२७ मंसिर, काठमाडौं । समस्या उन्मुख सहकारी संस्थाहरूको अध्ययन गर्न सरकारले गठन गरेको विज्ञ टोली देश दौडाहामा निस्कने भएको छ ।
अर्थ मन्त्रालयले टोलीमा रहने सात जना विज्ञको नाम प्राप्त भइसकेको र उनीहरूलाई कुन-कुन प्रदेशमा पठाउने भन्ने तय गरेर तत्कालै फिल्डमा पठाइने सहकारी तथा गरिबी निवारण मन्त्रालयकमा सचिव अर्जुनप्रसाद पोखरेलले अनलाइनखबरलाई जानकारी दिए ।
सहकारी मन्त्रालयका उपसचिवको नेतृत्वमा हुने हरेक टोलीमा एक जना विज्ञ सदस्य, सहकारी विभागको एकजना प्रतिनिधि र सम्बन्धित प्रदेशको सहकारी रजिस्ट्रार सदस्य रहने जानकारी उनले दिए ।
जुन स्थानीय तहमा रहेको सहकारीको अनुगमन गर्ने हो, त्यसको सहकारी हेर्ने अधिकृत पनि टोलीमा सहभागी हुनेछन् ।
यसअघि गत १६ कात्तिकमा मुख्यसचिवको संयोजकत्वमा सरोकारवालाबीच भएको बैठकले सातै प्रदेशका समस्या उन्मुख सहकारीको अनुगमन गर्न केन्द्रबाटै टोली परिचालन गर्ने निर्णय गरेको थियो ।
‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने समस्या उन्मुख सहकारी संस्थाको स्थलगत अनुगमन गरी त्यस्ता संस्थाको कारोबारको यथार्थ वस्तुस्थिति र जोखिमसमेत आकलन गरी प्रतिवेदन पेस गर्न प्रत्येक प्रदेशमा कम्तीमा एक विज्ञ सहितको टोली गठन गरी निश्चित कार्यादेशसहित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले खटाउने,’ सो दिनको निर्णयमा उल्लेख थियो ।
यसका लागि वित्तीय क्षेत्रमा काम गरेका आवश्यक जनशक्ति अर्थ मन्त्रालयले र अन्य जनशक्ति संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपलब्ध गराउने निर्णय पनि सो बैठकले गरेको थियो । सोही निर्णयअनुसार टोली परिचालन हुन लागेको हो ।
समस्याग्रस्त भइसकेका सहकारीहरूको सम्पत्ति तथा दायित्व मूल्यांकन गरी बचत फिर्ता गर्न संघीय सरकार मातहत समस्याग्रस्त सहकारी व्यवस्थापन समिति रहेको छ । तर, प्रदेश र स्थानीय तहका सहकारीको व्यवस्थापनका लागि त्यस्तो समिति पनि छैन ।
समस्याग्रस्त घोषणा नभइसकेका तर समस्या उन्मुख सहकारीको स्थलगत अध्ययन गरी प्रतिवेदन पेस गर्न यो समिति गठन भएको सचिव पोखरेलले बताए।
प्रतिक्रिया 4