१५ मंसिर, काठमाडौं । शनिबारबाट सुरू भएको एनपीएल क्रिकेटमा चितवन राइनोजका लागि अनुबन्धित पाकिस्तानका सोहेल तनभिर नेपाल आइपुगेका छन् ।
तनभिर शनिबार दिउँसो आइपुगेका हुन् । उनलाई त्रिभुवन विमानस्थलमा टिमका अफिसियलहरूले स्वागत गरेका थिए ।
३९ वर्षीय तनभिरले पाकिस्तानबाट लामो समय खेलेका छन् । उनको पाकिस्तान सिनियर टिम तथा अन्य फ्रेन्चाइज लिगमा रामरो अनुभव छ । फर्स्ट क्लास क्रिकेटमा उनले ७४ खेलमा ३१० रन बनाएका छन् ।
बाँयाहाते मिडियम पेस बलिङ गर्ने उनले पाकिस्तानका लागि ५७ टी२०आई खेलमा ५४ विकेट लिएका छन् । त्यसैगरी सबैखाले टी२०मा ३८८ खेल खेल्दा ३८९ विकेट लिएका छन् । त्यसैगरी ब्याटिङमार्फत २७०० भन्दा धेरै रन पनि बनाएका छन् ।
उनले पाकिस्तानबाट सन् २००९ को टी२० विश्वकप जितेका छन् भने राजस्थान रोयल्सबाट इन्डियन प्रिमियर लिग आइपीएल पनि जितेका छन् । त्यसैगरी पाकिस्तान सुपर लिग पनि जितेका छन् ।
चितवनमा अनुबन्ध भएपछि उनले भनेका छन्, ‘मैले यसलाई एक चूनौतिका रुपमा लिएको छु । नेपाल गएर हजारौं नेपाली क्रिकेट फ्यानहरुका सामु चितवन राइनोजको प्रतिनिधित्व गर्दा अत्यन्त गौरवशाली अनुभुति हुनेछ। मलाई लाग्छ नेपालमा पनि पाकिस्तानी क्रिकेट टिमका धेरै फ्यानहरू छन्।’
चितवनका अन्य विदेशी खेलाडीहरूमा नामिबियाका जान निकोल लफ्टी इटन, इंग्ल्याण्डका लुक बेनकेन्सटाइन र रवि बोपारा तथा अफगानिस्तानका हसन एइसाखिल छन् ।
बोपाराबाहेक अन्य भने नेपाल आइसकेका छन् ।
प्रतिक्रिया 4