२४ मंसिर, काठमाडौं । मंसिर १५ गतेदेखि काठमाडौंमा जारी नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा १५ वटा खेलहरू सकिएका छन् । सोमबार ब्रेक डे हुनुअगाडिसम्म पोखरा एभेन्जर्स र काठमाण्डु गुर्खाजले ३-३ खेल खेलेका छन् भने बाँकी ६ टिमले ४-४ खेल सकाएका छन् ।
प्रतियोगितामा हालसम्म आइपुग्दा जनकपुर बोल्ट्स अपराजित छ भने लुम्बिनी लायन्स जितविहीन छ । जनकपुर ४ खेलमा ८ अंक जोडेर शीर्षस्थानमा छ भने अंकविहीन लुम्बिनी पुछारमा छ ।
त्यस्तै चार खेलमा ३ जितसहित ६ अंक भएका सुदूरपश्चिम रोयल्स र चितवन राइनोज क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । ४ खेलमा दुई जितसहित ४ अंक भएको कर्णाली चौथोमा छ ।
तीन खेलमा एक जितसहित २ अंक भएको पोखरा पाँचौंमा, काठमाण्डु छैटौंमा र चार खेलमा एक जित भएको विराटनगर किंग्स सातौं स्थानमा छ ।
यहाँबाट जनकपुर बोल्ट्सको प्लेअफ यात्रा लगभग निश्चित हुँदा बाँकी ३ टोली को हुन्छन् भन्ने रोमाञ्चकता थपिएको छ ।
एनपीएलको मिडवे अवस्थामा आइपुग्दा कुन टिम कस्तो अवस्थामा छ, अबका खेलहरू कस्ता छन् र प्लेअफ सम्भावना कस्तो देखिन्छ भन्नेबारेमा आज चर्चा गरौं ।
जनकपुर बोल्ट्स
प्रतियोगितामा हालसम्म अपराजित रहने एक्लो टिम जनकपुर हो । जनकपुरले हालसम्म शानदार अलराउण्ड प्रदर्शन गर्दै चारवटै खेल जितेको छ । तीन खेलमा सहज जित हात पारेको जनकपुरले आइतबार लुम्बिनीसँग १ रनको रोमाञ्चक जित निकालेको थियो ।
जनकपुरको टप अर्डर ब्याटिङदेखि मिडल अर्डर र बलिङ सबैकुरा मिलेको देखिएको छ । मिडल अर्डर आइतबार लुम्बिनीसँगको खेलमा एक्सपोज भएको थियो जहाँ लयमा रहेका तीन विदेशी खेलाडी लाहिरु मिलान्था, हर्श थाकर र जिमी नीशमको विकेट डेब्यूटेन्ट अभिशेष गौतमले लिएका थिए ।
ब्याटिङमा योगदान नदिएपनि थाकरले बलिङबाट ५ विकेट लिँदै खेल जिताएका थिए । बलिङमा किशोर महतो, ललित राजवंशी र मोहमद मोहसिनले शानदार प्रदर्शन गरिरहेका छन् भने अलराउण्डरहरूले पनि राम्रो भूमिका निभाएका छन् ।
अब खेल्न बाँकीमध्ये अर्को जितेमा पनि जनकपुरको प्लेअफमा स्थान सुरक्षित हुनेछ ।
जनकपुरले खेल्न बाँकी : सुदूरपश्चिम, काठमाण्डु, चितवन
प्लेअफ सम्भावना : ९५%
सुदूरपश्चिम रोयल्स
सुदूरपश्चिमले आफ्नो सुरूवाती तीन खेल शानदार तरिकाले जितेको थियो । आइतबार चितवनसँग ३३ रनले पराजित हुनुपूर्व उसले विराटनगर, काठमाण्डु र लुम्बिनीलाई हराएको थियो जहाँ विराटनगर र काठमाण्डले त १०० रन नै कटाउन सकेनन् ।
