+

कुनै काम गर्दा हात थाक्छ, ‘राइटर्स क्र्याम्प’ भएको त होइन ?

२०८१ पुष  २५ गते १३:१८ २०८१ पुष २५ गते १३:१८
कुनै काम गर्दा हात थाक्छ, ‘राइटर्स क्र्याम्प’ भएको त होइन ?

केही समय काम गर्दा हात अररो हुने, सानो काम गर्दा गल्ने, बटारिने, लेख्दा लेख्दै थाक्ने, लेख्न धेरै नसक्ने समस्या लिएर साताको करिब १० जना बिरामी वीर अस्पतालको न्युरो विभागको ओपीडीमा आइपुग्छन् ।

तर यो संख्या वास्तविक भन्दा निकै कम हो । किनकि कतिपयलाई किन हातमा समस्या भइरहेको छ भनेर पत्तो छैन । कतिपयलाई यो समस्या हो । यसको उपचार आवश्यक छ भन्ने पनि हेक्का छैन । जसकारण यो समस्याको उपचार सम्भव हुँदाहुँदै पनि पीडा भोगेर बस्न धेरै बाध्य छन् ।

किन यस्तो समस्या हुन्छ ?

यस्ता लक्षण लिएर आउने हातको समस्यालाई चिकित्सकले ‘राइटर्स क्रयाम्प’ वा ह्यान्ड डिस्टोनिया नाम दिएका छन् । किनकि यो समस्या प्राय: लेख्ने, टाइप गर्ने, हातले बाद्यवादन बजाउने, कैंची चलाउनेमा बढी देखिन्छ ।

राइटर्स क्रयाम्प’ भनेको के हो ?

‘राइटर्स क्रयाम्प’ स्नायुसम्बन्धी समस्या हो । जसले विशेषगरी हातको मांसपेशीमा समस्या उत्पन्न गराउँछ । शरीरलाई चलायमान राख्ने एउटा भाग हुन्छ । त्यो भागलाई बेजल ग्यांगलिया भनिन्छ । यो एक किसिमको न्युक्रियस हो । शरीरको जति पनि मांसपेशीको टोन हो त्यसलाई नियमन गर्छ । जब यो ग्यांगलियामा समस्या हुन्छ । तब शरीरको भागहरु काठ जत्तिकै कडा हुँदै जान्छ । जसले हुनुपर्ने पोस्चर मिलाउन गाह्रो हुन्छ ।

कसरी हुन्छ ?

यो समस्याका ठोस कारण अहिलेसम्म पत्ता लागेको छैन । तर केही अवस्थालाई जिम्मेवार मानिन्छ । कारण पत्ता नलाग्ने अवस्थालाई प्राइमरी डिस्टोनिया भन्ने गरिन्छ । कारण अनुमान हुनसक्ने केही अवस्था छन् । जसलाई ‘सेकेण्डरी’मा वर्गीकरण गरिएको छ । मस्तिष्कको भागमा कुनै संक्रमण, चोटपटक, ब्रेन ह्यामरेज भएको व्यक्तिमा देखिन सक्छ ।

अर्को कारण भनेको मस्तिष्कमा मोटर हुन्छ । त्यसमा समस्या भई मोटरको क्षेत्र मांसपेशीलाई गलत सन्देश पठाएर हात अनियमित रुपमा चल्न गई यो समस्या उत्पन्न हुन्छ । परिवारमा कसैलाई पहिलेदेखि नै यो समस्या थियो भने सन्तानमा हुने सम्भावना चार गुणाले बढ्न जान्छ । लामो समयसम्म लेखन कार्यमा संलग्न हुने व्यक्तिलाई पनि यो समस्या देखिन सक्ने अनुमान गरिन्छ ।

पार्किन्सन्स डिसअर्डर भएका बिरामीमा पनि पछि गएर हातको चालसम्बन्धी समस्याले गराउन सक्छ ।

यो कति साझा समस्या ?

