+
+
नेपाल भारत सीमा सुरक्षा बैठक :

शरणार्थी समस्यामा छलफल गर्ने नेपालको तयारी

नारायण अधिकारी नारायण अधिकारी
२०८१ कात्तिक २८ गते २०:३५

२८ कात्तिक, काठमाडौं । भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)का महानिर्देशक अमृतमोहन प्रसाद नेपाल १ र २ मंसिरमा काठमाडौंमा हुने सीमा सुरक्षा बैठकका लागि काठमाडौं आउँदैछन् ।

३० कात्तिकमा ९ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं आउन लागेका अमृतमोहन गत सेप्टेम्बरमा मात्रै एसएसबीका महानिर्देशक नियुक्त भएका थिए । भारतमा एसएसबीलाई नेपाल र भुटानसँगको भारतीय सिमाना हेर्ने जिम्मेवारी दिइएको छ ।

नेपाल र भातरबीच हरेक वर्ष एसएसबीका प्रमुख र सशस्त्र प्रहरी बलका महानिरीक्षककबीच सीमा सुरक्षाबारे बैठक हुने गर्छ । आलोपालो हुने उक्त बैठक अघिल्लो वर्ष भारतमा भएको थियो भने यो पटक काठमाडौंमा हुन लागेको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल नेतृत्वको नेपाली टोलीमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरु पनि रहनेछन् ।

कोभिड–१९ का कारण बीचमा दुई वर्ष रोकिएको यो बैठक त्यसपछि नियमित सञ्चालनमा छ । यसपटक हुन लागेको बैठक आठौं हो ।

हरेकजसो बैठकमा अन्तरदेशीय अपराध, आतंकवाद, हातहतियार तस्करी नियन्त्रण, सीमा सुरक्षा, सूचना आदानप्रदान, लागु औषध ओसारपसार नियन्त्रण तथा सीमा क्षेत्रमा हुने अन्य प्रकारका अपराधहरुको न्यूनिकरणमाथि छलफल हुँदै आएका छन् ।

यसपटक पनि यिनै विषयमा छलफल केन्द्रित हुने सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

यो पटक भने नेपालले शरणार्थी मुद्दालाई पनि छलफलमा प्रवेश गराउने तयारी गरेको छ । खुल्ला सीमाका कारण शरणार्थीबाट नेपालको सुरक्षामा चुनौती थपिन सक्ने भन्दै नेपालले यो विषयलाई छलफलको एजेण्डा बनाउने तयारी गरेको हो ।

नेपालको कानुनअनुसार कुनै पनि देशका नागरिक शरणार्थीका रुपमा नेपालमा बस्न पाउँदैनन् । तर अहिले नेपालमा विभिन्न देशका शरणार्थी ठूलै संख्यामा छन् ।

आन्तरिक र बाह्य सुरक्षामा चुनौती देखिएको शरणार्थी समस्या समाधानका लागि गृह मन्त्रालयले अहिलेसम्म कार्ययोजना बनाएको छैन ।

नेपाल भित्रिएका अधिकांश शरणार्थीहरु भारतबाट स्थलमार्ग हुँदै भित्रिने गरेकाले शरणार्थी समस्यालाई केन्द्रमा राखेर छलफल गर्ने तयारी सशस्त्र प्रहरीको छ ।

‘अन्य विषय नियमित बैठकमा जस्तै भइरहन्छन् तर यसपटक शरणार्थी समस्यालाई केन्द्रमा राखेर छलफल गर्ने तयारी गरेका छौं’, सशस्त्र प्रहरी बलका एक उच्च अधिकृतले अनलाइनखबरसँग भने ।

बंगलादेशमा विद्यार्थी आन्दोलनले उग्र रुप लिएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी थिइन् । उक्त घटनापछि त्यहाँका धेरै मानिसहरु नेपाल भित्रिन सक्ने आशंकामा सीमामा कडाइ गरिएको थियो ।

२९ साउनमा उपचारको बहाना बनाएर भारतको बाटो हुँदै नेपाल प्रवेश गर्न लागेका बंगलादेशी नागरिक ४९ वर्षीय एमडी रेजुअल कोरिम र ६३ वर्षीय एमएसटी जयदा बेगमलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको थियो ।

यसअघि २०७८ असोजमा अमेरिका पठाउने भन्दै मानव तस्करको गिरोहले म्यानमारका ३९ जना रोहिंग्यालाई काठमाडौं ल्याएर छाडेको थियो ।

त्यतिबेला म्यानमारकै २७ वर्षीय नुरुल अमिन, कपन राम मन्दिर (शरणार्थी क्याम्प) मा बस्दै आएका २७ वर्षकै सफिक आलम र बंगलादेशी नागरिक ३० वर्षका अजमतलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेर अनुसन्धान समेत गरेको थियो । पछि उनीहरु पुर्पक्षका लागि कारागार समेत चलान भएका थिए ।

रोहिंग्याहरु पनि म्यानमारबाट भारत हुँदै स्थलमार्गबाट नेपाल प्रवेश गरेको खुलेको थियो । ‘जति पनि शरणार्थी समस्या छ । ती सबैजसो भारतबाट स्थलमार्ग हुँदै नेपाल भित्रिएको देखिन्छ । दुई देशका सीमा सुरक्षाकर्मीको समन्वयमा मात्रै यस्ता समस्या हल हुनसक्ने भएकाले शरणार्थी समस्यालाई केन्द्रमा राखेर छलफल गर्न लागेका छौं’, सशस्त्र प्रहरी बलको सीमा सुरक्षा विभागका एक अधिकारीले भने ।

नेपालमा हाल ६ हजार ३६५ भुटानी शरणार्थी छन् भने १० हजार भन्दा बढी तिब्बती शरणार्थी रहेको गृह मन्त्रालयको तथ्यांक छ । गृहका सूचना अधिकारी दिलकुमार तामाङका अनुसार भुटानी र तिब्बतीलाई सरकारले नै परिचयपत्र दिएकाले यसको रेकर्ड छ । बाँकीको हकमा भने आधिकारिक तथ्यांक छैन ।

भुटानी र तिब्बतीबाहेक विभिन्न ८ देशका ६८३ शरणार्थी नेपालमा रहेको प्रहरी स्रोत बताउँछ । जसमा ३४ अफगानी, १८८ पाकिस्तानी, १६ श्रीलंकाली, २ बंगलादेशी, ९ इरानी, ४१६ रोहिंग्या, १८ सोमालियाली शरणार्थी नेपालमा रहेको तथ्यांक प्रहरीसँग छ ।

नेपालले विगतमा आश्रय दिएका भुटानी र तिब्बती शरणार्थी व्यवस्थापन गर्न समस्या भइरहेका बेला अन्य देशका शरणार्थी पनि थपिँदा सुरक्षा चुनौती थपिने सुरक्षा अधिकारीहरुको विश्लेषण छ ।

भुटानी शरणार्थी व्यवस्थापनका लागि तेस्रो देश पुनर्बास कार्यक्रम बन्द भइसकेको छ । रोहिंग्यालाई पनि दातृ निकायले दिएको सहायता कटौती भइसकेको छ भने निगरानी हुन नसक्दा आपराधिक गतिविधिमा लाग्न सक्ने जोखिम बढ्दै गएको छ ।

शरणार्थीको समस्या सुरक्षा निकायको छलफलबाट मात्रै समस्या समाधान नहुने भएकाले सरकारले माथिल्लो तहबाटै पहल गर्नुपर्ने सुरक्षा निकायका अधिकारीहरु बताउँछन् ।

‘हाम्रो तहबाट एकखालको समन्वय र सुरक्षा नाका कडाइको विषयमा कुराकानी त हुने नै भयो तर यसको समस्या समाधानका लागि राज्यले नै पहल गर्नुपर्ने देखिन्छ’, सशस्त्रका एक अधिकारी भन्छन् ।

शरणार्थीको भेषमा विभिन्न आपराधिक पृष्ठभूमिका व्यक्तिहरु पनि आएको हुनसक्ने भएकाले यसले देशको आन्तरिक सुरक्षामा चुनौती थपिने सशस्त्र प्रहरी बलका पूर्वएआईजी नारायणबाबु थापा बताउँछन् ।

आतंकवादी समूहमा आबद्ध व्यक्ति पनि शरणार्थीको भेषमा बस्न सक्ने हुनाले शरणार्थी समस्या आन्तरिक मात्रै नभएर राष्ट्रिय सुरक्षा र अन्तराष्ट्रिय सम्बन्धसँग समेत जोडिने उनको बुझाइ छ ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?