
१० मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिहरूले अध्ययन बिदामा भइरहेको दुरुपयोग छानबिन गर्न उच्चस्तरीय समिति बनाउन प्रस्ताव गरेका छन् । २०४५ सालदेखि त्रिविका प्राध्यापक अध्ययन बिदामा विदेश जाने र उतै लुक्ने गरेको पाइएपछि पूर्वउपकुलपतिहरूले छानबिनका लागि समिति बनाउन प्रस्ताव गरेका हुन् ।
‘शिक्षकहरूको पुरानो फाइल खोल्नुपर्छ । एउटा उच्चस्तरीय समिति बनाएर छनबिन गर्नुपर्छ,’ पूर्वउपकुलपति केदारभक्त माथेमाले भने, ‘त्रिविलाई नोक्सानी गर्ने कसैलाई छोड्नु हुँदैन । फाइल खोल्न नेतृत्व डराउनु हुँदैन ।’
उच्चस्तरीय समिति बनाउने विषयमा पूर्वउपकुलपति कमलकृष्ण जोशी पनि सहमत छन् । ‘धेरै पहिलेदेखिको छानबिन गर्नुपर्ने हुन्छ । छानबिन समिति बनाएर काम गर्नुपर्छ,’ उनले भने ।
कमिटी बनाउन्दा त्रिविले नै बनाउनुपर्ने पूर्वउपकुलपतिहरूको सुझाव छ । त्रिविको कार्यकारी परिषद्ले छानबिन समिति बनाउनुपर्ने बताउँछन् पूर्वउपकुलपति माथेमा ।
‘शिक्षा मन्त्रालयले छानबिन समिति बनाउने होइन । त्रिवि नेतृत्वले पूर्व डिन, निर्देशक वा प्राध्यापकको संयोजकत्त्वमा एउटा कमिटी बनाए हुन्छ । निष्पक्ष छानबिन गरेर त्रिविबाट सेवा सुविधा लिएर उतै लुक्नेलाई कारबाही गर्नुपर्छ,’ माथेमाले भने ।
शिक्षामन्त्री विद्या भट्टराई पनि यो विषय त्रिविले नै हेर्ने बताउँछिन् । ‘प्राध्यापकलाई बिदा दिने र स्वीकृत गर्ने विश्वविद्यालयले नै हो । यदि दुरुपयोग भएको रहेछ भने छानबिन गर्न निर्देशन दिन्छु,’ उनले भनिन् ।
पूर्वउपकुलपति धर्मकान्त बास्कोटा पनि अध्ययन बिदालाई एकरुपता ल्याउन छानबिन आयोग बनाएर काम गर्न सकिने बताउँछन् ।
‘कति शिक्षक नियमसंगत गएका छन् । कति आफू अनुकुल नियम बनाएर गएका छन् । नियमलाई नै एकरुपता बनाउनुपर्ने छ । यसको लागि छानबिन आयोगले काम गर्न सक्छ,’ उनले भने, ‘अध्ययन बिदामा धेरै विसंगति छ यसलाई हटाउनुपर्छ ।’
छानबिन हुने थाहा पाएपछि एउटा गिरोह नै प्रभावित पार्न लाग्ने संकेत पूर्वउपकुलपति बास्कोटाले गरे । ‘छानबिन हुने भयो भनेपछि प्रभावित पार्ने गिरोह सक्रिय हुनसक्छ । यसतर्फ सचेत हुनुपर्छ । जति प्रभावित गर्न खोजे पनि त्रिविको सेवा सुविधा लिएर नफर्किनेलाई छुट दिनु हुँदैन ।’
अध्ययन बिदा लिएर जुन ठाउँमा गएको हो त्यो ठाउँमा त्रिविले पत्र पठाउने हो भने पनि फिर्ता ल्याउन सकिने पूर्वकुलपति जोशीले बताए । ‘अध्ययनमा जाने कुरा रोक्न मिल्दैन । तर बिदाको समय सकिएपछि फर्किनुपर्छ । फर्किएन भने जुन ठाउँमा काम गरेको हो त्यो ठाउँमा फर्काइदिनु भनेर पत्र लेख्न सकिन्छ,’ उनले भने ।
आफ्नो कार्यकालमा नफर्कने शिक्षकको पेन्सन रोकेपछि कतिपय फिर्ता गर्न आएको समेत उनको भनाइ छ । ‘मेरो समयमा कारबाही गरेको थिएँ । पेन्सन रोकेपछि पैसा फिर्ता गर्न आएका थिए,’ उनले भने, ‘कबुलियतनामा गरेर गएको हुन्छ । बिदा सकिएपछि उतै सेटल हुन्छन् । उता राम्रो अवसर पाएको हुन्छ तर त्रिविसँग गरेको कबुलियत चाहीँ बिर्सन भएन ।’
अध्ययन बिदा सकिएपछि नेपाल फर्किएर विभिन्न संघ संस्थामा काम गर्ने शिक्षकलाई पनि आफूले कारबाही गरेको माथेमाले बताए । ‘पत्रिकामा नाम सार्वजनिक गरेर त्रिविबाट निकालेको छु । कति मेरै साथि पनि थिए । त्रिविलाई दहन गर्न मिल्दैन,’ उनले भने ।
अध्ययन बिदाको लागि त्रिविका शिक्षकले ५ वर्षको बिदा पाउँछन् । विश्वविद्यालयको शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम, २०५० को नियम ३० मा शिक्षक तथा कर्मचारीलाई बढीमा ५ वर्षसम्म अध्ययन बिदा दिन सकिने, ३ वर्षसम्म अध्ययन बिदा पूरा गरेकाले कम्तीमा ३ वर्ष र सोभन्दा बढी बिदा उपभोग गरेकाले कम्तीमा ५ वर्ष सेवा गर्नुपर्ने व्यवस्था छ ।
यदि नफर्किएमा आफूले बिदामा बसेको अवधिको सबै तलब भत्ता फिर्ता गर्नुपर्ने हुन्छ । थप १२ प्रतिशत ब्याज समेत तिर्नुपर्ने हुन्छ । तर धेरैजसो शिक्षक अध्ययन बिदामा बसेर उतै बस्ने गरेको पाइएको छ ।
त्रिविको १० वर्षको तथ्यांक हेर्दा ८९३ जना शिक्षकले अध्ययन बिदा लिएको देखिन्छ । तर यसमध्ये कति फर्किए, कतिले अध्ययन पूरा गरे, कतिले नगरी फर्किए र कति फरार छन् भन्ने अभिलेख त्रिविसँग छैन । १० वर्षमा बिदा बस्ने शिक्षकको तलब मात्रै हिसाब गर्दा पनि न्यूनतम १ अर्ब ७६ करोड भन्दा धेरै हुन आउँछ ।
रेक्टर, रजिष्ट्रार, डीन कार्यालय, केन्द्रीय विभाग र केही क्याम्पस पुगेर अध्ययन बिदामा गएर नफर्किएका शिक्षकको विवरण संकलन गर्दा हामीले नै ५४ जनाको नाम फेला पारेका थियौं । ५४ शिक्षकबाट मात्रै पनि ८ करोड बढी फिर्ता गर्नुपर्ने देखिन्छ । नफर्किनेको संख्या यो भन्दा धेरै रहेको त्रिविकै पदाधिकारी बताउँछन् ।
स्थायी शिक्षक नफर्किएपछि करार र आंशिकमा शिक्षक राख्नुपर्दा दोहोरो खर्च हुने बताउँछन् उपकुलति केशरजंग बराल । ‘त्रिविको दोब्बर खर्च हुन्छ । पढ्न जानेलाई तलब दिनुपर्छ । त्यो ठाउँमा अर्को शिक्षक राख्नुपर्छ । उसलाई पनि तलब खुवाउनै पर्यो । ठूलो क्षति व्यहोर्नुपरेको छ,’ उनले भने ।
पूर्वउपकुलपति बास्कोटा पनि बरालको जस्तै तर्क छ । ‘अध्ययन बिदा भनेर विदेश गएको छ । पढ्छन् कि काम गर्छन् थाहा हुँदैन । यता जागिर होल्ड गरेको हुन्छ । आंशिक र करार शिक्षक त्रिविले राख्नु परेको छ,’ उनले भने ।
नफर्किने शिक्षकको तथ्यांक संकलन गरेर कारबाही प्रक्रिया अगाडि बढाउने बास्कोटाले बताए । ‘तथ्यांक खोजेर रजिष्ट्रार कार्यालयले शिक्षकको स्थितिबारे अध्ययन गरिरहेको छ । नफर्किनेलाई खोजेर थप प्रक्रिया अगाडि बढाउँछौं,’ उनले भने ।
महालेखापरीक्षकको कार्यालयले समेत अध्ययन बिदामा त्रुटि रहेको औंल्याएको छ । महालेखाको ६१औँ प्रतिवेदनमा बिदा लिएर गएका शिक्षक फर्किए नफर्किएको विवरण अद्यावधिक नभएको उल्लेख छ ।
‘अध्ययन बिदामा रहेकामध्ये बिदा सकिएपछि सेवामा फर्केका र नफर्केकाको विवरण अद्यावधिक गरेको समेत देखिएन । अध्ययन बिदामा बसेका शिक्षक तथा कर्मचारीहरूको अभिलेख अद्यावधिक गरी बिदा सकिएपछि विश्वविद्यालयको काममा फर्के नफर्केको अभिलेख दुरुस्त गरिनुपर्दछ,’ प्रतिवेदनमा भनिएको छ ।
प्रतिक्रिया 4