
२१ पुस, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलले २२ र २३ पुस (सोमबार र मंगलबार)का लागि तय भएको विशेष भेला रोकिनुमा पार्टीभित्रको वरीयता कारण रहेको खुलेको छ ।
केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको सहभागी हुने गरी तरुण भेला डाकिएको थियो । तर, १७ पुसमा भेला स्थगित गर्नुमा विशेष कारण भनिएको थियो । उक्त ‘विशेष कारण’ के हो भनी खुलाइएको थिएन । तरुण दलका एक पूर्वअध्यक्षका अनुसार सभापति शेरबहादुर देउवा पछिको वरीयतामा कुरा मिल्न नसकेपछि भेला स्थगित गरिएको हो ।
कांग्रेसमा सभापति देउवा पछिको वरीयतामा उपसभापति पूर्णबहादुर खड्का छन् । जिल्ला, प्रदेश, भ्रातृ संस्थाले गर्ने कार्यक्रममा सभापति देउवा पछिको वरीयता आफ्नो हुनुपर्ने संस्थापनइतरका नेता डा.शेखर कोइरालाको अडान रहँदै आएको छ । २१ मंसिरमा कोशी प्रदेशको सम्मेलनमा मर्यादाक्रममा कुरा नमिलेपछि कोइरालाले बहिष्कार गरेका थिए ।
तरुण दलका नेताहरुका अनुसार सभापति देउवा पछिको वरीयता कोइरालाको हुनुपर्ने उनी पक्षीयले माग गरेका थिए । ‘भेलामा देउवा पछि शेखरको वरीयता हुनुपर्ने उहाँहरुको कुरा थियो । पार्टी वरीयतामा पूर्णबहादुर खड्का दोस्रो नम्बरमा हुनुहुन्छ’, तरुण दलका एक पूर्वअध्यक्षले भने,‘वरीयताकै कुराले विराटनगर सम्मेलनमा उहाँ (शेखर) जानु भएन । विवाद होला भनेर भेला रोकेको हो ।’
प्रतिक्रिया 4