+

बुटवलमा ३ लाख पुरस्कारको स्नूकर प्रतियोगिता हुँदै

२०८१ माघ  १ गते ८:५६ २०८१ माघ १ गते ८:५६
बुटवलमा ३ लाख पुरस्कारको स्नूकर प्रतियोगिता हुँदै

१ माघ, बुटवल । बुटवलमा सर्वाधिक पुरस्कार राशीको राष्ट्रियस्तरको स्नूकर प्रतियोगिता हुने भएको छ ।

नेपाल बिलियार्डस् स्नूकर एण्ड पुल एशोसियसन रुपन्देही र खस्यौली स्नूकर क्लबको आयोजनामा फागुन १२ गतेदेखि प्रथम अल नेपाल बुटवल मेयर कप ओपन स्नूकर च्याम्पियनसीप हुने भएको हो ।

बुटवलको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नूकर क्लबमा हुने प्रतियोगितामा देशभरबाट अधिकतम १२८ जना खेलाडीले भाग लिने नेपाल बिलियार्डस् स्नूकर एण्ड पुल एशोसियसन रुपन्देहीका अध्यक्ष सुजन पुनले बताए ।

प्रतियोगितामा भाग लिन फागुन ७ गतेसम्म नाम दर्ता गराइसक्नुपर्ने समय सीमा तोकिएको उनले बताए ।

प्रतियोगिताको विजेता खेलाडीले ३ लाख ३ हजार, उपविजेताले १ लाख १ हजार रुपैयाँ र हाइएस्ट ब्रेकरले ५५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने अध्यक्ष पुनले बताए । सेमिफाइनलमा पुग्ने खेलाडीहरुलाई नगद १० हजार रुपैया, राईजिङ स्टार र अनुशासित खेलाडीलाई स्नूकर स्टिकबाट पुरस्कृत गरिने उनले बताए ।

‘यसअघि काठमाडौंमा प्रथम पुरस्कार २ लाख ५५ हजार रुपैया राशीको प्रतियोगिता भएको थियो, त्यो रेकर्डलाई बुटवलको प्रतियोगिताले तोड्नेछ’, अध्यक्ष पुनले भने, ‘स्नूकरमा हालसम्मकै सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगिताले स्नूकर खेललाई उचाईमा पुर्‍याउनुका साथै बुटवलको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने छ ।’

प्रतियोगिताको प्रथम पुरस्कार ३ लाख ३ हजार बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा सिंह कम्प्लेक्सका सञ्चालक महेशमान सिंहले, दोस्रो पुरस्कार एक लाख एक हजार रुपैयाँ आवास ग्रुपका प्रबन्ध निर्देशक महेश थैवले तथा हाइएस्ट ब्रेकरको ५५ हजार रुपैया पुरस्कार समृद्धि हेयर सैलुनले सौजन्य गरेका अध्यक्ष पुनले जानकारी गराए ।

रुपन्देही स्नूकर खेलको उर्वरभुमी भएको र भर्खरमात्र बुटवलका रेगन श्रेष्ठले श्रीलंकामा सम्पन्न सागस्तरीय प्रतियोगितामा नेपाललाई पहिलो पदक दिलाउन सफल भएको उनले बताए । उनलाई सम्मान गर्ने लक्ष्य रहेको उनले बताए ।

खेल संयोजक विजय गुरुङले बुटवल बाहिरबाट आउने खेलाडीहरुलाई आवासको ब्यवस्था आयोजकबाट गरिने तथा क्वाटरफाइनल खेलबाट खेलाडीहरुलाई आवास र खानाको समेत ब्यवस्था गरिने जानकारी दिए । प्रतियोगिता अधिकतम १० दिनसम्म सञ्चालन हुने संघका सचिव प्रकाश क्षेत्रीले बताए ।

बुटवल नगरपालिकाका प्रवक्ता शिव रानाले बुटवलमा सर्वाधिक राशिको प्रतियोगिता आयोजना हुनु बुटवलको मात्र नभइ प्रदेशकै गौरवको विषय भएको बताए ।

स्नुकर प्रतियोगिता

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय