 
																			११ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले ‘तीन वर्षभन्दा बढी अवधि अलग बसेको आधारमा मात्रै पतिले पत्नीसँग सम्बन्ध विच्छेद गर्न नसक्ने’ व्याख्या गरेको छ । दाम्पत्य जीवनमा भएको बेमेलका कारण जिल्ला अदालतबाट सुरु भएको एक सम्बन्ध विच्छेदसम्बन्धी एक मुद्दाको व्याख्याका क्रममा सर्वोच्च अदालतले यसको कानूनी धरालतवारे नयाँ व्याख्या गरेको हो ।
तीन वर्ष अलग बसेको आधारमा मात्रै पतिले पत्नीसँग सम्बन्ध विच्छेद गर्न पाउने नजीर बनाउने हो भने दाम्पत्य जीवनमा बेमेल हुने जो कोही पतिले पत्नीलाई घरबाट निकाल्ने वातावरण बन्ने र त्यसबाट सम्बन्ध विच्छेदको आधार सिर्जना हुनसक्ने भन्दै सर्वोच्च अदालतले यसले सामाजिक सन्तुलन नै खल्बलिनसक्ने औल्याएको हो ।
पारिवारिक वा दाम्पत्य जीवनमा बेमेल हुनासाथ पति वा पतिका परिवारका सदस्यले पत्नीलाई घरमा बस्न नदिने अवस्था हुनसक्छ । अर्कोतर्फ कलह वा अन्य कुनै कारण पत्नी घरमा बस्न नसक्ने वातावरण बनेमा बाध्य भै माइती वा अन्यत्र कतै बस्नुपर्ने अवस्था सृजना हुनसक्ने सामाजिक परिवेशलाई औल्याउँदै सर्वोच्च अदालतले नयाँ न्यायिक मत प्रतिपादन गरेको हो ।
डा.नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले गरेको फैसलाको पूर्णपाठमा भनिएको छ, ‘विवाह र परिवार सम्बन्धी सामाजिक पक्षलाई अनदेखा गरी तीन वर्षभन्दा बढी लोग्नेसँग अलग बसेको अवस्थालाई मात्र सम्बन्ध विच्छेदको आधारका रूपमा यान्त्रिक तवरले ग्रहण गरियो भने कानूनी व्यवस्थाको न्यायोचित अर्थ गरेको मानिंदैन ।’
अलग्गै बसेर सुरु भएको विवाद
२०६६ असारमा मागी विवाह गरेका आकाश र आस्थाका (दुवैको परिवर्तित नाम) दुई÷तीन महिनामै दाम्पत्य सम्बन्धमा बेमेल सुरु भयो । आस्था माइतीमा गएर बस्न थालिन् । आकाशले गरेको दाबी अनुसार, करिव १५ महिनापछि २०६७ साल दशैंमा पत्नी आस्थाले माइती पक्षलाई लिएर घरमा आइन र तोडफोड गराइन् ।
त्यसक्रममा आफ्नो बाबु र बहिनीमाथि कुटपिट भएको भन्दै आकाशले प्रहरीमा उजुरी गरे । माइतीमा बसेकी पत्नीले तीन वर्षदेखि निरन्तर आफूमाथि धम्की दिएको र हिंसा पनि जारी राखेको भन्दै उनले २०६९ सालमा काठमाडौं महानगरपालिकामा सम्बन्ध विच्छेदका लागि निवेदन दिए ।
जवाफमा आस्थाले आफ्नो पति र उनका परिवारका सदस्यहरूले घरमा बस्नुपर्दैन भनेर निकालेको र गलत व्यवहार गरेको दाबी गरिन । बहिनीलाई लिएर आफू लोग्नेको घरमा जाँदा सासुले दुवैलाई कुटपिट गरेको जिकिर गर्दै उनले त्यसपछि आफ्नो माईतीका दाजुभाई घरमा आउँदा भएको झगडामा सामान्य हात हालाहाल भएको बकपत्र गरेकी छिन् ।
काठमाडौं महागरपालिकाले सो विवादमा मिलापत्र गराउन सकेन । दुवैलाई काठमाडौं जिल्ला अदालत पठाइदियो । जिल्ला अदालतले सम्बन्ध विच्छेद हुन नसक्ने फैसला ग¥यो ।
६ वर्षदेखि हामी साथमा नभएको र आफूहरूविच दाम्पत्य जीवन सफल हुन नसक्ने भन्दै आकाश आस्था विरुद्ध पुनरावेदन अदालत गए । पुनरावेदन अदालत पाटनले ७२ सालमा सम्बन्ध विच्छेदको माग अस्विकार गरिदियो । त्यसपछि आकाश सर्वोच्च अदालतसम्म पुगे ।
आफूहरू दुवै पक्षबीच सम्बन्ध सुमधुर नभएको, पत्नी छ वर्षदेखि माइतीमा बस्दै आएकाले सम्बन्ध विच्छेद हुनुपर्ने उनको जिकिर थियो । उनले आफूमाथि कुटपिट भएको र बाबु अंगभंग समेत भएको दाबी गरे ।
सर्वोच्चले के भन्यो ?
मुलुकी ऐनको लोग्ने स्वास्नीको महलको १ नम्बरमा दुईवटा आधार भएमा मात्रै पतिले पत्नीसँग सम्बन्ध विच्छेदको दाबी गर्न पाउने कानूनी व्यवस्था थियो । पहिलो, स्वास्नीले लोग्नेलाई उसको मञ्जुरीविना लगातार तीन वर्ष वा बढी छाडी अलग बसेमा सम्बन्छविच्छेदको आधार तयार हुन्छ । अर्कोतर्फ स्वास्नीले लोग्नेको ज्यान जाने, अंगभंग हुने खालको काम वा जालप्रपञ्च गरेको पुष्टि भएमा पनि पतिको अग्रसरतामा सम्बन्ध विच्छेद हुनसक्छ । अहिलेको देवानी संहिता ऐन, २०७४ मा पनि यस्तै व्यवस्था छ ।
तर सर्वोच्च अदालतले पत्नी पतिबाट अलग भएको तीन वर्ष पुगेका भरमा मात्रै सम्बन्ध विच्छेदको आधार तयार हुन नसक्ने व्याख्या गरेको हो । सम्बन्ध विच्छेद हुनका लागि पत्नीले पतिको मञ्जुरीविना स्वेच्छाले घर छाडेको हुनुपर्ने कानूनी व्यवस्था रहेको औल्याउँदै सर्वोच्चले पतिकै कारण वासस्थान छाडेको अवस्थामा त्यस्तो बन्देजात्मक व्यवस्था आकर्षित नहुने व्याख्या गरेको हो ।
मुलुकी देवानी संहिता, २०७४ को दफा ८७ ले पतिको घरलाई पत्नीको बासस्थान मानी स्विकार गरेको देखिएको भन्दै उसले पतिकै ज्यादतीका कारण घर छाडेकाहरूलाई सम्बन्ध विच्छेदका लागि बाध्य बनाउन नसकिने ब्याख्या गरेको हो ।
सर्वोच्च अदालतले व्याख्यामा भनेको छ, ‘स्वास्नीले स्वेच्छाले घर छाडेको हो वा के–कुन अवस्था वा परिस्थितिका कारण घर छाडि बाहिर बस्नुपरेको रहेछ भनी विवादका पक्षको पारिवारिक परिस्थितिको सुक्ष्म अवलोकन गरी अदालतले विचार गर्नुपर्ने हुन्छ । यदि स्वास्नीले लोग्नेको घर बस्न नसक्ने अवस्था भै बाध्यतावस घर छाडेको स्थिति हो भने स्वास्नीले स्वेच्छाले घर छाडेको भनी मान्न मिल्ने हुँदैन ।’
नेपालको आर्थिक, सांस्कृतिक एवं सामाजिक परिवेश, पारिवारिक संरचना अघि परिवारभित्रको शक्ति सन्तुलन लगायतका पक्षलाई हेरेर यस्ता विवाद टुंगाउनुपर्ने भन्दै सर्वोच्च अदालतले उक्त कानूनमा रहेको ‘स्वेच्छाले’ भन्ने शब्दावलीको व्याख्या गरेको हो ।
पतिले चाहेमा जुनसुकै बेला पत्नीलाई घरमा बस्न नसक्ने परिस्थिती सिर्जना गर्नसक्ने र त्यही आधारमा तीन वर्षभन्दा बढी आफूलाई छाडेको भनी पतिले दाबी गर्नसक्ने जोखिम औल्याउँदै सर्वोच्च अदालतले भनेको छ, ‘आफूले गरेको गल्तीको लाभ गल्ती गर्नेले लिन नपाउने देवानी कानूनको मान्य सिद्धान्त हो ।’
आपसी असमझदारी वा बेमेलले पतिपत्नीबीच पारिवारिक तनाव र समस्या उत्पन्न हुनसक्ने भन्दै सर्वोच्च अदालतले त्यत्तिको आधारमा ज्यानै लिनसक्ने प्रयासका रूपमा बुझन नहुने औंल्याएको हो । २३ पुस, २०८० मा भएको फैसलाको पूर्णपाठ सर्वोच्च अदालतले हालै सार्वजनिक गरेको हो ।
सर्वोच्च अदालतले फैसलामा भनेको छ, ‘केवल लोग्ने स्वास्नीबीच सुमधुर सम्बन्ध कायम नरहेको वा निजहरूबीच पुनः दाम्पत्य जीवन सुमधुर हुन नसक्ने स्थितिलाई मात्र प्रचलित कानूनले सम्बन्ध विच्छेद हुने आधारका रूपमा स्वीकार गरेको देखिन आएन ।’
बरिष्ठ अधिवक्ता मीरा ढुंगाना सर्वोच्च अदालतको यो फैसलाले समाजमा हुने विभेदलाई निरुत्साहित गर्न मद्दत पुग्ने बताउँछिन् । उनका अनुसार, सम्बन्ध विच्छेदको उक्त कानूनी व्यवस्थाको व्याख्या नहुँदा घरभित्र हिंसा गर्नेले नै लाभ पाउने र अर्को विवाहको बाटो सहज हुने परिस्थिति बनेको थियो ।
‘पतिपत्नी बीच मतभेद भएपछि महिलाहरू घरेलुहिंसामा पर्ने, घरबाट निकालिने अनि त्यही आधारमा सम्बन्ध विच्छेदको मुद्दा हालेर पतिले अर्को विवाहको प्रयास गर्ने प्रवृति व्याप्त थियो’ ढुंगाना भन्छिन्, ‘यो व्याख्याले पतिको घरबाट बाहिर बस्न बाध्य पारेर सम्बन्ध विच्छेद गर्न खोज्ने परिपाटीलाई हतोत्साहित गर्छ ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4