+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

ललितपुरमा ‘स्वाइन फिभर’, ७० बङ्‍गुर मरे

ललितपुरको नख्खु करिडोर क्षेत्रका किसानले पालेको बङ्‍गुर/सुँगुरमा अफ्रिकन स्वाइन फिभर देखा परेको हो ।

अमृत चिमरिया अमृत चिमरिया
२०८१ कात्तिक ३० गते १७:५३

३० कात्तिक, काठमाडौं । ललितपुर महानगरपालिकामा किसानले पालेका बङ्‍गुरमा ‘स्वाइन फिभर’ देखिएको छ । महानगरपालिका अन्तर्गत २२ नम्बर वडास्थित चुनिखेल, नख्खु करिडोर क्षेत्रका किसानले पालेको बङ्‍गुर/सुँगुरमा अफ्रिकन स्वाइन फिभर देखा परेको हो ।

‘२५ कात्तिकमा केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरको पीसीआर रिर्पोट अनुसार सो क्षेत्रका किसानले पालेका बङ्‍गुर र सुँगुरमा स्वाइन फिभर’ पुष्टि भएको हो,’ महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

ललितपुर महानगरपालिका क्षेत्रका विभिन्न स्थानमा किसानले पालेका बङ्‍गुर र सुँगुरमा रोग फैलन नदिन उच्च सतर्कता अपनाउन समेत महानगरले अनुरोध गरेको छ ।

महानगर पशु सेवा शाखाका अनुसार नख्खु करिडोरको एक कृषि फर्ममा ६०–७० वटा बङ्‍गुर मरेपछि परीक्षणका लागि नमूना केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा पठाएको थियो ।

परीक्षणका क्रममा मरेका बङ्‍गुरमा स्वाइन फिभर पुष्टि भएको शाखा प्रमुख राजेन्द्र विष्टले जानकारी दिए ।

‘धेरैवटा पशु मरेपछि परीक्षणका लागि पठाएको थियौं, आज रिर्पोट आउँदा स्वाइन फिभर देखिएको हो,’ विष्टले अनलाइनखबरसँग भने ।

मानिसलाई सर्दैन, पशुमा छिटो असर

पशु सेवा विभागका अनुसार अफ्रिकन स्वाइन फिभर रोग सुँगुर, बङ्‍गुर तथा बँदेल प्रजातिमा विषाणुका कारण लाग्ने उच्च मृत्युदर भएको छिटो फैलिने सरुवा रोग हो । यो रोग पशुबाट मानिसमा सर्दैन ।

यो रोगको सङ्क्रमण हुँदा उच्च ज्वरो आउने (१०४ देखि १०७ डिग्री फरेनहाइट), कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छेर्ने, छट्पटाउने, लडखडाउने, तुहिनेजस्ता लक्षण सहित सुँगुर, बङ्‍गुर तथा बँदेल मर्ने गर्छ ।

यो रोग विशेष गरी रोगी बङ्‍गुर वा त्यसका पाठापाठी वा मासु वा रोगी पशुको सम्पर्कमा आएका सामग्रीको लसपस वा ओसारपसारबाट फैलिन सक्छ ।

यो रोगको हालसम्म कुनै प्रभावकारी उपचार उपलब्ध छैन । विश्व पशु स्वास्थ्य संगठनले यो रोग नियन्त्रण गर्न सङ्क्रमित क्षेत्रबाट ओसारपसार नियन्त्रण सहित जैविक सुरक्षामा विशेष ध्यान पुर्‍याउन सिफारिस गरेको छ ।

सुँगुर र बङ्‍गुरलाई रोगबाट यसरी जोगाउने ? 

महानगरका पशु विभागका अनुसार सुँगुर, बङ्‍गुर फार्ममा जैविक सुरक्षाका विधि अवलम्बन गर्न सकिन्छ । बङ्‍गुर पालिएको खोर र फार्म परिसरमा नियमित सरसफाइ गरी चुना, ब्लिचिङ पाउडर, फर्मालिन लगायत उपाय प्रयोग गरी निःसंक्रमण गर्न पनि भनेको छ ।

विभागले रोगको शंका लागेका पशुलाई स्थानबाट छुट्ट्याएर अलग राख्ने, मरेका पशुलाई राम्रोसँग खाडलमा गाड्ने तथा जलाउनुपर्ने भनेको छ ।

घरपालुवा सुँगुर र बङ्‍गुरलाई जंगली बँदेलको सम्पर्कमा आउन नदिने भन्दै विभागले रोग देखापरेको क्षेत्रबाट सुँगुर प्रजाति पाठापाठी संक्रमित मासु र दाना ओसारपसार नगर्न उपाय दिएको छ ।

यस्तै अनिवार्य स्वास्थ्य प्रमाणपत्र लिएरमात्र स्वस्थ सुँगुर, बङ्‍गुर वा मासु ओसारपसार गर्नुपर्ने भन्दै होटल, रेस्टुरेन्टबाट फालिएका खानेकुरा नखुवाउन भनेको छ ।

रोग देखा परेका क्षेत्रबाट सुँगुर प्रजाति/पाठापाठी, सङ्क्रमित मासु र दाना ओसारपसार नगर्ने/नगराउने भन्दै सूचित गरेको छ । सूचनामा तयारी दानाबाहेक अन्य आहारा खुवाउनुपरे राम्ररी पकाएर मात्र खुवाउन भनेको छ ।

लेखक
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?