+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

रास्वपामा सक्रिय सभापतिको अभ्यास गर्दै डीपी अर्याल

रविको निलम्बनसँगै डीपीले पार्टी र संसदीय दल दुवैतर्फ आफूलाई कार्यकारी भूमिकामा उभ्याउने कसरत थालेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १२ गते २०:५८

१२ पुस, काठमाडौं । सहकारी ठगी अभियोग भोगिरहेका रास्वपा सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएसँगै कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले पार्टीभित्र सक्रियता बढाएका छन् ।

लामिछानेले पार्टीभित्र सन्तुलन मिलाउन अर्याललाई पार्टी संगठन, अर्का उपसभापति स्वर्णिम वाग्लेलाई संसदीय दलको नेतृत्वमा लैजाने इच्छा व्यक्त गरे पनि संसदमा अर्याल नै हाबी बन्ने देखिएको छ ।

बिहीबार अर्यालले पार्टीका सबै विभाग प्रमुखहरूलाई हालसम्मको प्रगति र आगामी योजनाबारे रिपोर्टिङ मागेका छन् ।

नेताहरूका अनुसार अर्यालले बिहीबार विभाग प्रमुखहरूलाई सन्देश पठाएर यही १४ पुस दिउँसो ४ बजेभित्र आफ्नो क्षेत्राधिकार र जिम्मेवारीमा केन्द्रित रहेर रिपोर्टिङ पेस गर्न भनेका छन् । समयसीमा नै तोकेर कार्यवाहक सभापति अर्यालले विभागका प्रमुखहरूसँग हालसम्मको प्रगति र आगामी योजना मागेका हुन् ।

रास्वपामा विभिन्न ३६ वटा विभागहरू छन् ।

संगठन विभाग प्रमुखमा कवीन्द्र बुर्लाकोटी, अभियान तथा प्रचार प्रसार विभागमा विपिन आचार्य, अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा शिशिर खनाल प्रमुख छन् । प्रवास नेपाली सम्पर्क विभागमा डीपी नै प्रमुख छन् ।

मानवीय विकास प्रवर्द्धन विभागमा कुसुम महर्जन, उत्पादन प्रवर्द्धन विभागमा रामकृष्ण भट्टराई, केन्द्रीय विपद् व्यवस्थापनसम्बन्धी द्रुतकार्य (आरएटी) संयोजन विभागमा विष्णुकुमार श्रेष्ठ, नेतृत्व क्षमता तथा मानव संशाधन विभागमा खुस्बु सरकार श्रेष्ठ, जनसम्पर्क विभागमा दीपक बोहरा, भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभागमा हरि ढकाल प्रमुख छन् ।

आर्थिक व्यवस्थापन विभागमा लिमा अधिकारी, गुनासो व्यवस्थापन विभागमा डा. चन्दा कार्की, विकास, योजना तथा नीति तर्जुमा विभागमा अरनिको पाडे, तथ्यांक अनुसन्धान तथा अभिलेखन विभागमा मनीष झा प्रमुख छन् ।

विधेयक मन्थन विभागमा गणेश कार्की, गैरआवासीय नेपाली सम्पर्क विभागमा अर्जुन अधिकारी, कानुन तथा न्याय विभागमा सोविता गौतम र अर्थ नीति विभागमा डा. स्वर्णिम वाग्ले प्रमुख छन् ।

सार्वजनिक लेखा समीक्षा विभागमा मनीष झा, शिक्षा विभागमा सुमना श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या विभागमा डा. तोसिमा कार्की, कृषि विभागमा अशोक चौधरी प्रमुख छन् ।

यसैगरी, पर्यटन तथा संस्कृति विभागमा शिशिर खनाल, मुद्रा तथा पुँजी बजार विभागमा विराजभक्त श्रेष्ठ, उद्योग तथा वाणिज्य विभागमा गणेश पराजुली, श्रम तथा उपभोक्ता हित विभागमा असिम शाह, यातायात विभागमा शिव नेपाली प्रमुख छन् ।

पूर्वाधार अनुगमन विभागमा निशा डाँगी, युवा तथा खेलकुद विभागमा डा. तोसिमा कार्की, विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागमा सुमना श्रेष्ठ, मानव अधिकार विभागमा सन्तोष परियार, सहकारी विभागमा अशोक चौधरी, वन तथा वातावरण विभागमा विनीता कठायत र महिला तथा सामाजिक विकास विभागमा लक्ष्मी तिवारी प्रमुख छन् ।

नीति तथा विचार विभागको प्रमुखमा कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटी छन् । सुरुमा डा. मुकुल ढकाल थिए । ढकाल पार्टीबाट कारबाहीमा परेसँगै यसको जिम्मेवारी बुर्लाकोटीमा सरेको हो । प्रशिक्षण विभागको प्रमुखमा पनि बुर्लाकोटी नै छन् ।

विभागी प्रमुखहरूसँग रिपोर्टिङ लिएर पार्टीको गतिविधिलाई गति दिने अर्यालको तयारी छ । यसका लागि उनले शुक्रबार पार्टीको सचिवालय बैठक राखेका छन् ।

पार्टी केन्द्रीय कार्यालय चमतिमा शुक्रबार दिउँसो तीन बजे बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुनेछ । शुक्रबारको बैठकबाट पार्टीको आगामी रणनीति तय गर्न लागिएको नेताहरू बताउँछन् । यसका लागि पार्टीको केन्द्रीय विभागमा मनोनयमा हेरफेर गर्ने तयारीसमेत रास्वपाको छ ।

रास्वपाका सभापति रवि लामिछानेविरूद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि पार्टीको दोस्रोपटक सचिवालय बैठक बस्न लागेको हो । पार्टीको कार्यवाहक सभापतिमा अर्याल चयन भइसकेका छन् । रास्वपाको संसदीय दलको नेता पनि अर्याललाई नै बनाउने तयारी छ ।

नेताहरूका अनुसार डीपी अर्याललाई संसदीय दलको कार्यवाहक नेता बनाउँदा पार्टीमा विश्वासको अवस्था कायम रहने वातावरण छ । अनलाइनखबरसँग एक नेताले भने, ‘डीपी अर्याललाई नै संसदीय दलको कार्यवाहक नेता बनाउने हो । अरु हुँदा प्रश्न उठ्छ । पार्टीका कार्यकर्तामा पनि शंका हुन्छ । यसकारण डीपीलाई नै दलको कार्यवाहक नेता बनाउने तयारी छ ।’

पार्टीका अर्का पदाधिकारीले दुई दिनअघि अनलाइनखबरसँग कुरा गर्दै वाग्लेलाई संसदीय दलको नेतृत्व दिने मोटामोटी समझदारी भइसकेको, लामिछानेको पनि त्यस्तै इच्छा रहेको बताएका थिए । सहमहामन्त्री सुमना श्रेष्ठले भने फेसबुक ग्रुपमा संसदीय दलकाे नेताका लागि उम्मेदवार बन्ने घोषणा गर्दै ‘टीका लगाउने प्रथा’ को विपक्षमा उभिन आग्रह गरेकी थिइन् । उनले हिरासतबाट पार्टी चलाउने रविको कार्यशैलीसँग सांकेतिक असन्तुष्टिसमेत जनाएकी थिइन् ।

हाल संसदीय दलकाे उपनेता रहेका विराजभक्त श्रेष्ठले आफू स्वतः दाबेदार रहेको बताउँदै आएका छन् । चन्दा कार्कीले पनि संसदीय दल नेता दाबी गर्दै अनौपचारिक छलफल थालेकी छन् ।

यही तानातानबीचपार्टीको कार्यवाहक सभापति र संसदीय दलको कार्यवाहक नेता दुवै ठाउँमा डीपी आएमा अनौठो नहुने रास्वपाकै नेताहरू बताउँछन् । अर्यालले आफूलाई अग्रसर तुल्याउँदै पार्टीका विभिन्न विभागसम्म छोटो अवधि राखेर रिपोर्ट माग्नुका पछाडि यही कारण मुख्य रहेको स्राेतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?