+

लगातार तेस्रो जितपछि हेल्प नेपाल स्पोर्ट्स क्लब सेमिफाइनलमा

२०८१ मंसिर  २६ गते २२:५१ २०८१ मंसिर २६ गते २२:५१
लगातार तेस्रो जितपछि हेल्प नेपाल स्पोर्ट्स क्लब सेमिफाइनलमा

२६ मंसिर, काठमाडौं । नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लब लगातारको तेस्रो खेल जित्दै काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा बुधवार भएको खेलमा माल्दिभ्सको क्लब एचडिसीलाई ३-१ को सेटमा हराएपछि हेल्प नेपाल लिगको अन्तिम खेलअघि नै सेमिफाइनल पुगेको हो ।

हेल्प नेपालले एचडिसीलाई २५-२२, २४-२६, २५-१९, २५-२१ ले पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो ।

हेल्प नेपालले ३ खेलबाट ८ अंक जोडेको छ । हेल्प नेपालले यसअघि पहिलो खेलमा भारतको क्यालिकट हिरोजलाई ३-२ को सेटमा हराएको थियो भने दोस्रो खेलमा नेपालकै गण्डकी प्रदेशलाई पराजित गरेको थियो ।

एचडिसीको भने यो तेस्रो हार हो । एचडिसीले पहिलो खेलमा नेपालको गण्डकी प्रदेशलाई ३-२ ले पराजित गरेको थियो भने त्यसपछि इरानको जुनियर टिमसँग ३-२ को सेटमा पराजित भयो । त्यसपछि भारतको क्यालिकट हिरोजसँग सोझो सेटमा पराजित भयो ।

लिगको चारै खेल खेलेको एचडिसीको ३ अंक छ ।

बुधबारै भएको अर्को खेलमा इरानको जुनियर टोलीले भारतको क्यालिकट हिरोजलाई सोझो सेटमा हरायो । इरानी टिमले क्यालिकटलाई २७-२५, २५-२२, २५-२० ले हरायो ।

लगातार तेस्रो खेल जितेको इरानी जुनियर टोली पनि अपराजित रहँदै सेमिफाइनल पुगेको छ । ३ खेलबाट उसको ७ अंक छ । इरानले पहिलो खेलमा माल्दिभ्सको क्लब एचडिसीलाई र दोस्रो खेलमा नेपालको गण्डकीलाई समान ३-२ को सेटमा हराएको थियो ।

भारतको क्यालिकट हिरोजको भने यो दोस्रो हार हो । क्यालिकट पहिलो खेलमै नेपालको हेल्प नेपालसँग ३-२ को सेटमा पराजित भएको थियो । क्यालिकटले आफ्नो दोस्रो खेलमा माल्दिभ्सको क्लब एचडिसीलाई हराएको थियो । क्यालिकटको ३ खेलबाट ४ अंक छ ।

लिग चरणको अन्तिम दुई खेल बिहीबार हुनेछ । जसमा दुई अपराजित टोली नेपालको हेल्प नेपालले इरानको जुनियर टिमसँग खेल्नेछ भने गण्डकी प्रदेशले भारतको क्यालिकट हिरोजको सामना गर्नेछ । त्यसपछि सेमिफाइनल पुग्ने टिमको टुङ्गो लाग्नेछ । हेल्प नेपाल र इरानको टोलीबीचको खेलले शीर्ष स्थानको टोलीको टुङ्गो लाग्नेछ । गण्डकी र क्यालिकटबीचको खेलपछि शीर्ष चारमा रहेर सेमिफाइनल पुग्ने बाँकी टोलीको पनि निर्णय हुनेछ । लिगमा अन्तिम स्थानमा रहने टोली बाहिरिनेछ ।

काभा मेन्स भलिबल क्लब च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय