+

‘गम्भीर प्रकृतिको मानसिक रोगमा गलत धारणा धेरै छन्’ (भिडियो)

२०८१ पुष  २८ गते १२:०६ २०८१ पुष २८ गते १२:०६
‘गम्भीर प्रकृतिको मानसिक रोगमा गलत धारणा धेरै छन्’ (भिडियो)

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर २० करोड मानिस मनोरोगले ग्रसित छन् । सामान्यतया मानव मस्तिष्कले गर्ने विभिन्न कार्य, बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा गडबडी हुनु मानसिक समस्या हो ।

पछिल्लो समय मानसिक स्वास्थ्य समस्या ठूलो चुनौती बन्दै गएको छ । बदलिंदो जीवनशैलीसँगै तनाव, चिन्ता र डिप्रेसन जस्ता समस्या बढ्दै गएका छन् । यिनै विषयमा केन्द्रित रहेर पाटन मानसिक अस्पतालका सिनियर कन्सल्टेन्ट साइक्यार्टिस्ट डा. बासुदेव कार्कीसँग अनलाइनखबरकर्मी सुमित्रा लुईटेलले गरेको कुराकानी :

कुनै पनि आघातपूर्ण घटनाले मानसिक स्वास्थ्य समस्या निम्ताउने समस्या हुन्छ ?

मानसिक स्वास्थ्य मान्छेको जैविक बनावट, मनोवैज्ञानिक अवस्था र पारिवारिक सामाजिक अवस्थाको त्रिकोणात्मक सम्बन्धबाट निर्धारित हुन्छ । त्यसैले कुनै व्यक्ति एउटा आघातपूर्ण घटना पछाडि मानसिक स्वास्थ्य समस्या हुन्छ कि हुँदैन भन्ने कुरा उसको जैविक बनावट कस्तो छ, उसको हुर्काइमा मनोविज्ञानको विकास कसरी भएको छ ? त्यो घटनासँग उसको कस्तो सम्बन्ध छ, धारणा के छ भन्ने कुरामा भर पर्छ । साथै त्यो प्रभावलाई उसले कसरी व्यवस्थापन गर्छ भन्ने कुरामा पनि निर्भर हुन्छ ।

त्यसैले कुनै पनि आघातपूर्ण घटनाले मानसिक समस्या सबैलाई आउँछ भन्ने होइन । तर जोखिममा रहेका व्यक्तिमा आघातपूर्ण घटनाले मानसिक स्वास्थ्य समस्या निम्त्याउन चाहिं सक्छ ।

कुनै महिलाको गर्भपतन भयो भने उनमा त्यो घटनाले मानसिक स्वास्थ्य समस्या निम्तिने जोखिम कति हुन्छ ?

गर्भपतन हुनुमा त्यहाँ धेरै कुरा जोडिएको हुन्छ । गर्भपतन हुँदा हर्मोनको सन्तुलन बिग्रिन्छ साथै त्यो गर्भमा रहेको बच्चासँग गर्भवती महिलाको भावनात्मक सम्बन्ध पनि गाँसिएको हुन्छ । यस्तोमा गर्भपतन हुँदा महिलामा मानसिक आघात पुग्छ । तर त्यो आघात मानसिक स्वास्थ्य समस्यामा बदलिन्छ कि बदलिंदैन भन्ने कुरा भने महिलाको जैविक बनावटमा भर पर्छ । तनावलाई व्यवस्थापन गर्ने क्षमता उनमा कति छ भन्ने कुरामा पनि निर्भर हुन्छ । तर बच्चा धेरै प्रयासपछि भएको छ भने त्यो गर्भपतनले अन्य सामान्य गर्भपतनले भन्दा धेरै असर गर्न सक्छ ।

गर्भपतनमा सामाजिक र पारिवारिक वातावरणले पनि महिलामा पर्ने आघातलाई बढाउन सक्छ ?

नेपाली समाजमा गर्भधारण अनि बच्चा हुर्काउने जिम्मेवारी महिलाको नै हुन्छ भन्ने आम सोचाइ छ । त्यससँग जोडिएको जस अपजसको जिम्मेवार पनि महिलालाई नै ठहराइन्छ । त्यही खालको सामाजिक र पारिवारिक अवस्था छ भने यसले महिलामा मानसिक स्वास्थ्य जोखिम बढाउँछ ।

यदि कोही महिलाको गर्भपतन भयो र उनको पारिवारिक तथा सामाजिक वातावरण राम्रो छैन भने तत्काल ‘एडजस्मेन्ट डिसअर्डर’ हुने र पछिसम्म यो समस्या भइरहँदा एन्जाइटी र डिप्रेसनसम्म हुने जोखिम हुन्छ ।

यदि कोही महिलालाई यस्तो समस्या भयो भने पहिलेको अवस्थामा फर्काउन सकिन्छ ?

गर्भपतनको अवस्था सिर्जना भयो भने के गर्ने भन्दा पनि यस्तो अवस्था सिर्जना हुन नदिन बढी जोड दिनुपर्छ । यस्तो समस्या हुन नदिन गर्भावस्थामा नियमित गर्भ जाँच गर्नुपर्छ । गर्भको जाँचसँगै महिला अन्य स्वास्थ्य जाँच, मानसिक अवस्था र भोलिको दिनमा केही समस्या भए त्यसको समाधान कसरी गर्ने भन्ने कुरामा छलफल गर्नुपर्छ ।

गर्भवती महिलाको श्रीमान्, परिवारका अन्य सदस्यले गर्भवती महिलासँग गर्नुपर्ने व्यवहारको बारेमा छलफल गरियो भने कठिनाइमा पनि परिवारका सदस्यले गर्नुपर्ने सहयोगको बारेमा छलफल गरियो भने कठिनाइको सामना गर्ने सक्ने क्षमता महिलामा हुन्छ र मानसिक समस्या निम्तिने जोखिम कम हुन्छ ।

सबै ठाउँमा गर्भावस्थाको उचित स्याहार भएको छैन । जसले गर्दा महिलाले विभिन्न आघातपूर्ण घटनाको सामना गर्नुपर्छ । गर्भपतनको समयमा पनि उनले श्रीमान् र परिवारको उचित साथ र सहयोग पाइनन् भने महिलामा मानसिक समस्याको जोखिम बढ्छ । सावधानी अपनाउँदा अपनाउँदै पनि समस्या बढ्यो भने परिवारलाई यो अवस्थाको बारेमा मनोशिक्षा दिनुपर्छ । नजिकैको स्वास्थ्य संस्थामा गएर उचित परामर्श र उपचार गरेर यो अवस्थाबाट बाहिर निकाल्न सकिन्छ ।

कस्तो कस्तो आघातपूर्ण घटनाले मानसिक स्वास्थ्य समस्या निम्ताउने जोखिम हुन्छ ?

कुनै पनि घटनाले फरक व्यक्तिले फरक ढङ्गले महसुस गर्छन् र त्यसैले त्यसको प्रभाव पनि कसैमा पर्ने कसैमा नपर्ने हुन्छ । तर कतिपय घटनाले भने जो कोहीलाई पनि प्रभाव पार्न सक्छ । त्यसलाई गम्भीर प्रकृतिको घटना भन्ने गरिन्छ । उदाहरणका लागि द्वन्दकालको घटना जसमा कसैले आफ्नो परिवारको सदस्यलाई आँखा अगाडि बीभत्स ढङ्गले मारेको देखेको छ भने त्यसले मानसिक समस्या देखिन सक्छ ।

मानसिक अस्पतालमा नै मैले यस्तो घटनाबाट गुज्रिएको एक जना बालिका भेटेको थिएँ । जसलाई हुर्कंदै जाँदा पनि बारम्बार त्यो घटना मनमा आएर डर लाग्ने र बेहोस नै हुने हुन्थ्यो ।

अर्को एउटा बालिकालाई मैले उपचार गरेको थिएँ । जसले पाँच वर्षको उमेरदेखि आफन्तबाट नै पटक-पटक बलात्कारको घटना बेहोरेको थिइन् । सानो बेला त उसलाई त्यसले खासै प्रभाव पारेको थिएन तर उमेर बढ्दै जाँदा उसले आफूमाथि भएको व्यवहार नराम्रो हो भन्ने बुझेपछि उसले हरेक पुरुषलाई हिंस्रक देख्ने र ऊसँग बदला लिन्छु भन्ने भावना आउने रहेछ ।

यस्तो किसिमको गम्भीर प्रकृतिको घटनाले सबैलाई प्रभाव पार्छ र जीवनकालभर नै पनि यसको प्रभाव रहन सक्छ । यसलाई व्यवस्थापन गर्न भने शरीर र दिमागमा हुने रसायनको सन्तुलन गराउनुपर्छ, पारिवारिक र सामाजिक सहयोग र तनाव व्यवस्थापनको कौशल सिकाउनुपर्छ ।

प्राकृतिक विपद्को कारण पनि मानसिक समस्या निम्तिन्छ ?

भर्खरै बाढीपहिरोको कारण पनि धेरैको धनजनको क्षति भयो, कतिले आफन्त गुमाए यसले पनि उनीहरूमा मनोसामाजिक अप्ठेरा हुनसक्छ । पहिले मानसिक समस्या भएको व्यक्ति छन् भने यस्ता घटनाले समस्या बल्झिन सक्छ ।

यस्तो घटना हुँदा कतिपय अवस्थामा भने तनाव व्यवस्थापन गर्न गलत अभ्यास जस्तो जाँडरक्सी, चुरोट खैनी खाने पनि गर्न सक्छन् ।

मानसिक स्वास्थ्य समस्या निम्तिने मुख्य कारण के हो ?

दिमागमा धेरै प्रकारका रसायन उत्पादन हुन्छन् । ती रसायनले हाम्रो सोच, भावना र व्यवहारलाई सञ्चालन गर्छन् भन्ने कुरा विज्ञानले व्याख्या गरेको छ । एउटा मात्र रसायन भन्दा पनि विभिन्न रसायन जस्तो डोपामाइन, एड्रिनलीन र कार्टिसोल लगायत रसायनको असन्तुलन हुँदा एन्जाइटी डिप्रेसन जस्तो समस्या देखिन सकिन्छ ।

मानसिक स्वास्थ्यमा अहिलेसम्म रसायनको कुरा त भइरहेको छ तर पछिल्लो समय विज्ञानले रसायन मात्र नभएर दिमागभित्र सक्रिय रहने नेटवर्कले एकअर्कालाई क्रिया प्रतिक्रियामा सहयोग गरेको हुन्छ । त्यो क्रिया प्रतिक्रियामा सन्तुलन बिग्रियो भने मानसिक स्वास्थ्य समस्या निम्तन्छ भनेको छ । तर मानसिक स्वास्थ्यको विषयमा अझै पनि विज्ञान प्रारम्भिक चरणमा मात्र छ धेरै विकास हुन बाँकी छ ।

मानसिक स्वास्थ्य समस्यामा उपचारको चरण कसरी तय गरिन्छ ?

मानसिक स्वास्थ्य समस्या धेरै समस्याको एउटा समूह हो । जसमा सामान्यदेखि जटिल किसिमको समस्या संलग्न हुन्छ । सामान्य समस्या जसमा व्यक्ति आफूले मात्र समस्या भएको महसुस गर्ने अरूले नगर्ने एन्जाइटी हो । डिप्रेसन जसमा व्यक्तिको व्यवहारमा, दैनिकीमा परिवर्तन भएको छ भन्ने कुरा व्यक्ति र अन्यले पनि महसुस गर्छन्  ।

गम्भीर प्रकृतिको मानसिक समस्या साइकोसिसमा भने व्यक्तिलाई आफूलाई समस्या छ भन्ने कुरा महसुस हुँदैन तर परिवारका सदस्य र अन्य व्यक्तिले भने व्यक्तिमा भएको परिवर्तन महसुस गर्छन् । यी सबै समस्या फरक हो र उपचारको प्रक्रिया पनि फरक-फरक हुन्छ ।

नेपालको सन्दर्भमा कुरा गर्दा बढी विक्षिप्त भएको अवस्थालाई मात्र मानसिक समस्या भन्छ । तर समाजमा त्यो भन्दा धेरै व्यक्तिलाई महसुस हुने एन्जाइटी र डिप्रेसनको समस्या बढी देखिन्छ ।

उपचारको कुरा गर्दा कसैलाई एन्जाइटी भएको छ भने उसलाई जैविक, मनोवैज्ञानिक र सामाजिक कुराले एन्जाइटी भएको हुनसक्छ । मनोवैज्ञानिक कारणले एन्जाइटी भएको हो भने काउन्सिलिङ महत्त्वपूर्ण हुन्छ । तर बायोलोजिकल कारणले भएको हो भने रसायनलाई सन्तुलनमा ल्याउने उपचार गर्नुपर्छ । त्यसैले एउटा मात्र कारणले एन्जाइटी नहुने भएकाले काउन्सिलिङ र औषधि उपचार दुवै महत्वपूर्ण हुन्छ ।

कसैलाई मानसिक स्वास्थ्य समस्या भएको छ भन्ने कुरा अर्को व्यक्तिले कसरी थाहा पाउन सक्छन् ?

जुन कुरा हामी प्रत्यक्ष देख्छौं त्यसलाई मात्र महत्वपूर्ण ठान्छौं । मानसिक स्वास्थ्यको विषय व्यक्तिको विचार, भावना र व्यवहारसँग जोडिएको सवाल भएको कारण अरूले त्यसलाई महसुस त गर्छन् तर फरक ढङ्गले हेर्छन् । जस्तो डिप्रेसन भएको व्यक्ति एक्लिएर बस्छ, अरूसँग बोल्दैन, सानो कुरामा पनि रिसाउन सक्छ । यस्तोमा अन्य व्यक्तिले उसलाई हट्टाकट्टा भएर पनि अल्छी गरेको, रिसाएको भनेर लाञ्छना लगाउँछन्, रोग भनेर स्वीकार गर्दैनन् ।

त्यसैले मानसिक स्वास्थ्यको सवालमा व्यक्ति र परिवारका अन्य सदस्यलाई मानसिक स्वास्थ्य समस्या भएमा यस्तो लक्षण देखिन्छ भन्ने कुराको जानकारी हुनुपर्छ । लक्षणबारे सचेतना भयो भने व्यक्तिलाई नरमाइलो लागेको, कममा मन नलागेको कारण एन्जाइटी पो हो कि भन्ने लाग्न सक्छ । परिवारको  सदस्यलाई पनि यस्तो व्यवहार मानसिक स्वास्थ्य समस्याको कारण भएको हो भन्ने कुरा थाहा भयो भने परिवारका सदस्यले सहयोग गर्न सक्छन् ।

साइकोसिस जस्तो गम्भीर प्रकृतिको मानसिक रोगमा गलत धारणा धेरै छन् । यस समस्यामा व्यक्तिलाई आफूले के गरिरहेको छु भन्ने ज्ञान हुँदैन । जसमा बिरामीलाई पूर्वजन्मको पापको कारण यस्तो समस्या भयो भनेर बिरामीलाई दोषी मान्ने गरिन्छ । तर यो पूर्वजन्मको पाप नभएर मानसिक स्वास्थ्य समस्या हो भन्ने कुरा थाहा पाएर उपचार गर्नुपर्छ । मानसिक स्वास्थ्य समस्याको सफल उपचारको धेरै विधि छन् ।

मानसिक स्वास्थ्य समस्या उपचारपछि पूर्ण रुपमा निको हुन्छ ?

धेरै मानसिक स्वास्थ्य समस्या उपचारबाट राम्रो सुधार भएका छन् । मानसिक स्वास्थ्य समस्या मनोवैज्ञानिक, जैविक र सामाजिक विभिन्न कारणले हुने भएकाले यसको उपचारमा औषधिसँगै पारिवारिक र सामाजिक वातावरणमा पनि सुधार हुनुपर्छ ।

समस्या भएको व्यक्तिले उपचारसँगै परिवार र समाजबाट हार्दिकता पूर्ण वातावरण पायो । सामाजिक गतिविधिमा संलग्न गराइयो भने उसको मनोबल उच्च हुन्छ र बिरामीको अवस्थामा सुधार हुन्छ ।

कतिपय जिनसँग जोडिएको समस्यामा जिनलाई बदल्न त सकिंदैन । त्यसैले उपचारपछि पनि उसमा समस्या दोहोरिने सम्भावना हुन्छ । त्यसैले उनीहरू नियमित परामर्श र उपचारमा रहनुपर्छ । त्यसैले समग्रमा व्यक्तिको मनोवैज्ञानिक, जैविक र पारिवारिक सामाजिक वातावरणलाई ऊप्रति सहयोगी बनाउन सकियो र व्यक्तिलाई पनि मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने ढङ्गले सकारात्मक परिवर्तन गर्न सकियो भने मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिले पनि सामान्य जीवन बिताउन सक्छन् ।

एन्जाइटी, डिप्रेसन भएका व्यक्ति पूर्ण निको भएका उदाहरण छन् ?

एन्जाइटी र डिप्रेसनको समस्या निको भएका थुप्रै उदाहरण छन् । यस्ता समस्या भएका व्यक्ति उचित उपचार र सकारात्मक जीवनशैली अपनाएर निको भएका छन् । साइकोसिस भएका व्यक्ति जो वर्षौंसम्म घरमा थुनिएर बसेका छन् उनीहरू पनि उपचारपछि अवस्थामा सुधार भएर उत्पादनशील जीवन बिताइरहेका उदाहरण धेरै छन् ।

मानसिक स्वास्थ्यको औषधि जीवनभर खानुपर्छ भनेर बिरामीले औषधि सुरु गर्न नचाहने र सुरु गरे पनि बचमा छोड्ने गरेको सुनिन्छ नि ?

मानसिक स्वास्थ्यको सवालमा धेरै अन्धविश्वास र भ्रमलाई चिर्न बाँकी छ । औषधिको सेवनमा पनि धेरै प्रश्न उठ्ने गरेको पाइन्छ । तर औषधि सेवन गर्ने कुरामा भन्दा चुरोट रक्सी सेवन गर्ने कुरामा, निष्क्रिय जीवनशैली बिताउने कुरामा बिरामीले प्रश्न गरे भने उनीहरूको स्वास्थ्य अवस्था सुधार हुन्थ्यो । चिकित्सकले सिफारिस गरेको औषधिमा चाहिं प्रश्न गर्ने तर अन्य कुरामा सचेत भएर प्रश्न गरे स्वास्थ्यमा समस्या नै ननिम्तिने र भइहाले पनि चाँडो निको हुने हुन्थ्यो । त्यसैले विशेषज्ञले सिफारिस गरेको औषधि खान डराउनु पर्दैन ढुक्क भएर खाँदा हुन्छ । औषधि सेवनले केही साइड-इफेक्ट देखियो भने प्रश्न गर्नु उचित हुन्छ ।

आफूखुसी औषधि छोड्न पनि हुँदैन । औषधि विज्ञानको उपलब्धि हो । विज्ञानलाई बुझ्न चिकित्सकले धेरै अध्ययन गरेका हुन्छन् । औषधिको बारेमा विभिन्न अध्ययन अनुसन्धान भएको हुन्छ । औषधिको बारेमा प्रमाण र तथ्य हुन्छ । त्यही प्रमाण र तथ्यको आधारमा नै चिकित्सकले सिफारिस गरेका हुन्छन् । त्यसैले औषधि सेवन गर्दा ढुक्कले गर्न सकिन्छ ।

आफूखुसी औषधि छोड्दा समस्या बल्झिने जोखिम हुन्छ । बल्झिएको रोगले दुर्घटना पनि निम्त्याउन सक्छ जस्तो छारेरोग । छारेरोगको केही साइड-इफेक्ट हुनसक्छ तर बिरामीसँग यसबारेमा छलफल गरिन्छ  । एन्जाइटी र डिप्रेसनको औषधि लामो समय खानुपर्ने पनि हुन्छ । तर यसले बिरामीको जीवनशैलीमा सकारात्मक परिवर्तन हुन्छ । एउटा औषधि एउटा अवधिको लागि सिफारिस गरिन्छ । त्यसैले त्यसलाई आफूखुसी छोड्न पनि हुँदैन र औषधिले फाइदा भयो भनेर लामो समय सेवन गर्नु पनि हुँदैन । निश्चित समयपछि औषधि घटबढ गर्नुपर्ने हुन्छ, त्यसैले चिकित्सकसँग फलोअपमा रहिरहनुपर्छ ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

डा. बासुदेव कार्की मानसिक रोग मानसिक स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय