१४ मंसिर, जनकपुरधाम । मधेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले आफूलाई सशस्त्र भूमिगत समूहबाट धम्की आइरहेको दाबी गरेका छन् । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै गृहमन्त्री लेखीले जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्तिमोर्चाको नामबाट धम्की आइरहेको बताएका हुन् ।
उनले धम्की आएको विषयमा मुख्यमन्त्री र मधेश प्रहरी प्रमुखलाई जानकारी गराइसकेको पनि बताए । सुरक्षा निकायबाट यस विषयमा अन्य मन्त्रीहरूलाई समेत आफू जस्तो धम्की आउने गरेको जानकारी पाएको मन्त्री लेखीको भनाइ छ ।
बिहीबार गृह तथा सञ्चार मन्त्रालयमा बसेको प्रदेश सुरक्षा समितिको बैठकमा पनि मन्त्री लेखीले धम्की आउने गरेको विषय उठाएका थिए । त्यस बैठकमा अनुसन्धानका प्रहरी अधिकारीले अन्य पनि केही मन्त्रीले यस्तो धम्की आउने गरेको खुलाएका थिए ।
‘गोइत भारतमा छन् । बिरामी छु, उपचार खर्चको लागि पैसा पठाउ भनेर फोन गरेर धम्की दिने गरेको कुरा केही मन्त्रीबाट आएको छ । मन्त्रीजीले पनि त्यही विषयमा आफ्नो कुरा बैठकमा राख्नु भएको थियो,’ बैठकमा सहभागी एक अधिकारीले भने ।
तर, मन्त्री लेखीले नेपाल प्रहरीलाई यस विषयमा केही पनि जानकारी नदिएको अर्का एक प्रहरी अधिकारीको दाबी छ ।
‘धम्की आएको विषयमा प्रहरीलाई जानकारी दिएर अनुसन्धानमा लगाउनुपर्ने हो । हिजो बैठकमा उठाउनु भएको थियो । तर आजै गृहमन्त्री जस्तो व्यत्तिले यो कुरा सिधै पत्रकार सम्मेलनमा सार्वजनिक गर्नुभयो । किन यस्तो गर्नुभयो उहाँलाई नै थाहा होला,’ ती प्रहरी अधिकारी भन्छन् ।
प्रतिक्रिया 4