+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

रित्तिंदै सीमारक्षक नाम्खाका गाउँ, वडासदस्य पनि राजीनामा दिएर हिंडिन्

उत्तरी सीमा रक्षकको भूमिकामा रहेका नाम्खाका गाउँहरू रित्तिन थालेका छन् । त्यहाँको जाङ गाउँबाट निर्वाचित वडासदस्य पुटी लामासमेत राजीनामा दिएर गाउँ छोडेकी छन् ।

नरजन तामाङ नरजन तामाङ
२०८१ पुष २५ गते १२:१३

२५ पुस, हुम्ला । हिमालपारीको गाउँ भनेर चिनिंदै आएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका- ६ मा पर्छन्, तिल, जाङ र हल्जी गाउँ । एउटै वडाभित्रका भए पनि एक गाउँबाट अर्को गाउँ पुग्न झन्डै चार घण्टा पैदल हिंड्नुपर्छ ।

तिब्बतसँग सीमा जोडिएको लिमीमा पर्ने यी गाउँमा केही वर्षअघिसम्म चहल पहल राम्रै थियो । तर, पछिल्ला वर्ष बसाइँ सर्ने क्रम नरोकिएकाले गाउँ रित्तिंदै गएका छन् ।

यी गाउँ तत्कालीन लिमी गाउँ विकास समितिमा पर्थे । भौगोलिक विकटता सहेरै पनि स्थानीय बसिरहेका थिए । २० वर्षअघि ६४ घरधुरी रहेको जाङमा अहिले जम्मा दुई घरधुरी मात्र बस्छन् ।

गत वर्ष १७ घरधुरी थिए । एकै वर्षमा १५ घरधुरी गाउँ छाडेर बसाइँ सरेपछि रित्तिएको जाङ उराठलाग्दो छ । प्रायः सबै घरका मूलढोकामा ताला झुन्डिएको देखिन्छ ।

लिमी गाउँदेखि चीनको सिमाना लिमी लाप्चा ४२ किलोमिटरको दूरीमा छ । नेपाल सरकारले बीओपी स्थापना गरेको छ, न अन्य सुरक्षा क्याम्प । सीमा सुरक्षाको दृष्टिले नेपाल सरकारले बेवास्ता गरे पनि पारि लाप्चातर्फ भने बलियो चिनियाँ सुरक्षा छ ।

केही वर्षअघिसम्म हल्जी, जाङ र तील गाउँका बासिन्दा नै सीमा रक्षकजस्तै थिए । उनीहरूले नै सीमाको रेखदेख गर्थे । राज्यको बेवास्ता सहेरै पनि लामो समयसम्म स्थानीय बसिरहेका थिए । आसपासका क्षेत्र गुलजार थिए । तर, बसाइँसराइले गाउँ नै रित्तिंदै गएपछि भने सीमा नाका पनि सुनसान भएको छ ।

केही नागरिक रोजगारी तथा व्यापार व्यवसायका लागि चीनको ताक्लाकोट, पुगेका छन् । केही बसाइँ सरेर काठमाडौं । जाङ गाउँबाट निर्वाचित वडासदस्य पुटी लामासमेत राजीनामा दिएर गाउँ छोडेकी छन् ।

बासिन्दा नै नभएपछि लिमीको सुनखानीमा अस्थायी प्रहरीचौकी मात्रै छ, त्यो पनि हिँउद लागेपछि सदरमुकाम सिमकोट सार्ने गरिएको छ । अस्थायी प्रहरीहरू वर्षाको समयमा मात्रै सुनखानी सर्ने गरेका छन् ।

लिमीका तीन गाउँका नागरिकले सीमाको मात्रै रक्षा गरेका थिएनन्, विश्वकै दुर्लभ र लोपोन्मुख चराचुरुङ्गी, लिमी उपत्यकाको माथिल्लो क्षेत्रमा पाइने ७० प्रजातीका चराचुरुङ्गीदेखि विश्वकै दुर्लभ मानिएको वनचौरी, रातो भालु, चितुवा, वन कुकुरको संरक्षण पनि गर्ने गरेका थिए ।

