
काठमाडौं । पाका निर्देशक तुलसी घिमिरेले मंगलबार आगामी फिचर ‘पहाड’को औपचारिक घोषणा गरेका छन् । माघे सक्रान्तिको अवसरमा फिल्मको ‘अफिसियल टाइटल’ पनि सार्वजनिक गरिएको छ ।
भिडियो शैलीमा सार्वजनिक गरिएको शीर्षकमा पहाड र माटोको रङ मिश्रण गरिएको छ । यसले फिल्मको कथावस्तु मानव बसोबास विहिन बनेको उच्च पहाडको रहेको बुझ्न सकिन्छ । माटोको रङले दृश्य मनोविज्ञान सिर्जना गर्छ ।
घिमिरेको पटकथा र निर्देशन रहेको फिल्मलाई ओजस्वी केसीले निर्माण गर्दैछन् । थुप्रै चर्चित बलिउड फिल्म र सिरिज तथा नेपाली फिल्ममा छायांकन गर्दै आइरहेका प्रमोद प्रधानको छायांकन यसमा हुनेछ ।
प्रधानले यसअघि अन्याय, तिलहरि, चिनो, दक्षिण र राँको पनि खिचेका छन् । उनी चर्चित सिनेम्याटोग्राफर विनोद प्रधानका भाई हुन् । उनी ३ दशकपछि नेपाली फिल्मको छायांकनमा फर्किएका छन् ।
फिल्ममा रञ्जित गजमेरको संगीत हुनेछ । रिम्पोछे लामा, थिङ एन्ड सुरेश र लामा थिङ सहनिर्माता हुनेछन् । क्रिएटिभ डिरेक्टरमा भारती घिमिरे हुनेछिन् । फिल्मको नेपाल वितरकमा ब्यांकटेस इन्टरटेनमेन्ट र अन्तर्राष्ट्रिय वितरकमा सेभेन सिज इन्टरन्यासनल हुनेछ ।
भाग्यरत्न फिल्म्सको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो । निर्देशक घिमिरे यतिबेला लोकेसन खोजीका लागि गोरखामा छन् । १४ माघदेखि छायांकन तयारी छ । आगामी सप्ताहन्तमा कलाकारको लाइनअप सार्वजनिक गर्ने तयारी छ । यो फिल्मबाट उनकी कान्छी छोरी पञ्चमीले डेब्यु गर्ने पक्का भइसकेको छ ।
फिल्मका कलाकारमा अरुण र पञ्चमीसहित मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, सुनिल थापाले साइन गरिसकेका छन् । प्रियंका कार्कीले पनि फिल्म गर्ने चर्चा छ । यो फिल्मले युवा जनशक्ति विदेश पलायन हुँदा कसरी पहाड रित्तिन्छ र यसले ल्याउने सामाजिक र आर्थिक समस्याको कथावस्तु चित्रण गर्नेछ ।
प्रतिक्रिया 4