+
+
Shares
विश्व शरणार्थी दिवस :

शरणार्थी : विश्वको साझा समस्या

शरणार्थी समस्या कुनै जाति, धर्म, समुदाय र क्षेत्र विशेषका समस्या मात्र नभई, सम्पूर्ण मानव सभ्यताको साझा चुनौती हो। यसको समाधान गर्न अन्तर्राष्ट्रिय सहकार्य, मानवीय समर्पण र दीर्घकालीन सोचको खाँचो पर्छ।

पुरुषोत्तम पोखरेल पुरुषोत्तम पोखरेल
२०८२ असार ६ गते १५:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्वका हरेक महाद्वीपमा लाखौं मानिस युद्ध, जलवायु परिवर्तन र द्वन्द्वका कारण शरणार्थी बन्न बाध्य छन्।
  • सन् २०२४ को तथ्यांक अनुसार १० करोडभन्दा बढी शरणार्थी छन् र संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयोगले संरक्षणमा प्रगति गरेको छ।
  • नेपालले बंगलादेश र तिब्बतबाट विस्थापितहरूलाई आश्रय दिए पनि विश्व शरणार्थी दिवसको मुख्य उद्देश्य मानवता र अधिकारको संरक्षण हो।

विश्वका हरेक महाद्वीपमा जनसंख्याको ठूलो हिस्सा रोग र भोकले आक्रान्त छ। लाखौं जीवन खुला आकाशमुनि अन्योलग्रस्त भविष्य लिएर भौंतारिइरहेको छ। आफू जन्मे–हुर्केको थलो छाडेर अन्जान दिशातिर पाइला बढाउनु उनीहरूको नियति बनेको छ।

कारण फरक छन्, कोही द्वन्द्वको मारमा परेर, कोही शासकहरूको आँखाको कसिङ्गर बनेर, कोही युद्धको चपेटामा परेर त कोही जलवायु परिवर्तनको असरले देश छोड्न बाध्य भइरहेका छन्।

जब कुनै परिवार बाध्यकारी अवस्थामा आफ्नो घर–समाज, इष्टमित्र, राष्ट्र, भाषा, संस्कृति र पहिचान आदि त्यागेर शरणार्थी बन्न विवश हुन्छ, त्यो केवल भौगोलिक पलायन मात्र हुँदैन, आत्माको चीरहरण जस्तै अत्यन्तै पीडादायक हुन्छ। यही पीडा सिरिया, सुडान, म्यानमार, भेनेजुएला, प्यालेस्टाइन, अफगानिस्तान, बंगलादेश तथा अफ्रिकी देशका लाखौं द्वन्द्वपीडित परिवार भोगिरहेका छन्।

तिहासिक पक्ष

३१ मार्च १४९२ (मध्ययुग) मा स्पेनका क्याथोलिक सम्राटहरू, आरागोनका फर्डिनान्ड द्वितीय र कास्टाइलकी इसाबेला प्रथमद्वारा निष्कासनको एक आदेश (अलहम्बा डिक्री) जारी भयो। यसले जुलाईको अन्त्यसम्ममा कास्टाइल र आरागोन राज्यहरूबाट अभ्यास गर्ने यहुदीहरूलाई निष्कासन गर्ने आदेश दिएको थियो।

यही आदेश मार्फत क्याथोलिक धर्ममा परिवर्तन नगर्नेहरूलाई देश छोड्न बाध्य पारियो। जसका कारण क्याथोलिक धर्ममा धर्मान्तरण नगर्ने धेरै यहुदी भागेर उत्तर अफ्रिका, ओटोमन साम्राज्य, नेदरल्याण्ड, इटली आदि देशमा शरणार्थी बन्न पुगे।

१७८९ मा फ्रान्सेली क्रान्तिताका तत्कालीन राजा लुई १६औं को निरंकुशता र अत्याचार विरुद्ध हिंसात्मक संघर्ष चलिरहँदा हजारौं विस्थापित हुन पुगे। यस्तै, जर्मनका नाजीहरू आफूलाई सर्वोत्कृष्ट जाति मान्दथे र उनीहरू पहिलो विश्वयुद्धमा जर्मनले हार व्यहोर्नुमा यहुदीहरूलाई दोषी ठहऱ्याउँथे र यहुदीलाई जर्मन समाजको शत्रुको रूपमा हेर्थे।

जब एडोल्फ हिटलर सन् १९३३ मा जर्मनको चान्सलर बनेपछि यहुदी विरुद्ध संघर्ष बढी चर्कियो। सन् १९३९-४५ बीचको समयमा यहुदीहरूको सामूहिक विनाश अभियान अन्तर्गत उनीहरूलाई गोली हान्ने, ग्यास च्याम्बरभित्र राखेर हत्या गर्ने तथा श्रमशिविरमा भोकभोकै मार्ने गरेर नरसंहार मच्चाइयो। यो नरसंहारको भयले लगभग ६० लाख यहुदी र रोमा जातिहरू अन्य मुलुकतिर विस्थापित भए।

रूसको अक्टुबर क्रान्ति (सन् १९१७) को बखतमा त्यहाँको राजशाही व्यवस्थालाई जरैबाट उखेलेर फालेपछि बोल्सेभिक पार्टीद्वारा किसान मजदुर वर्गको अधिनायकत्वमा सरकारको स्थापना गरेका थिए। त्यसबेला पनि हजारौं घरवारविहीन बनेका थिए।

द्वितीय विश्वयुद्धपछिको अवस्था

युरोपमा शरणार्थीको संख्या अकल्पनीय रूपमा बढ्दै गएपछि समस्या समाधान गर्ने उद्देश्यले १४ डिसेम्बर १९५० मा संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयोगको स्थापना भयो। सन् १९५१ मा शरणार्थीहरूको स्थिति र अधिकार सहित अन्तर्राष्ट्रिय कानूनी दस्तावेज आयो।

संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयोगको सन् २०२४ को तथ्यांक अनुसार प्रत्यक्ष रूपले ३ करोड र अप्रत्यक्ष रूपले ७ करोड गरी जम्मा १० करोडभन्दा बढी शरणार्थी छन्। वस्तुतः शरणार्थी त्यो हो जो संकटको घडीमा आफ्नो देश छाडी अर्काको देश भागेर ज्यान बचाउन बाध्य हुन्छ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयोगको निरन्तरको प्रयासबाट शरणार्थीको संरक्षणमा केही प्रगति भए पनि समष्टिगत समाधान अझै टाढा छ। यो समस्या केवल दया–माया या अनुदानको विषय मात्र रहेन। यो त मानवता, न्याय, समानता र विश्व शान्तिको प्रश्न हो।

नेपालको अवस्था

त्यसो त नेपालबाट समूहगत हिसाबले ज्यान जोगाउन विदेशमा शरण लिनुपर्ने बाध्यात्मक परिस्थिति देखिंदैन। तथापि, व्यवस्था परिवर्तनका लागि विभिन्न समयमा भएका सशस्त्र र शान्तिपूर्ण आन्दोलनकै क्रममा पनि धेरै नेपाली तत्कालीन शासनको प्रतिबन्धका कारण देश निकालामा परेका थिए। माओवादीको दशवर्षे संघर्षका बेला पनि कैयौं विस्थापित भएका थिए। तर, उनीहरू शरणार्थीका रूपमा भने थिएनन्।

बरु; भुटान, तिब्बतबाट विस्थापित भएकाहरू नेपालका विभिन्न ठाउँमा शरणार्थी शिविरमा बसिरहेका छन्। पछिल्लो समय विस्थापित भएर विभिन्न मार्ग हुँदै आइपुगेका रोहिंग्या जातिलाई नेपालले शरणार्थीका रूपमा आश्रय दिइरहेको छ। नेपालले ‘वसुधैव कुटुम्बकम्’ अर्थात् पृथ्वी नै आफ्नो परिवार हो भन्ने उच्च भावना प्रकट गर्दै आएको छ।

विश्व शरणार्थी दिवस

यसरी संसारभर नागरिकहरू आफ्नो जन्मथलोबाट विस्थापित हुने अमानवीय अवस्था बढ्दै गएपछि संयुक्त राष्ट्र महासभाले २० जून २००१ मा पहिलो पटक विश्व शरणार्थी दिवस मनायो। संयुक्त राष्ट्रसंघको पहलमा शुक्रबार विश्वभर यो दिवस मनाइँदैछ।

यो दिवस मनाउनुको मुख्य उद्देश्य विश्वभरि छरिएर रहेका शरणार्थीप्रति सम्मान, सहानुभूति, सुरक्षा र अवसर प्रदान गरी विश्व समुदायलाई जागृत गराउनु हो। विश्वभर शरणार्थी जीवन बिताइरहेका नागरिकहरूको अधिकार रक्षाका लागि सचेतना जगाउनु हो।

सन् १९५१ को शरणार्थी सम्मेलन र सन् १९६७ को प्रोटोकल प्रमुख दस्तावेज हुन्। यसमा कुनै एउटा पनि राज्यको परिभाषाभित्र शरणार्थीको अधिकार, उनीहरूको सुरक्षाको लागि राज्यको कानूनी दायित्वहरूलाई रेखांकित गर्दछ।

यसले यस कुरालाई जोड दिन्छन् कि शरणार्थीलाई यस्तो देशमा नपठाऔं जहाँ उसको सुरक्षा र स्वतन्त्रताहरूमा गम्भीर खतरा बनोस्। यस दिवसले समाजलाई मानवता र करुणाको पाठ पढाउन र भविष्यमा शरणार्थीको मानवअधिकारलाई ग्यारन्टी गर्न सहयोगात्मक भूमिका खेल्ने संयुक्त राष्ट्रसंघको विश्वास छ। यसपटक विश्व शरणार्थी दिवस २०२५ को थिम: ‘समुदाय एउटा महाशक्तिको रूपमा छ’ भन्ने रहेको छ।

शरणार्थीका कारण र अवस्था

आफ्नो जन्मभूमि छाडेर अर्काको देशमा शरण लिन बाध्य पार्ने प्रमुख कारणमा युद्ध, हिंसा, राजनीतिक दमन, जातीय र धार्मिक द्वन्द्व एवं जलवायु संकट आदि मुख्य कारण भए जस्तै अवस्था पनि फरक छन्।

विश्वभरि छरिएर रहेका शरणार्थीप्रति सम्मान, सहानुभूति, सुरक्षा र अवसर प्रदान गरी विश्व समुदायलाई जागृत गराउनु हो। विश्वभर शरणार्थी जीवन बिताइरहेका नागरिकहरूको अधिकार रक्षाका लागि सचेतना जगाउनु हो।

सिरियाली शरणार्थी : २०११ यता सुरु भएको सिरियाली शरणार्थी संकट अहिले पनि जारी छ। यो संकटबाट एक करोडभन्दा बढी सिरियालीहरू विस्थापित भइसकेका छन्। सन् २०१५ मा त्यहाँका तीनवर्षे बालक एलान कुर्दीको शव समुद्र किनारमा शरीरका केही भाग बालुवामा पुरिएको घोप्टो अवस्थामा भेटिएपछि संसारलाई स्तब्ध बनाएको थियो।

रोहिंग्या शरणार्थी : सन् १९१७ मा रोहिंग्या मुसलमान माथि भएको सैन्य कारबाही पछि ७ लाख रोहिंग्याहरू म्यानमारबाट भागेर बंगलादेश छिरेका थिए भने अहिले खाद्यान्न संकटको सामना गर्नुपरेको छ।

अफगानिस्तानतालिवान सत्ता संकट: सन् २०२१ मा पुनः तालिवानहरूले सत्ता कब्जामा लिएपछि हजारौं मानिसको भीड ज्यान बचाउने एयरपोर्टभित्र पसेको थियो। किनभने, विमानस्थलमा अमेरिकी विमानले मानिस ओसारिरहेको थियो। त्यही क्रममा विमानको पांग्रामा समाएर उड्न खोजेका व्यक्ति आकाशबाट खसेर मृत्यु भएको दृश्य कहालीलाग्दो थियो। तालिवान शासनको भयले कतिपय अफगानीले छिमेकी देशमा शरण लिए भने कतिपय आत्महत्या गर्न बाध्य भएका थिए।

प्यालेस्टाइनइजरायल युद्ध : प्यालेस्टाइन र इजरायलबीच वर्षौंदेखि संघर्ष चलिरहेको छ। यसलाई अत्यन्तै लामो समयसम्म चलिरहेको संघर्ष मानिन्छ। जहाँ हजारौं हजारको मृत्यु र लाखौं लाख शरणार्थी बनेका छन्। डेढ वर्षअघि इजरायलको दक्षिण क्षेत्रमा प्रवेश गरेर चरमपन्थी समूह हमासले १२ सयभन्दा बढीको हत्या गरेपछि गाजा क्षेत्र भयंकर युद्धभूमिमा परिणत भएको छ। जहाँ दिनहुँ कारुणिक दृश्य हेर्न संसार बाध्य छ।

करिब सम्पूर्ण गाजा खण्डहरमा परिणत भएको छ भने खाना, पानी र औषधिको अभावमा हजारौं बालबालिका, महिला र ज्येष्ठ नागरिकले ज्यान गुमाइसकेका छन्। गर्भवती महिला अस्पताल जान नपाएर मृत्युवरण गरिरहेका छन्।

सुडान आन्तरिक गृहयुद्ध : सरकार र सेनाबीचको सत्ता संघर्षमा लाखौं लाख नागरिक घरबारविहीन भएका थिए। जसमा केही बलात्कारको शिकार बने, जबरजस्ती सेनामा भर्ती, खाद्यान्न संकट, रोग आदिले जिन्दगी चौतर्फी मारमा घेरिएको हुन्थ्यो।

भारतपाकिस्तान विभाजन: हिन्दू–मुस्लिम विभाजनमा १ करोड ५० लाख मानिस विस्थापित भए र १० लाख मानिस मारिएका थिए। यो शायद इतिहासकै सबैभन्दा ठूलो विस्थापन थियो।

भुटानी शरणार्थीको व्यथाः सन् १९८० मा ‘एक राष्ट्र एक संस्कृति’ नीति अन्तर्गत भुटान सरकारले नेपाली भाषी (ल्होत्साम्पा समुदाय) माथि सांस्कृतिक, सामाजिक दमन गरेर उनीहरूको सम्पूर्ण अधिकार खोस्दै सबैलाई ट्रकमा कोचेर भारतको बाटो बीच जंगलमा छाडिदियो।

उक्त जंगलमा अलपत्र र भोकभोकै बिचल्ली भएपछि अन्ततः संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयुक्तको पहलमा उनीहरूलाई नेपालको झापा र मोरङ जिल्लामा शरणार्थीको रूपमा शिविर खडा गरेर राखिएको थियो।

सन् २००७ पछि उनीहरूको पुनर्स्थापना प्रक्रिया अघि बढेपछि अमेरिका, क्यानडा र अष्ट्रेलिया पठाइए। तैपनि उनीहरूले आफ्नो मूलथलो भुटानका घर सम्पत्ति छुटाएको पीडालाई बिर्सन सकेका छैनन्। अहिले भर्खरै पनि बंगलादेशमा रहेका अल्पसंख्यक हिन्दूहरू माथिको आक्रमण र विस्थापनको घटनालाई बिर्सन सकिंदैन।

दक्षिणी सुडानमा जातीय युद्ध, गरिबी र अस्थिरताको कारण युगाण्डा, इथोपिया, केन्या, सुडानमा शरण लिन पुगेका थिए। भेनेजुएलामा आर्थिक र राजनैतिक संकटका कारण करिब ५५ लाख मानिस पेरू, कोलम्बिया, इक्वेडर, ब्राजिल र स्पेनमा शरण लिन पुगेका थिए।

कम्बोडियामा सन् १९७५-१९७९ सम्म पोलपोट नेतृत्वको खमेररुज सरकारले गरेको सत्ता परिवर्तनको नाउँमा गरिएको नरसंहार अनि भोकमरीबाट लाखौं जनता मारिए, सोही अनुपातमा थाइल्याण्ड तथा छिमेकी देश भागेर शरण लिन पुगेका थिए। उक्त समयमा थाइल्याण्ड, सिंगापुर, इण्डोनेशिया र फिलिपिन्सका सम्पूर्ण शरणार्थी शिविरहरू भरिभराउ थिए। यस्तो नरसंहार साँच्चै नै दक्षिण पूर्वी एशियामा भयावह स्थितिलाई जनाउँछ।

यसैगरी, युक्रेन–रसिया युद्धका कारण पनि ६० लाख मानिस पोल्याण्ड, जर्मन, रोमानिया तथा युरोपतिर ज्यान बचाउन शरण लिएका छन्।

घर जल्दा केवल गोठ मात्र होइन; सपना, उक्त माटोको अपनत्व, बालापन र भविष्य सबै खरानी हुन्छन्। शरणार्थी बनेकाहरू तिनै खरानीबाट उठ्ने कोसिस गर्दै पुनर्जीवन खोजिरहेका छन्।

बंगलादेशको जोखिम

प्राकृतिक विपद्को हिसाबले बंगलादेश जोखिमयुक्त मुलुक मानिन्छ। समुद्री सतह वृद्धिको कारण बाढी कटान र डुबानबाट विस्थापित हुनेको संख्या पनि अत्यधिक रहेका छन्। यस्ता तमाम दृष्टान्तहरू छन् जसले शरणार्थी संख्यामा वृद्धि गराए पनि संयुक्त राष्ट्र शरणार्थी उच्च आयोगको महत्वपूर्ण भूमिका निर्वाह गरेको हुनाले शरणार्थीहरूको आधारभूत आवश्यकताको धेरथोर परिपूर्ति हुनसकेको छ।

सन् १९५१ को सन्धि अनुसार संयुक्त राष्ट्रसंघले प्राकृतिक विपद्लाई पनि औपचारिक रूपमा शरणार्थीको मान्यता दिएको छ। सो नीति अनुसार प्राकृतिक विपद् जस्ता विषय पनि कारकको रूपमा रहेका छन्। जसमा प्रशान्त महासागरका स–साना मार्शलद्वीपहरू जलवायु परिवर्तनको कारण डुबानमा परेपछि त्यहाँका बासिन्दाहरू न्यूजिल्याण्ड, अष्ट्रेलिया जस्ता देशमा विस्थापित हुन पुगेका थिए।

बंगलादेशमा रोहिंग्या शरणार्थी शिविर क्षेत्रमा लकडाउन – Online Khabar

सन् २०१० मा हैटीमा ७ रेक्टरको  भूकम्पको कारण राजधानी ध्वस्त भएपछि ३० लाख मानिस देश छोडेका थिए। सन् १९९४-१९९८ को बीचमा उत्तरकोरियामा डरलाग्दो अनिकालको  कारण भोकमरीले गर्दा लाखौं कोरियाली चीन, थाइल्याण्ड, मंगोलियातिर विस्थापित भएका थिए।

समाधानका उपाय

सारमा यो भन्न सकिन्छ कि शरणार्थी संकट कुनै देशको मात्र होइन, सम्पूर्ण मानव सभ्यताको समस्या हो। जबसम्म उनीहरूको अधिकार र पहिचान सुरक्षित हुँदैन तबसम्म दक्षिण पूर्वी एशियामा शान्ति अधुरो रहने देखिन्छ। किनकि शरणार्थीहरू केवल भौतिक संकटमा मात्र छैनन्, उनीहरू अस्तित्वको संकटमा पनि छन्। नागरिकता विनाको पहिचान, घर विनाको जीवन र भविष्य विनाको सपना एकैसाथ गुमाउन पुगेका पीडा र आर्तनादहरू छन्।

यो समस्या कुनै जाति, धर्म, समुदाय र क्षेत्र विशेषका समस्या मात्र नभई, सम्पूर्ण मानव सभ्यताको साझा चुनौती हो। यसको समाधान गर्न अन्तर्राष्ट्रिय सहकार्य, मानवीय समर्पण र दीर्घकालीन सोचको खाँचो पर्छ। युद्धविराम, राजनीतिक सुधार, अनुकूल जलवायु तथा सामाजिक न्यायका मूल्यमान्यतालाई अगाडि सार्न सकेको खण्डमा निश्चित रूपले संकटको न्यूनीकरण गर्न सकिनेछ।

घर जल्दा केवल गोठ मात्र होइन; सपना, उक्त माटोको अपनत्व, बालापन र भविष्य सबै खरानी हुन्छन्। शरणार्थी बनेकाहरू तिनै खरानीबाट उठ्ने कोसिस गर्दै पुनर्जीवन खोजिरहेका छन्। यस्तो संकटको घडीमा शरणार्थीहरूलाई दया, कृपा होइन; मानवीय सम्मान चाहिएको छ। उनीहरूका ती छाप्रो र टेन्टहरूमा पारिलो घाम झुल्कियोस् र न्यानो स्नेह मिलोस् ! शुभकामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?