१५ मंसिर, काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो फ्लोरिडा पुगेका छन् । एक स्रोतलाई उल्लेख गर्दै बीबीसीले दुई नेताको भेटलाई पुष्टि गरेको छ ।
केही दिनअघि ट्रम्पले क्यानडा, चीन र मेक्सिकोमा भन्सार शुल्क थप बढाउने घोषणा गरेका थिए । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै क्यान्डाबाट आउने सामानमा २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका हुन् ।
ट्रम्मको उक्त घोषणाले क्यानडा, चीन र मेक्सिकोको मुद्रामा गिरावट आएको थियो ।
त्यतिबेलै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको कार्यालयले एक वक्तव्य जारी गर्दै ट्रम्पको अभिव्यक्ति बारे प्रतिक्रिया दिएका थिए । ‘अमेरिकाको ऊर्जा आवश्यकताहरू पूरा गर्न क्यानडा महत्वपूर्ण भूमिका छ। अमेरिकाले गत वर्ष उपभोग गरेको ६० प्रतिशत तेल क्यानडाबाट आयात गरिएको थियो,’ कार्यालयले भनेको थियो, ‘ट्रम्पको टोलीसँग यी विषयमा छलफल गर्नेछौं ।’
क्यानाडाका सञ्चारमाध्यमका अनुसार, ट्रुडो शुक्रबार साँझ फ्लोरिडाको पाम बिच अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। त्यहाँबाट उनी ट्रम्पलाई भेट्न उनीहरूको निवासस्थान मार-ए-लागो एस्टेट गएका छन् ।
यस हप्ता सुरुवातमा दुवै नेताले फोनमार्फत् कुरा गरेका थिए। सो समयमा ट्रम्पले घोषणा जनवरीमा पदभार ग्रहण गरेपछि मेक्सिको र क्यानाडाबाट अमेरिका आउने सबै सामानमा उच्च ट्यारिफ लगाइने बताएका थिए ।
ट्रुडोको यो भ्रमण बारे ट्रम्पको टोलीले कुनै प्रतिक्रिया दिएको छैन भने ट्रुडोको कार्यालयले पनि जानकारी दिएको छैन। यो भ्रमण ट्रुडोको सार्वजनिक कार्यक्रमको सूचीमा समावेश गरिएको छैन । स्रोतका अनुसार, दुवै नेताले सँगै डिनर गर्नेछन्।
प्रतिक्रिया 4