३ मंसिर, काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एसिया-प्रशान्त क्षेत्रीय सम्मेलन मार्चमा गर्ने भएको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता फणिन्द्र पन्तका अनुसार १०२औं आईसीसी बैठकले कम्बोडियामा उक्त सम्मेलन आयोजना गर्ने निर्णय भएको हो ।
यसैगरी मार्चमै युरोप क्षेत्रीय सम्मेलन माल्टामा आयोजना गर्ने निर्णय भएको उनले बताए । उनका अनुसार अन्य क्षेत्रीय सम्मेलनको मिति र स्थान छिट्टै निर्धारण गरिनेछ ।
संघले नेपालमा गर्दै आएका परोपकारी कार्यलाई थप प्रभावकारी बनाउन ‘मेची कप फुटबल’ प्रायोजन गर्ने र बर्दियाको बर्थिङ सेन्टरमा सुविधासम्पन्न कोठा निर्माण गर्न आवश्यक सहयोग गर्ने निर्णय गरेको छ।
त्यसैगरी, नेपाल सरकारको स्वास्थ्य सम्मेलनमा सक्रिय सहभागिता जनाउने, विश्व महिला सम्मेलन सहआयोजना गर्ने, थाइल्यान्डमा युथ पीएनओ सम्मेलन गर्ने निर्णय भएको संघले जनाएको छ ।
संघका सबै संगठनात्मक गतिविधिलाई निर्वाचित महासचिवमार्फत जानकारी गराउने र संघका प्रवक्तामार्फत सकारात्मक सूचनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय भएको संघले जनाएको छ।
बैठकले संघको प्रजातान्त्रिक प्रणाली, विधि, र विधानमा आधारित प्रक्रियालाई आत्मसात् गर्दै एकताको भावनामा सबै सदस्यलाई समर्थन र सहकार्यका लागि आह्वान गर्ने संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा शुक्रबार बसेको बैठकको सञ्चालन महासचिव गौरीराज जोशीले गरेका थिए ।
सर्वोच्च अदालतले सन् २०२४ अगस्टमा गरेको फैसलाले एनआरएनएको ११ औँ महाधिवेशनलाई स्वायत्त, सार्वभौम र २/२ वर्षमा नियमित रूपमा सञ्चालन हुने वैधानिक अधिवेशनका रूपमा मान्यता दिएको थियो । सर्वोच्चको सो फैसला प्रति वर्तमान कार्यसमितिले पूर्ण सम्मान जनाउँदै संघको एकता र प्रगतिका लागि दृढ प्रतिबद्धता समेत जाहेर गरेको छ ।
बैठकले भर्खरै सम्पन्न एनआरएन डे २०२४, ग्लोबल कन्क्लेव तथा वार्षिक साधारण सभा २०२४ भव्य रूपमा सम्पन्न भएकोमा नेपाल सरकार लगायत सबै सरोकारवालालाई धन्यवाद समेत दिएको छ ।
प्रतिक्रिया 4