२० मंसिर, काठमाडौं । नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा जारी भएको नेशनल बी चेस च्याम्पियनसिप प्रतियोगितामा ६ चरणको खेल सम्पन्न भएको छ।
सूर्यविनायक नगरपालिका,भक्तपुरको प्रमुख प्रायोजनमा चलिरहेको चेस प्रतिस्पर्धामा काठमाडौंका युवा पुरुषोत्तम सिलवाल र दोलखाका आशिष् फूँयालले समान ५ अंक जोडेर संयुक्त अग्रता लिएका छन्।
यसअघि पाँचौ चरणमा एफएम रुपेश जैसवालसँग बराबरी खेलेका उदीयमान पुरुषोत्तम सिलवालले ललितपुरका सुरोज महर्जनलाई कठिन खेलमा पञ्छाउन सफल भएका छन् ।
खुल्लातर्फ मकवानपुरका सिएक मिलन लामा, रौतहटका एफएम रुपेश जैसवाल र काठमाडौंका एफएम रिजेन्द्र राजभण्डारी, भक्तपुरका निका कुसाथाले समान ४.५ अंक बनाउदै संयुक्त दोस्रो स्थानमा रहन सफल भएका छन्।
सिएम मिलनले भक्तपुरका राजेश कक्षपतिलाई हारको स्वाद चाखाए भने एफएम रुपेश सँग बराबरी खेलेका छन्। रुपेशले यसअघिको खेलमा पुरुषोत्तमसँग पनि बराबरी नै खेलेका थिए। एफएम रिजेन्द्रले आशिषसँग पराजित भई अर्को खेलमा पूर्व नेपाल च्याम्पियन सिएम नवीन तण्डुकारलाई पराजित गरेका छन्। निकेनले धनुषाका सुशील चौधरीलाई पाखा लगाउदै आशिषसँग बराबरी गरेका छन्।
२५औं राष्ट्रिय प्रतियोगिता छनौट हुने क्रममा छ जना पुरुष खेलाडीले ४ अंक बनाउदै सम्भावना जगाइरहेका छन्। ९ जना खेलाडी छनौट हुने स्पर्धामा काठमाडौंका सुरज सिंह, ललितपुरका सुरज महर्जन, धनुषाका सुशील चौधरी, शुशन आचार्य, काठमाडौंका प्रेमकृष्ण महर्जन र सिएम पुरुषोत्तम चौलागाईं रहेका छन्।
बाचामारीस्थित होटल सिटि गाउँमा चलेको महिलातर्फ कीर्तिपुरकी बिनिता कपाली ५.५ अंक जोडेर एकल अग्रता बनाउन सफल भएकी छिन्। उनले पाँचौ चरणमा काठमाडौंका रिया श्रेष्ठ र छैटौं चरणमा दानिशा पुरिमाथि जीत दर्ता गर्दै अपराजित रहे।
यसैगरी चितवनकी लक्ष्मी कँडेल ५ अंकका साथ दोस्रो स्थानमा उभिएकी छिन्। उनले आज बाँकेकी ईशा गिरि र झापाकी पुनम प्रसाईंलाई पराजित गरेकि थिईन। लक्ष्मी सँग हारेकी ईशाले पर्साकी शुशीला गुरुङ विरुद्ध जीत प्राप्त गर्की छिन्।
बुद्धिचाल प्रतिस्पर्धामा अब्बल विधा क्लासिकल १ घण्टा ३० मिनेट र ३० सेकेण्ड इन्क्रिजमेण्ट स्टाण्डर्ड खेल हो। शुक्रबार महिलातर्फ अन्तिम खेल हुनेछ भने खुल्ला तर्फ बिहान ९ बजे सातौं र आठौं चरणको खेल दिउँसो ३ बजे सञ्चालन हुनेछ। प्रतियोगितामा ४० पुरुष र १८ महिला राष्ट्रिय खेलाडी सहभागी रहेका छन्।
प्रतिक्रिया 4