काठमाडौं । वीर अस्पतालले उपचारमा छुट लिएका बिरामीको विवरण सार्वजनिक गर्न थालेको छ । सामाजिक इकाईबाट छुट लिएका बिरामीको नाम र परीक्षण गर्दा लिएको छुटको विवरण समेत राखेर सार्वजनिक गरिएको हो ।
उपचारमा गरिब, विपन्न, अपाङ्गता भएका वर्गलाई सहुलियत दिने भए पनि पहुँचवाला व्यक्तिले त्यसको लाभ उठाइरहेकाले यस्तो कदम चालिएको अस्पताल प्रशासनले जनाएको छ ।
‘पहुँचवाला व्यक्तिले पनि भनसुन गरेर निःशुल्क उपचार गर्ने प्रवृत्ति एकदमै बढ्यो,’ प्रशासनका एक उच्च कर्मचारीले भने, ‘यो विकृतिलाई न्यूनीकरण गर्न सकिन्छ कि भनेर नाम सार्वजानिक गर्न थालेका हौं ।’
ती कर्मचारीका अनुसार एमआरई, सिटीस्क्यान, आईसीयू बेडको चार्ज, शल्यक्रिया लगायतका सेवा पनि निःशुल्क लिन खोज्छन् ।
वीर अस्पतालले गत कात्तिक महिनाको विवरण सार्वजनिक गरेको छ । जसमा २०० देखि ३४ हजार २०० रुपैयाँसम्म छुट लिएका व्यक्तिको विवरण उल्लेख छ ।
‘अस्पतालका कर्मचारीको आफन्त, नेता, आर्थिक हैसियत समक्ष भएका व्यक्तिले छुट लिंदै आएका छन्,’ ती कर्मचारीले भने, ‘यसलाई न्यूनीकरण गर्न जरूरी छ ।’
प्रतिक्रिया 4