साताको पाँचदेखि सातजना बिरामी ह्यान्ड डिस्टोनियाको समस्या लिएर आउने गर्छन् । यो त अति गाह्रो भएपछि आएका केसहरु हुन् । समुदायमा यो समस्या धेरैलाई भएको हुनसक्छ । तर  यसलाई समस्याको रुपमा पहिचान हुन नसक्दा अस्पतालमा आउने भन्दा बढी घरमै पीडा भोगेर बस्नेको संख्या धेरै रहेको हुनसक्छ ।

कतिपय समस्या हुँदा फिजिसियनलाई देखाउँदा सही उपचार नपुगेको पनि हुनसक्छ । यो समस्या भएमा सामान्य जीवनयापन गर्न सम्भव छ । तर सुरुमै लक्षण पहिचान गर्न नसक्दा लक्षण मध्यमदेखि पीडादायी हुन जान्छ । यो समस्याबारे जानकार अवगत पहिल्यै भएमा लक्षण पहिचान गरी बेलैमा उपचार गर्न सकिन्छ ।

लक्षण

हात एक्कासि काम्नु, लेख्दा सधैंजसो लेख्न नसकिने, अक्षर बिग्रिने, औंलाहरु अनियन्त्रित भएर खुम्चिने, हल्लिने, दुख्ने, गल्ने, हात बाङ्गिने, बटारिने, कुनै सामान समात्न नसक्ने लक्षण भएमा ‘ह्यान्ड डिस्टोनिया’ भएको हुनसक्छ ।

कसरी पहिचान हुन्छ ?

यदि यस्तो लक्षण अनुभव भइरहेको छ भने स्नायुरोग विशेषज्ञलाई देखाउन सकिन्छ । चिकित्सकले मेडिकल पृष्ठभूमि र केही शारीरिक परीक्षण गरी समस्या पहिचान गर्न सक्छन् । मस्तिष्कको एमआरआई,सिटी-स्क्यान वा इलेक्टोम्योग्राफीबाट समस्या छ कि भनेर हेरिन्छ ।

उपचार

यो समस्या भएमा एउटा मात्र उपचार विधि पर्याप्त नहुन सक्छ । समस्याको कारण र लक्षणको आधारमा उपचार फरक-फरक आवश्यक हुन्छ । फिजियोथेरापी, औषधि उपचार, ‘डिप्र ब्रेन स्टीम्युलेसन’ र न्युरोटक्सिनको सुईबाट ह्यान्ड डिस्टोनियाको उपचार गरिन्छ ।

यी सबै उपचार विधि प्रभावकारी नभएको खण्डमा अवस्था हेरेर शल्यक्रिया पनि आवश्यक पर्ने हुन्छ ।

दुखाकम गर्न घरमै गर्न सकिने केही अभ्यास

– नियमित रुपमा हात र औंला चलायमान राख्ने अभ्यास गर्ने ।

– लेख्ने, टाइप गर्ने जस्ता हातको गतिविधिको बीचमा केही विश्राम लिने ।

– कडा परिश्रम हुने खालको काम सकेसम्म नगर्ने ।

– लेख्दा समस्या हुनेहरु हल्का, सहज र सही आकारको कलम प्रयोग गर्ने ।

डा. राजीव झा नसारोग राइटर्स क्र्याम्प
प्रा. डा. राजीव झा
लेखक
प्रा. डा. राजीव झा
स्नायु, नसा तथा मेरुदण्डरोग विशेषज्ञ

प्रा. डा. झा वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेसनल अस्पतालको न्युरोसर्जरी विभाग प्रमुख हुन् । उनले एमडी, एमएस, एमसीएच र एफआरसीएस गरेका छन् । उनी युरोपियन एसोसिएसन अफ न्युरोसर्जिकल सोसाइटीका सदस्य समेत हुन् । प्रा. डा. झाको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३१७७ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय