 
																			२९ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी महासंघले बाढीपहिरो पीडितका लागि भन्दै पौने आठ लाख रुपैयाँभन्दा बढीको चेक हस्तान्तरण गरेको छ ।
महासंघले बिहीबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ७ लाख ७७ हजार ७७७ रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
महासंघका अध्यक्ष मणिरत्न श्रेष्ठ, महासचिव प्रेम खनाल, नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टलगायत महासंघ र संगठनका पदाधिकारीहरुले चेक हस्तान्तरण गरे । यो सहयोग संकलनमा नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनको महत्वपूर्ण भूमिका रहेको महासंघले जानकारी गराएको थियो ।
नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टका अनुसार सरकारले अधिकृत स्तरका कर्मचारीलाई तीन दिन बराबरको र सहायकस्तरका कर्मचारीहरुलाई दुई दिन बराबरको तलब बाढी पीडितलाई सहयोग गर्न भनेको थियो । सोही अनुसार एक हजार रुपैयाँदेखि १५ सय रुपैयाँसम्मको दरले रकम संकलन गरिएको थियो । संकलित रकममा धेरै योगदान सहायकस्तरका कर्मचारीको रहेको भट्टले बताए ।
चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रसेवासँगै जनताले भोग्नुपरेको विपत्तिमा कर्मचारीहरुले सहयोग संकलन गरेको भन्दै धन्यवाद व्यक्त गरे ।
प्राकृतिक विपत्तिले सिर्जना गरेको संकट समाधानका लागि सरकारमा हुँदा पनि, नहुँदा पनि आफ्नो पार्टी निरन्तर अग्रमोर्चामा रहेर काम गरेको उल्लेख गर्दै उनले पार्टीनिकट शुभेच्छुक संगठनहरुले पनि यसमा योगदान गर्दा पार्टीलाई थप ऊर्जा प्राप्त हुने बताए ।
यसपटकको बाढीपहिरोको बेलामा आफ्नो पार्टीले सबैभन्दा पहिले पहलकदमी लिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले प्रभावितस्थलमा निरन्तर खटेर उद्धार, राहत र पुनर्स्थापनामा लागेका सबैलाई धन्यवाद पनि दिए ।
राहत र पुनर्स्थापनाका कामले अझै गति नलिएको उल्लेख गर्दै उनले दुई वर्षअघिका भूकम्पपीडितदेखि अहिलेका बाढीपहिरो पीडित सबैलाई पुरानै अवस्थामा फर्काउन सबै लाग्नुपर्ने र त्यसमा कर्मचारीहरुले आफ्नो कार्यक्षेत्रबाट बढी योगदान गर्नुपर्ने बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4