५ मंसिर, काठमाडौं। नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगको ढाँचाअनुसार दलको विधान मिलाउन लागेको जनाएको छ ।
माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार पार्टीको विधान महाधिवेशनले पारित गरेको विधानलाई निर्वाचन आयोगको ढाँचा अनुसार मिलाउन लागिएको छ ।
‘विधान अधिवेशनबाट पारित विधान निर्वाचन आयोगमा बुझाएका थियौं । तर, निर्वाचन आयोगले आफूले बनाएको ढाँचामा ढालेर पठाउन भनेको छ । त्यसअनुसार मिलाएर पठाउन खोजिएको हो’ महासचिव गुरुङले अनलाइनखबरसँग भने ।
२०८० साल फागुन ४ गते काठमाडौंमा माओवादी केन्द्रको विधान अधिवेशन सम्पन्न भएको थियो । उक्त अधिवेशनले पारित गरेको विधानको मूल विषय केही पनि चलाउन नमिल्ने उम्मेख गर्दै महासचिव गुरुङले भाषागत त्रुटिहरु मिलाएर निर्वाचन आयोग पठाइने बताए ।
‘निर्वाचन आयोगको ढाँचा अनुसार त्यसको संरचनामा ढाल्दा केही भाषा परिमार्जन हुन सक्ने भयो । यसकारण भाषा, शैली र प्रस्तुतीमा केही परिमार्जन हुन सक्ने भयो । तर, मूल विषय केही पनि चलाउन मिल्दैन’ गुरुङले भने ।
माओवादी केन्द्रले विधानलाई मिलाउन भनेर वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा चार सदस्यीय कार्यदल नै गठन गरेको छ । मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास खुमलटारमा बसेको पदाधिकारी बैठकले कार्यदल गठन गरेको महासचिव गुरुङले जानकारी दिए । कार्यदलमा महासचिव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा सदस्य रहेका छन् ।
महासचिव गुरुङका अनुसार कार्यदल स्तरका काम शुरु गरिएको छ । छोटो समय दिइएकाले काम शुरु गरिएको र छिट्टै काम सकाएर निर्वाचन आयोगमा बुझाइने उनले बताए ।
प्रतिक्रिया 4