जाङ गाउँका ८० प्रतिशत नागरिक काठमाडौंमा छन् । बाँकी चीनको ताक्लाकोटमा व्यापार व्यवसाय गर्दै आएका छन् । जाङ गाउँका सुन्डुप लामा र कासाङ लामा भने यसवर्ष चिसो छल्न काठमाडौं गइसकेको नाम्खा गाउँपालिका ६ का वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।

विद्यार्थी नहुँदा विद्यालय बन्द

कक्षा ३ सम्म मान्यता पाएको नाम्खा गाउँपालिका–६ जाङस्थित भृकुटी आधारभूत विद्यालय पनि बन्द भएको छ । स्थानीयले गाउँ छोडेपछि विद्यालय बन्द भएको हो । गाउँमा दुई घर बाँकी रहेको र विद्यालय पढ्न जाने पनि दुईजना मात्रै रहेकाले विद्यालय बन्द गरिएको नाम्खा गाउँपालिकाको शिक्षा शाखा प्रमुख मनराज बुढाले बताए ।

उनले विद्यालयका शिक्षक राजबहादुर ऐडीलाई तातापानी आधारभूत विद्यालय केर्मी र शिक्षक शन्तबहादुर रोकायालाई सुनखानी आधारभूत विद्यालय हल्जी खटाएको शिक्षा शाखा प्रमुख बुढाले जानकारी दिए ।

उनले भने, ‘विद्यार्थी गाउँमा नभएपछि शिक्षकहरू पनि अन्य विद्यालयमा खटाएको छौं ।’ उनका अनुसार सुनखानी आधारभूत विद्यालयमा ५१ जना विद्यार्थी छन् भने शिक्षक शन्तबहादुर रोकायासँगै राजबहादुर ऐडीलाई शिक्षक खटाइएको छ।

नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङ जाङ गाउँ रित्तिँदै गएकोमा चिन्तित छन् । ‘गाउँले बसाइँ सर्दै गए, गाउँ रित्तिंदै गयो,’ उनले भने, ‘पटकपटक आग्रह गर्दा पनि निर्वाचित जनप्रतिनिधि पुटी लामा पनि राजीनामा दिएर जानुभयो । तर, राजीनामा स्वीकृत भएको छैन ।’

उनले जाङ गाउँका केहीले गाउँ छाड्ने क्रममा जाङ गाउँस्थित फेलग्यालिङ गुम्बाको सामानसमेत काठमाडौं लगेको गुनासो गरे । तिल गाउँका ४० घरधुरीमध्ये अहिले २२ घरधुरी मात्रै गाउँमा छन् । बाँकी अन्यत्र बसाइ सरिसकेका छन् ।

हजार वर्ष पुरानो गुम्बा कुर्दै स्थानीय

हल्जी गाउँको अवस्था भने अलि भिन्न छ । यो गाउँमा हजार वर्षभन्दा पुरानो हल्जी गुम्बा छ । यसको संरक्षण गर्न भन्दै स्थानीय कष्ट सहेर पनि बसिरहेका छन् । वडाध्यक्ष पाल्चोर तामाङका अनुसार ९६ घरधुरी गुम्बाको संरक्षण गरी बसेका छन् ।

धार्मिक तथा ऐतिहासिक रूपमा निकै महत्वपूर्ण मानिने हल्जी गुम्बाको संरक्षणमा स्थानीय एकजुट रहेको र बसाइँसराइ कतै नगरेको वडाध्यक्ष पाल्जोर तामाङले बताए । ‘हल्जीका सबै गाउँले अहिलेसम्म गुम्बाको रेखदेख गरेका छन् । यहाँका गाउँले विस्थापित भएका छैनन्,’ वडाध्यक्ष तामाङले भने ।

लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?