+

ओलम्पिक कमिटी निर्वाचन विवाद : खेल संघलाई कारबाही गर्ने मन्त्रालयको तयारी

२०८१ पुष  १४ गते १८:१४ २०८१ पुष १४ गते १८:१४

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भने, ‘ओलम्पिक कमिटीको निर्वाचनमा भाग लिने खेल संघलाई स्पष्टिकरणका लागि यसअघि नै पत्र पठाइसकेको छ। जवाफको लागि तीन दिनको समय दिइएको छ । तीन दिनपछि त्यही अनुसार कारबाही प्रक्रियाअगाडि बढाउँछौं।’

ओलम्पिक कमिटी निर्वाचन विवाद : खेल संघलाई कारबाही गर्ने मन्त्रालयको तयारी

१४ पुस, काठमाडौं। युवा तथा खेलकुद मन्त्रालयले सरकारको निर्देशन र अदालतको आदेशविपरीत नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचनमा सहभागी हुने खेल संघलाई कारवाही गर्ने तयारी गरेको छ।

मन्त्रालयले नियमविपरीत ओलम्पिक कमिटीको निर्वाचन प्रक्रियामा सहभागी भएका संघलाई कारवाही गर्न प्रक्रिया सुरु भइसकेको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अनलाइनखबरसँग भने।

उनले भने, ‘ओलम्पिक कमिटीको निर्वाचनमा भाग लिने खेल संघलाई स्पष्टिकरणका लागि यसअघि नै पत्र पठाइसकेको छ। जवाफको लागि तीन दिनको समय दिइएको छ । तीन दिनपछि त्यही अनुसार कारबाही प्रक्रियाअगाडि बढाउँछौं।’

ओलम्पिक कमिटीमा २७ संघ आबद्ध छन्। त्यसमध्ये २० खेल संघ शनिबार भएको ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी भएका थिए। ७ संघले भने अदालतको आदेश पालना गर्दै निर्वाचनमा सहभागिता जनाएनन्।

यसअघि नै युवा तथा खेलकुद मन्त्रालय र राखेपले खेल संघहरुलाई पटक-पटक पत्र लेख्दै ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी नहुन र नगराउ निर्देशन दिएको थियो। तर, खेल संघले अदालतको आदेश र सरकारको निर्देशनविपरीत नै शनिवार नेपाल ओलम्पिक कमिटिको अध्यक्षका लागि भएको मतदान प्रक्रियामा सहभागी भएका थिए।

अनलाइनमार्फत भएको मतदानमा २७ संघ मध्ये २० संघका प्रतिनिधि उपस्थित थिए। सबै २० जनाले अध्यक्षका उम्मेदवारा जीवनरामलाई भोट गरेका थिए। एनओसीका १९ पदाधिकारीको लागि अध्यक्षबाहेकका बाँकी पदमा भने यसअघि नै निर्विरोध भइसकेको थियो।

शनिबार अनलाइनमार्फत अध्यक्षको निर्वाचन भएपछि एनओसी निर्वाचन कमिटीले अध्यक्षसहित १९ सदस्यीय कार्यसमितिको निर्वाचन सम्पन्न भएको जानकारी गराएको थियो।

शनिबारको ओलम्पिक निर्वाचनमा नेपाल कबड्डी संघ, नेपाल टेबल टेनिस संघ, नेपाल आर्चरी संघ, नेपाल ब्याडमिन्टन संघ, नेपाल बास्केटबल संघ, नेपाल बक्सिङ संघ, नेपाल क्यानोइङ र्‍याप्टिङ संघ,नेपाल साइक्लिङ संघ, नेपाल गल्फ संघ, नेपाल जिन्म्याष्टिक संघ, नेपाल ह्यान्ड बल संघ, नेपाल जुडो संघ, नेपाल कराँते महासंघ, नेपाल टेबल टेनिस संघ, नेपाल स्कि संघ, नेपाल पौडी संघ, नेपाल तेक्वान्दो संघ, नेपाल भलिबल संघ, नेपाल भारत्तोलन संघ, नेपाल उसु संघका प्रतिनिधि सहभागी भएका थिए।

अदालत आदेशको पालना गर्ने भन्दै ७ संघ नेपाल ट्रायथलन संघ, नेपाल फेन्सिङ संघ, अखिल नेपाल फुटबल संघ, नेपाल एथलेटिक्स संघ, नेपाल कुस्ती संघ, नेपाल सुटिङ संघ, नेपाल हक्की संघले मतदान प्रकृया बहिष्कार गरे।

मन्त्रालयको निर्देशनको राखेपले ओलम्पिकमा आबद्ध २७ संघलाई पत्र लेखेर अदालतको आदेशविपरीत हुन लागेको नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी नहुन निर्देशन दिएको थियो।

यस्तै, राखेपले ८ पुसमा नेपाल लन टेनिस संघ, नेपाल ब्याडमिन्टन संघ, नेपाल साइक्लिङ संघ, नेपाल जिन्म्याष्टिक संघ, नेपाल भारत्तोलन संघ, नेपाल एथलेटिक्स संघ र नेपाल ह्यान्डबल संघलाई पत्र लेख्दै ओलम्पिकको कुनै पनि चुनावी प्रक्रियामा सहभागी नहुन भनेको थियो।

तर, एथलेटिक्सबाहेक ६ संघ ओलम्पिक निर्वाचनमा सहभागी भएका छन् ।

ओलम्पिक निर्वाचन खेल संघ तेजुलाल चौधरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय