१९ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो दिन चौथो खेलमा लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा दिउँसो १ बजे सुरु हुनेछ ।
मंगलबार लगातार दोस्रो हार व्यहोरेको विराटनगरले लगातार दिनमा दोस्रो खेल खेल्न लागेको हो । लुम्बिनी लायन्सले आफ्नो पहिलो खेल खेल्दैछ ।
यस खेललाई राष्ट्रिय टिमका दुई कप्तानबीचको खेलका रूपमा हेरिएको छ । लुम्बिनीका रोहित पौडेल हाल राष्ट्रिय टिमको कप्तान हुन् त्यसैगरी विराटनगरका सन्दीप राष्ट्रिय टिमको पूर्वकप्तान हुन् ।
विराटनगर लगातार हारको सिलसिलाबाट मुक्त हुन चाहन्छ भने लुम्बिनी पहिलो खेलमै जितका साथ दाबेदारी प्रस्तुत गर्ने लक्ष्यमा हुनेछ ।
पहिलो खेलमा हार व्यहोरेपछि विराटनगरका प्रशिक्षक केभिन ओ ब्रायनले पहिलो खेलका गल्तीहरूबाट पाठ सिकेर अबका खेलहरूमा राम्रो गर्दै जाने बताएका थिए ।
त्यसैगरी मंगलबार भएको दोस्रो खेलपछि सन्दीपले भनेका थिए, ‘आज पनि हामीले चाहेजस्तो नतिजा ल्याउन सकेनौं । दिपी दाई अनि टिमले राम्रो खेलेको हो ‘ ।
यता लुम्बिनी भने पहिलो खेल खेल्दै छ । लुम्बिनीमा रोहितसँगै राष्ट्रिय टोलीका सन्दिप जोरा र विवेक यादव पनि हुनेछन् । बेन कटिङ, साद बिन जफर, टम मूर्स, रामोन सिमोण्ड्स र उन्मुक्त चन्दजस्ता खेलाडीहरूको उपस्थितिले टिम थप बलियो हुनेछ ।
विराटनगरले लगातारको हारको सिलसिलामा ब्रेक लगाउनका लागि कप्तान सन्दीप लामिछानेले पनि कप्तानी प्रदर्शन गर्नुपर्ने हुन्छ । उनी दुई खेलमा विकेटविहीन छन् ।
त्यसैगरी टप अर्डरले पनि राम्रो खेल्नुपर्ने हुन्छ । पहिलो खेलमा मार्टिन गप्टिलले अर्धशतक बनाउँदा अन्यले राम्रो प्रदर्शन गरेनन् जसकारण विराटनगर १११ रनमा समेटिएको थियो ।
दोस्रो खेलमा मार्टिनको ब्याट नचल्दा विराटनगरले १०० रन पनि बनाउन सकेन । दुवै खेलमा विराटनगरको ब्याटिङ गप्टिलमा मात्र निर्भर भएको देखिन्थ्यो । निकोलस किर्टनले पनि ब्याटिङबाट दुवै खेलमा योगदान दिन सकेका छैनन् ।
पहिलो खेल जितेर सुखद सुरूवात गर्ने योजनामा लुम्बिनी हुनेछ । लुम्बिनीले गप्टिललाई रोक्न अनुभवी बलर बेन कटिङ वा रामोन सिमोण्ड्सको प्रयोग गर्न सक्छ । त्यसैगरी स्पीनमा साद बिन जफर, सुर्य तामाङ र कप्तान रोहित आफैं हुनेछन् ।
ब्याटिङमा अर्जुन साउद, आशुतोष घिरैया, सन्दीप जोरा, कप्तान रोहित र बिबेकले राम्रो गर्नुपर्ने हुन्छ । त्यस्तै उनीहरूलाई बेन कटिङ, मूर्स वा उन्मुक्तले पनस साथ दिनेछन् ।
खेल : लुम्बिनी लायन्स भर्सेस् विराटनगर किंग्स
मिति र समय : १९ मंसिर, दिउँसो १ बजे
स्थान : टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
विराटनगर किंग्स सम्भावित ११ : मार्टिन गप्टिल, लोकेश बम, निकोलस किर्टोन, बसिर अहमद, राजेश पुलामी, प्रतिश जिसी, सन्दीप लामिछाने, क्रिस सोल, अनिल खरेल, जितेन्द्र मुखिया, सुबास भण्डारी, इस्मत आलम
लुम्बिनी लायन्स सम्भावित ११ : आशुतोष घिरैया, अर्जुन साउद, रोहित पौडेल, टम मूर्स/उन्मुक्त चन्द, सन्दीप जोरा, बेन कटिङ, बिबेक यादव, साद बिन जफर, सुर्य तामाङ, रामोन सिमोण्ड्स, दुर्गेश गुप्ता
प्रतिक्रिया 4