+
+

मध्यपश्चिम विश्वविद्यालयमा नेपाली र अंग्रेजी दुवै भाषामा प्रश्‍नपत्र छाप्न माग

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ५ गते १९:१९

५ मंसिर, सुर्खेत। मध्यपश्चिम विश्वविद्यालय (एमयू)का सम्पूर्ण प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा छाप्न विद्यार्थीहरूले माग गरेका छन् ।

बुधबार विद्यार्थीहरूले परीक्षा व्यवस्थापन कार्यालयलाई एक ज्ञापन पत्र बुझाउँदै विश्वविद्यालयबाट लिइने वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको प्रश्नपत्रहरु तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रकाशन गर्नुपर्ने माग गरेका हुन् ।

विश्वविद्यालयको शिक्षाशास्त्र सङ्काय, कानुन सङ्काय, व्यवस्थापन र मानविकी संकायका विद्यार्थीहरूले परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख सहप्राध्यापक डा. दीपक अधिकारीलाई भेटेर ज्ञापन पत्र बुझाएको शिक्षा संकायको स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी दीपक उपाध्यायले जानकारी दिए ।

उनले भाषाका कारण विद्यार्थीहरूको ज्ञान मर्नु हुँदैन भन्ने मान्यतालाई आत्मसाथ गर्दै अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्न पत्र प्रकाशन गरिनु पर्ने बताए । ‘अहिले विश्वविद्यालयका सबै तह र सबै संकायका प्रश्न पत्र अङ्ग्रेजी भाषमा मात्रै आउने गरेका छन्,’ उपाध्यायले अनलाइनखबरसंग भने, ‘सबै विषयको पढाई नेपालीमै हुन्छ । उत्तर पनि नेपालीमै लेख्न्छि । तर प्रश्न भने अंग्रेजीमा मात्रै किन ?’

मुलुकको सबैभन्दा ठुलो त्रिभुवन विश्वविद्यालयले समेत अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्न पत्र प्रकाशन गर्ने निर्णय गरेको भन्दै विद्यार्थीहरूले एमयूलाई पनि सो व्यवस्था लागु गर्न आग्रह गरेका हुन् । विद्यार्थीहरूको ज्ञापन पत्र बुझ्दै परीक्षा व्यवस्थापन प्रमुख अधिकारीले पनि विद्यार्थीको माग जायज भएको र यसबारे कार्यालयको तर्फबाट सकारात्मक भूमिका खेल्ने बताए ।

विद्यार्थीहरूले विश्वविद्यालयमा परीक्षा सम्पन्न भएको ४५ दिनभित्र नतिजा प्रकाशन गर्न समेत परीक्षा व्यवस्थापन कार्यालयलाई माग गरेका छन् । समयमा नतिजा प्रकाशन नहुनु, परीक्षा पूर्व नै प्रश्न पत्रहरू बाहिरिनु, प्रश्न पत्रहरूमा पटक–पटक त्रुटिहरू भेटिनु, विद्यार्थीहरूका उत्तर पुस्तिका हराउनु जस्ता गम्भीर समस्या देखिएकाले प्रशासनलाई सचेत गराएको कानुन संकायका विद्यार्थी युवराज खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?