२० मंसिर, काठमाडौं। कञ्चनपुरको लालझाडी गाउँपालिका– १, बिनबारीका बडायक दम्पती हत्या आरोपमा एकजना पक्राउ परेका छन् ।
हत्याको करिब एक महिनापछि प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय ५० वर्षीय गंगाबहादुर राना रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी रवीन्द्र केसीले बताए ।
उनले भने, ‘एक महिना लामो अनुसन्धानपछि रानालाई पक्राउ गर्न सफल भएका हौं । उनी पक्राउ परेसँगै थप अनुसन्धानको बाटो पनि सहज भएको छ।’
उनलाई बुधबार नियन्त्रणमा लिएको डीआइजी केसीले बताए । उनका अनुसार रानालाई कञ्चनपुर जिल्ला अदालतलबाट १० दिन हिरासतमा राखेर अनुसन्धान गर्नसमेत अनुमति लिइसकिएको छ ।
अहिलेसम्मको अनुसन्धानले हत्याको कारण लुटपाटभन्दा पनि मदिरा सेवनपछिको विवादका कारण हत्या भएको खुलेको डीआईजी केसीले बताए । प्रहरीले पत्रकार सम्मलेन गरेर रानालाई सार्वजनिक गर्ने तयारी गरेको छ ।
८ कात्तिकको बिहान मृतावस्थामा रमेश बडायक र उनकी श्रीमती कमला मृत भेटिएका थिए । रमेश घरको आँगनमा मृत भेटिएका थिए भने उनकी श्रीमती कमला बरण्डामा सुतेकै ठाउँमा मृत भेटिएकी थिइन्। रमेशको टाउको र कमलाको टाउको तथा निधारमा समेत धारिलो हतियार प्रहार गरिएको थियो ।
दम्पत्ती मृत फेला परेपछि कन्चनपुरका डीएसपी उमेश जोशीको कमाण्डमा घटनास्थल लालझाडीमा पुगेर अनुसन्धान सुरु गरिएको थियो ।
पछि प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक व्यापक शाह र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टोली समेत अनुसन्धानमा खटिएको थियो ।
स्थानीय र प्रदेशको टोलीबाट समेत घटना नसुल्झिएपछि केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०बाट समेत टोली परिचालन गरिएको थियो । बडायक दम्पत्ती लालझाडीमै नास्ता पसल सञ्चालन गर्दै आएका थिए ।
प्रतिक्रिया 4