+
+

सडकबाट अनुसन्धान प्रभावित पार्ने प्रयास भयो : गृहमन्त्री लेखक

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २७ गते १६:५८

२७ मंसिर, काठमाडौं । गृहमन्त्री रमेश लेखकले राज्यले अनुसन्धान गरिरहेका बेला सडक आन्दोलन र प्रदर्शन गरेर अनुसन्धान नै प्रभावित गर्ने प्रयास भएको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि भइरहेको छानबिनलाई लक्षित गर्दै उनले न्यायिक प्रक्रियालाई प्रभावित गर्ने प्रयास भएको जिकिर गरेका हुन् ।

बागमती प्रदेशले आयोजना गरेको शान्ति सुरक्षा र विपद् व्यवस्थापन सम्बन्धी अन्तर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै लेखकले भने, ‘अपराध भइसकेपछि राज्यले सरकारले अनुसन्धान गर्छ, अभियोजन गर्छ । न्यायिक प्रक्रियाहरू हुन्छन् । तर, कानूनले गरेका व्यवस्थाहरुको उपहास गरेर हुने गतिविधिहरुलाई शहन गर्न सकिँदैन ।’

सहकारी ठगीबारे बयान लिएर लामिछानेलाई चितवनबाट पोखरामा राति लगिएको विषयलाई लिएर प्रहरी प्रशासनको आलोचना भइरहेको छ । यस्तोमा गृहमन्त्री लेखकले भने संविधान र कानूनले गरेका व्यवस्थाहरुको उपहास गरेर भएका गतिविधिलाई सहन नसकिने बताएका छन् ।

‘कुनै हालत पनि यस्ता गतिविधि ठिक हुन सक्दैन, यसका लागि यथेष्ट ध्यान दिन जरुरी छ’, उनले प्रदेशका गृहमन्त्री र सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन समेत दिएका छन् । सोही अवसरमा गृहमन्त्री लेखकले प्रहरी समायोजन यथाशिघ्र गर्ने गरी मन्त्रालयले काम गरिरहेका बताएका छन् ।

‘संविधानले नै भनेकाले समायोजनमा जानलाई द्विविधा छैन, तर कतिपय मिलाउनुपर्ने विषयहरु छन्, ती विषयहरु यस्तै छलफलबाट सहज हुन्छन्’, उनले थपे, ‘अहिले सबै प्रक्रिया पूरा गरिसकेका छौं र एक हप्ता वा दुई हप्ताभित्रमा मन्त्रिपरिषद्बाट पास गरेर संघीय सदनमा संघीय प्रहरी ऐनको विधेयक लैजान्छौं ।’

प्रहरी ऐन सम्बन्धी विधेयक संसद्मा लैजाने वित्तिकै सशस्त्र प्रहरीको प्रस्ताविक विधेयक पनि पेश गरिने लेखकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?