४ खेलमा ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको सुदूरपश्चिमका विदेशी अलराउण्डरहरूले शानदार प्रदर्शन गरिरहेका छन् । ब्रान्डन माकमुलेन, सेफ अली जैबले ब्याटिङ र बलिङ दुवैमा राम्रो प्रदर्शन गरेका छन् भने स्कट कुग्लेइनले बलिङमा लिड गरिरहेका छन् र फिनिसिङको भूमिका दिइएकोमा केही ठुला शटहरू पनि खेल्ने गरेका छन् ।
यीबाहेक कप्तान दीपेन्द्रसिंह ऐरीले एक खेलबाहेक ब्याटिङमा कप्तानी पारी खेलेका छन् । त्यसैगरी बलिङमा नरेन साउद, अविनाश बोहराले विकेट निकालिरहेका छन् ।
अब सुदूरले शीर्षको जनकपुरसँगै आफूभन्दा तल राखेका दुई टोलीसँग खेल्न बाँकी छ । सुदूरपश्चिमले तीनवटै खेल जितेमा शीर्ष २ पक्का हुनेछ भने २ खेल जित्दा प्लेअफ भने पक्का हुनेछ । एक खेल जित्दा अन्य नतिजामा भर पर्नु पर्नेछ ।
सुदूरले खेल्न बाँकी : जनकपुर, पोखरा, कर्णाली
प्लेअफ सम्भावना : ८०%
चितवन राइनोज
अंकका हिसाबले चितवन र सुदूरको अवस्था उस्तै छ । नेटरनरेटमा सुदूरपश्चिम केही अगाडि छ । चितवनले आइतबार मात्र लयमा रहेको अपराजित सुदूरलाई हराउँदै तेस्रो जित निकालेको थियो ।
चितवनका लागि विदेशी खेलाडीको राम्रो ब्याटिङ प्रदर्शनसँगै बलरहरूले पनि राम्रो खेलिरहेका छन् । रवि बोपाराले प्रत्येक खेलमा राम्रो पारी खेल्दै चितवनको जितको आधार तय गरिरहेका छन् । त्यसैगरी हसन एइसाखिलले पनि आइतबारको अर्धशतकपछि ब्याटिङमा पुनरागमन गरेका छन् ।
त्यसैगरी बलिङमा बाँयाहाते पेस जोडी सोहेल तनविर र रिजन ढकालले शानदार गरिरहेका छन् । अमरसिंह राउटेलाले पनि केही विकटहरू निकालिरहेका छन् । स्पीनमा कुशल मल्ल आफैं पनि राम्रो गरिरहेका छन् भने उनलाई लुक बेनकेन्सटाइन र जान निकोल लफ्टी इटनले आवश्यकताअनुसार साथ दिइरहेका छन् । आइतबारको खेलमा रञ्जित कुमारले पनि आश देखाएका छन् ।
चितवनले अब लुम्बिनी, विराटनगर र जनकपुरसँग खेल्न बाँकी छ । तीनवटै खेल जितेमा शीर्ष २ पक्का हुनेछ भने २ खेल जित्दा प्लेअफ पक्का हुनेछ । एक खेल जित्दा अन्य नतिजामा भर पर्नु पर्नेछ ।
चितवनले खेल्न बाँकी : लुम्बिनी, विराटनगर, जनकपुर
प्लेअफ सम्भावना : ८०%
कर्णाली याक्स
प्रतियोगिताअघि कागजमा सबैभन्दा बलियो देखिएको कर्णालीले फितलो सुरूवातपछि लगातार दुई खेल जितेको छ । भारतीय स्टार ब्याटर शिखर धवनको अनुबन्धले निकै चर्चा पाएको कर्णालीले सुरूवाती दुई खेलमा जनकपुर र काठमाण्डुसँग हार व्यहोरेको थियो ।
त्यसपछि कर्णालीले चितवनविरुद्ध १ बल बाँकी छँदा रोमाञ्चक नित निकालेको थियो भने विराटनगरविरुद्ध १३३ रन डिफेन्ड गर्दै ७ रनको रोमाञ्चक जित निकालेको थियो ।
कर्णालीको ब्याटिङ लाइनअप बलियो भएपनि एकैखालको प्रदर्शन हुन सकेको छैन । सुरूआती दुई खेलमा नचलेका देव खनालले त्यसपछि २५ र ५३ को स्कोर बनाएका छन् । शिखर धवन अब उपलब्ध हुने छैनन् त्यसकारण उनको स्थानमा ओपनिङ चाडविक वाल्टन वा अर्जुन घर्ती आउन सक्ने छन् ।
वाल्टनबाट पनि एकैनासको प्रदर्शन भएको छैन । त्यसैगरी बाबर हायात सुरूवाती दुई खेलमा कम स्कोरपछि खेलाइएका छैनन् । जिशानले ब्याटिङभन्दा बलिङमा सघाएका छन् । अस्ट्रेलियाका विलियम बोसिस्टोले भने पछिल्लो खेलमा राम्रो ब्याटिङ गरेका थिए भने बलिङबाट एक विकेट पनि लिएका छन् ।
गुल्शन पनि पहिलो खेलपछि हालसम्म शान्त नै छन् पेस बलिङको नेतृत्व गरिरहेका कप्तान सोमपाल कामी र नन्दन यादवले मिश्रित प्रदर्शन गरिरहेका छन् । स्पीनमा आइकोनिक खेलाडी बिपिनप्रसाद शर्मा र जिशानले राम्रै गरिरहेका छन् ।
कर्णालीले अब पोखरा, लुम्बिनी र सुदूरपश्चिमसँग खेल्न बाँकी छ । नेटरनरेट माइनसमा भएकाले नेट रनरेट पनि सुध्रिने गरी खेल्नुपर्नेछ ताकि पोइन्ट्स बराबर भएमा फाइदा होस् । कर्णालीलाई प्लेअफमा ढुक्क स्थान बनाउन २ खेल जित्नुपर्ने छ ।
कर्णालीले खेल्न बाँकी : पोखरा, लुम्बिनी र सुदूरपश्चिम
प्लेअफ समभावना : ६०%
पोखरा एभेन्जर्स
पोखराले एनपीएलमा सम्झनलायक सुरूवात भने गरेको थिएन । पहिलो खेलमा चितवनसँग ४ ओभरमा ७ रन जोड्दा ६ विकेट गुमाएको पोखरा ७४ रनमा अलआउट भएको थियो भने त्यसपछि जनकपुरसँगको खेलमा ७ विकेटको हार व्यहोरेको थियो ।
तर तेस्रो खेलमा भने पोखराले शानदार प्रदर्शन गर्यो । लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पोखराले ५ ओभरअगावै १० विकेटको क्षतिमा पूरा गरेको थियो । उक्त खेलमा ओपनर आन्द्रेस गौसले शतक बनाएका थिए ।
पोखराको ब्याटिङ लाइनअप जति बलियो देखिएको थियो त्यसअनुरूप प्रदर्शन हुन नसकिरहेको अवस्थामा तेस्रो खेलमा ओपनरले नै खेल जिताएका छन् । कप्तान भुर्तेलको ब्याटिङ दुवै खेलमा चलेको थिएन भने नारायण जोशीले केही आशा देखाउँदा माइकल लिस्क फिनिसिङमा उनको क्षमताअनुसार अब्बल देखिएका छैनन् ।
बलिङमा स्पीनर बिपिन खत्रीले राम्रो गरिरहेका छन् भने रेमन रेइफर र आकाश चन्दको पेस बलिङ ठिकठाक देखिएको छ । सागर ढकाल, लिस्क र म्याट क्रिट्लेको स्पीन बलिङ पनि हालसम्म औसत छ ।
पोखराले अब कर्णाली, विराटनगर, काठमाडौं र सुदूरपश्चिमसँग खेल्न बाँकी छ । चारमध्ये तीन खेल जित्नैपर्ने हुन्छ प्लेअफका लागि । नेटरनरेटमा पनि सुधार आवश्यक ।
पोखराले खेल्न बाँकी : कर्णाली, विराटनगर, काठमाडौं र सुदूरपश्चिम
प्लेअफ सम्भावना : ६०%
काठमाण्डु गुर्खाज
काठमाण्डुले पनि प्रतियोगिताको सुरूवातमा हार व्यहोरेको थियो भने त्यसपछिको खेल जित्दा तेस्रो खेलमा हार व्यहोरेको थियो । पहिलो खेलमा चितवनविरुद्ध कम स्कोरमा अलआउट भएको काठमाण्डुले दोस्रो खेलमा ३ विकेटको जित निकाल्दा तेस्रो खेलमा फराकिलो हार व्यहोरेको थियो ।
काठमाण्डुले हात पारेको एउटा जित पनि सहज भने थिएन । ३ विकेटको जितमा करण केसीको क्यामिओ र सुमित महर्जनको शान्त इनिङ समावेश थियो ।
काठमाण्डुको टप अर्डरबाट सोचेअनुरूप प्रदर्शन हुन सकिरहेको छैन । विदेशी खेलाडीहरू स्टेफेन एस्किनाजी र माइकल लेभिटले पाएको सुरूवातलाई ठुलो स्कोरमा परिणत गर्न सकेका छैनन् ।
त्यस्तै जेरार्ड एरासमसले ब्याटिङ एकेनासको गरेका छैनन् भने बलिङबाट भने राम्रो गरेका छन् । काठमाण्डुले ब्याटिङमा देखिएको समस्या हल गर्न सकेमा बाँकी चार खेलमा सहज हुनेछ । पेस बलिङमा करण केसी र राशिद खान ठिकै देखिएका छन् भने स्पीनमा एरासमससँगै शाहब आलम र नाथन सोटर ठिकठाक देखिएका छन् ।
काठमाडौंले अब लुम्बिनी, जनकपुर, पोखरा र विराटनगरसँग खेल्न बाँकी छ ।
काठमाण्डुले खेल्न बाँकी : लुम्बिनी, जनकपुर, पोखरा र विराटनगर
प्लेअफ सम्भावना : ५०%
विराटनगर किंग्स
विराटनगर किंग्सले चार खेलमा एक खेल मात्र जितेको छ । लुम्बिनीले दिएको बलियो लक्ष्य पछ्याउने क्रममा आएको उक्त जितमा लोकेश बम र बासिर अहमद चम्किएका थिए भने अन्तिम ओभरमा क्रिस सोलले तीन बाउन्ड्री प्रहार गर्दै जिताएका थिए ।
यो खेलबाहेक अन्य तीन खेलमा विराटनगरको प्रदर्शन फितलो देखिएको छ, विशेषगरी ब्याटिङमा । पहिलो खेलमा जनकपुरसँग ८ विकेटको हार व्यहोरेको विराटनगर दोस्रो खेलमा सुदूरपश्चिमसँग ९२ रनमा अलआउट भएको थियो । तेस्रो खेलमा १९२ रनको लक्ष्य पूरा गर्दा चौथो खेलमा ७ रनको हार व्यहोर्यो ।
विराटनगरको ब्याटिङमा टप अर्डरबाट प्रदर्शन भइरहेको छैन । पहिलो खेलमा अर्धशतक बनाएका मार्टिन गप्टिलले त्यसपछि ठुलो इनिङ खेल्न सकेका छैनन् । जितेको खेलका स्टार लोकेश बमको प्रदर्शन अन्य खेलमा खासै भएको छैन ।
त्यसैगरी बासिर अहमद र निकोलस किर्टनले औसत ब्याटिङ गरेका छन् भने अन्यबाट खासै योगदान हुन सकेको छैन । बलिङमा कप्तान सन्दीपबाट विकेट निस्किरहेको छैन भने प्रतिश जिसीले विकेट निकालिरहेका छन् । महंगो साबित भएपनि क्रिस सोलले विकेट भने लिएका छन् ।
विराटनगरले अब पोखरा, चितवन र काठमाण्डुसँग खेल्न बाँकी छ । तीनवटै खेल जितेर नेटरनरेट पनि सुधारेमा प्लेअफ सम्भावना बन्न सक्छ । अब एक खेल हारेमा प्लेअफ सम्भावना लगभग समाप्त हुनेछ ।
विराटनगरले खेल्न बाँकी : पोखरा, चितवन र काठमाण्डु
प्लेअफ सम्भावना : २५%
लुम्बिनी लायन्स
लुम्बिनीले हालसम्म जित निकाल्न सकेको छैन । चारमध्ये २ खेल लुम्बिनीले नजिक पुगेर हारेको थियो । पहिलो खेलमा विराटनगरलाई १९२ रनको लक्ष्य दिएर पनि जोगाउन सकेको थिएन । उक्त खेलमा विवेक यादवले ३.५ ओभरमा ६५ रन व्यहोरेका थिए ।
त्यस्तै आइतबार भएको चौथो खेल अन्तिम बलमा पुगेर १ रनले हारेको थियो । बाँकी दुई खेलमा भने लुम्बिनीले एकपक्षीय हार व्यहोरेको थियो । पोखराले १० विकेटले हराउँदा सुदूरपश्चिमले टप अर्डर ब्याटिङ ध्वस्त पार्दै लुम्बिनीलाई हराएको थियो ।
प्रतियोगिताअघि रोहित पौडेल, सन्दीप जोरा र विवेक यादवजस्ता नेपाली खेलाडी तथा बेन कटिङ, टम मूर्स, साद बिन जफर, उन्मुक्त चन्द, रामोन सिमोण्ड्सजस्ता खेलाडीको साथले बलियो लाइनअप देखिएको लुम्बिनी प्रतियोगिताबाट बाहिरिने संघारमा छ ।
कप्तान रोहित पौडेलले राम्रो अलराउण्ड प्रदर्शन गर्दा अन्यबाट भने कन्सिस्टेन्ट प्रदर्शन हुन सकेको छैन । ओपनिङ कम्बिनेशनमै तीन परिवर्तन गरिसकेको लुम्बिनीले हालसम्म ओपनिङमा राम्रो गर्न भने सकेको छैन । विदेशीबाट जफरले बलिङ राम्रो गरिरहँदा ठुला नाम बेन कटिङ चलेका छैनन् ।
मिडलमा टम मूर्सले ठुला शटहरू खेलिरहेका छन् भने पावर हिटिङमा विवेक यादवले राम्रै गरिरहँदा सन्दीप जोराले ठीकै गरिरहेका छन् । विशेषगरी आइतबार १ रनको हार व्यहोर्नुअगाडि उनी स्ट्राइकमा थिए । उनले नै खेललाई जीवित राखेका थिए तर उनले नै फिनिसिङ गर्न सकेनन् ।
पेस बलिङमा दुर्गेश गुप्ता र रामोन सिमोण्ड्स ठीकै देखिएका छन् भने स्पीनमा जफर र कप्तान रोहितले राम्रो गर्दा सुर्य तामाङले हालसम्म विकेट लिएका छैनन् ।
लुम्बिनीले अब चितवन, काठमाण्डु र कर्णालीसँग खेल्न बाँकी छ । लुम्बिनीलाई तीनवटै खेल राम्रो अन्तरले जित्नुपर्ने दबाब छ भने अन्य नतिजामा पनि भर पर्नुपर्ने अवस्था छ ।
लुम्बिनीले खेल्न बाँकी : चितवन, काठमाण्डु र कर्णाली
प्लेअफ सम्भावना : ५%
***
सोमबारको ब्रेकपछि अब लिग चरणमा कुल १३ खेल बाँकी छन् । मंगलबार पहिलो खेलमा लुम्बिनी र चितवन खेल्दै छन् भने दोस्रो खेलमा कर्णाली र पोखरा खेल्दै छन् ।
भोलिका दुवै खेलको नतिजापछि अंकतालिकामा थप रोमाञ्चकता बढ्ने देखिन्छ । लुम्बिनी पराजित भएमा बाहिरिने छ भने जित निकालेमा झिनो आशा बाँकी नै रहँदा चितवनलाई भने धक्का लाग्न सक्छ । उता कर्णाली र पोखराबीचको नतिजापछि तालिकाको मध्यभागमा सामान्य परिवर्तन आउने छ ।
अब टिमहरूले प्लेअफका लागि आवश्यक नतिजा निकालेर प्रतियोगितालाई थप रोचक बनाउलान् त ? मंगलबारदेखि फेरि हेर्न पाइनेछ ।
प्रतिक्रिया 4