+
+

दुई उपसभापतिलाई रविको निर्देशन : मेरो पक्राउ राजनीतिक प्रतिशोध हो भन्ने बुझाउनुस्

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २६ गते १७:२२

२६ कात्तिक, काठमाडौं । सहकारी ठगीको आरोपमा अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दुई उपसभापति डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले भेट गरेका छन् ।

सोमबार भएको भेटमा लामिछानेले आफूलाई हिरासतमा नलिई अनुसन्धान गर्न सकिनेमा सत्तापक्षले राजनीतिक प्रतिशोधका कारण हिरासतमा राखेको बताएका थिए ।

उनले आफूलाई हिरासतमा राख्नु राजनीतिक प्रतिशोध हो भन्ने कुरा जनतालाई बुझाउन निर्देशन दिएको उपसभापति अर्यालले जानकारी दिए । प्रहरी कार्यालयबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा अर्यालले सभापति लामिछाने पक्राउको विरोधमा रास्वपाले आन्दोलनलाई निरन्तरता दिने बताए । आफ्ना सभापति लामिछानेप्रति वर्तमान सत्ता निर्दयी भएको उनको टिप्पणी छ ।

भेटपछि अनलाइनखबरसँगको कुराकानीमा उपसभापति अर्यालले राजनीतिक प्रतिशोध हो कि होइन भन्ने कुरा सर्वसाधारणलाई बुझाउन आग्रह गरेको बताए । ‘हामीले गरिरहेको आन्दोलन राजनीतिक प्रतिशोधविरुद्ध भएको कुरा सर्वसाधारण नागरिकले बुझिराख्नुभएको छ कि छैन, स्पष्टसँग बुझाइदिनुहोला । आन्दोलन कस्तो प्रकृतिको गर्नेबारे सचिवालय र केन्द्रीय समितिले निर्णय लिन भन्नुभएको छ’, अर्यालले भने ।

अर्का उपसभापति वाग्लेले सभापति लामिछानेलाई अनावश्यक हिरासतमा राखिएको बताए । उनले  सञ्चारकर्मीहरुसँग भने, ‘राजनीतिक प्रतिशोधले अनावश्यक हिरासतमा राखिएको हो । हामीलाई विधिको शासनमा अटल विश्वास छ ।’

हिरासतबाहिर राखेर अनुसन्धान गर्दा प्रमाण नष्ट गर्ने, भागेर जाने अवस्था नभएको उनले बताए । सरकारले कानुनी छिद्रको दुरुपयोग गरिरहेको वाग्लेको टिप्पणी थियो ।

लामिछानेलाई भेटेर फर्किएपछि प्रतिक्रिया दिने क्रममा दुई उपसभापतिले आगामी विरोधका कार्यक्रम बुधबार सार्वजनिक गर्ने बताए ।

पोखराको सूर्यदर्शन सहकारीको रकम कानुन विपरीत गोर्खा मिडिया प्रालिमा ल्याई अपचलन भएको घटनाको अनुसन्धानका लागि गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई प्रहरीले २ कात्तिकमा पक्राउ गरेको हो । आइतबार जिल्ला अदालत कास्कीले उनलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?