+

विमानस्थल पुगेर मन्त्री पौडेलले गरे एमपक्स सजगताबारे छलफल  

२०८१ पुष  १७ गते १७:१५ २०८१ पुष १७ गते १७:१५
विमानस्थल पुगेर मन्त्री पौडेलले गरे एमपक्स सजगताबारे छलफल  

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा एमपक्स (मंकीपक्स) जोखिमसँग जुध्न अपनाइएको सजगताबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्थलगत निरीक्षण गरेका छन् । सम्बद्ध अधिकारीहरुको बैठक डाकेर जोखिम फैलिन नदिन प्रभावकारी सेवा दिन आग्रह गरेका छन् ।

अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एमपक्स फैलिन नदिन विमानस्थल हुँदै स्वदेश आउने यात्रुका लागि हेल्थ डेस्कमार्फत निगरानी र सचेतनामूलक जानकारी दिंदै आइरहेको छ ।

मन्त्री पौडेलले विमानस्थलमा एयरलाइन्स, नागरिक उड्डयन अधिकारी, अध्यागमन कर्मचारी तथा सुरक्षाकर्मीसहित अधिकारीहरुलाई नागरिकमाझ थप जोखिम फैलिन नदिन मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

‘तपाईंहरुलाई कुनै पनि काम कुरामा आवश्यक सहयोग उपलब्ध गराउन हामी तयार छौं,’ उनले भने, ‘केही समस्या परे भन्नुहोला ।’

हालै साउदी अरेबियाबाट फर्केका दुई जनमा संक्रमण देखिएकोमा एक जना उपचारपछि घर फर्किसकेका छन् । अर्का एक जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालमा उपचार भइरहेको छ ।

मन्त्री पौडेलले नमुना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला, उपचारका लागि सरुवा रोग नियन्त्रण अस्पताल अनि सचेतना फैलाउन इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखाले मिलेर काम गरिरहेको जानकारी दिए ।

मन्त्रालयले विमानस्थलबाट बाहिरिएका शंकास्पद बिरामीको सम्पर्क ट्रेसिङका अलावा फर्कनेहरुलाई एमपक्सबारे सचेतना विमानस्थलमा रहेको हेल्थ डेस्कबाट दिइरहेको छ ।

मन्त्री पौडेलले साउदी अरेबियाबाट संक्रमित बिरामी आइरहेकाले नेपाली समुदायमाझ सचेतनाका लागि नेपाली दूतावासमार्फत काम गर्ने बताए ।

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि राजेश सम्भाजीराव पाण्डवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एमपक्स नियन्त्रणका लागि अपनाएको सजगता प्रशंसनीय रहेको भन्दै आवश्यक सहयोगका लागि तयार रहेको बताए ।

एमपक्स प्रदीप पाैडेल स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय