट खेलाडी घोषित भए भने ग्लोबल आईएमई बैंककै दुर्गा ओली सर्वाधिक गोलकर्ता बने । उनले खेल अवधिभर १८ गोल गरे ।
यस्तै सर्वोत्कृष्ट गोल किपरमा ग्लोबल आईएमई बैंकका हुपेन्द्र चौधरी बने भने ग्लोबलईआइएमई बैंकका दुर्गा ओली उत्कृष्ट खेलाडी घोषित भए ।
नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक बिज्ञानराज सुवेदीको प्रमुख आतिथ्यतामा समापन कार्यक्रमको आयोजना गरिएको हो ।
विजेता, उपविजेता खेलाडीलाई नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक विज्ञानराज सुवेदी, नेपाल राष्ट्र बैंक कर्मचारी युनियनका अध्यक्ष पदमराज भुसाल लगायतले पुरस्कार प्रदान गरेका थिए ।
आयोजकका अनुसार प्रतियोगितमा २९ टिमको सहभागिता थियो ।
प्रतिक्रिया 4