+

एनकेएलले कबड्डीलाई व्यावसायिक बनाउने विश्वास

२०८१ माघ  १ गते २२:३६ २०८१ माघ १ गते २२:३६
एनकेएलले कबड्डीलाई व्यावसायिक बनाउने विश्वास

१ माघ, काठमाडौं । नेपाली कबड्डी इतिहासमा आगामी शुक्रबारदेखि नयाँ अध्याय सुरु हुँदैछ । कबड्डीमा नेपालमा पहिलोपटक फ्रेन्चाइज लिग आयोजना हुँदैछ ।

एस्ट्रोनिक्स म्यानेजमेन्टले फ्रेन्चाइज अवधारणामा नेपाल कबड्डी लिग (एनकेएल) आयोजना गर्दैछ । सुरूमा पुरूषको लिग हुनेछ । महिलाको पनि भविष्यमा लिग गर्ने तयारी भइरहेको छ ।

नेपालमा क्रिकेट, फुटबल र भलिबलको फ्रेन्चाइज लिग आयोजना भइसकेको छ र कबड्डी फ्रेन्चाइज लिग गर्ने चौथो खेल बन्नेछ ।

एस्ट्रोनिक्स म्यानेजमेन्टले एनकेएलका लागि अखिल नेपाल कबड्डी संघ (एन्का) सँग १० वर्षको लागि सम्झौता गरिसकेको छ । त्यसैले एनकेएललाई दीर्घकालिन सोचसहित व्यावसायिक रुपमा अघि बढाउने आयोजकको लक्ष्य छ ।

एक वर्षअघि नै कबड्डी संघ र एस्ट्रोनिक्स म्यानेजमेन्टबीच एनकेएलका लागि सम्झौता भएपनि लिगले मूर्त रूप पाउन भने लामो समय कुर्नुपर्‍यो । यसमा सोचे जस्तो सहज नभएकोले समय लागेको बेगानीले स्वीकारे । ‘सोचेको जस्तो सहज थिएन । धेरै कामहरु गरुनुपर्‍यो’ उनले भने ।

कबड्डी संघ र एस्ट्रोनिक्स म्यानेजमेन्ट मिलेर पुरूषको लिगपछि महिलाको लिग गर्ने सहमति पनि भइसकेको छ । त्यसैले अहिले कबड्डी खेलाडी र यसमा लाग्ने खेलकर्मीहरु उत्सहित छन् ।

छिमेकी भारतमा प्रो कबड्डी आयोजना हुनु, नेपालको महिला टिमले गत वर्ष चीनमा एसियाडमा डेब्यु गर्दै कांस्य पदक जित्नु र अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि नेपालले राम्रो गर्नुले पछिल्लो समय कबड्डीको चर्चा बढ्दै गरेको छ । त्यसमा एनकेएलले इँटा थप्ने विश्वास छ ।

आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमेन अमितकुमार बेगानी एनकेएललाई लिएर निक्कै उत्साहित छन् । भारतको प्रो कबड्डीकै शैली पछ्याउँदै नेपालमा पनि एनकेएल हुन लागेको हो । ‘सबै खेलको मिश्रण कबड्डीमा पाइन्छ, जुन छोटो–मीठो छ । हामीले नेपाली कबड्डीको स्तरबृद्धि गर्नपर्छ र विश्वस्तरमै पुर्याउनसक्नुपर्छ’ कुनै समय आफैँ स्क्वास खेलाडी समेत रहेका आयोजक एस्ट्रोनिक्सका चेयरमेन बेगानीले मंगलबार पत्रकारहरुसँगको कुराकानीमा भने, ‘त्यसैले एनकेएललाई स्तरीय बनाउन कुनैपनि सम्झौता नगरी लगानी गरेका छौं । यसले नेपाली कबड्डीलाई व्यावसायिक बनाउनेछ ।’

उनले आफैँ पनि ब्याडमिन्टन, टेबलटेनिस लगायत खेल खेलेका छन् र उनी आफूलाई स्पोर्ट्स लभर भन्न रुचाउँछन् ।

क्रिकेट, फुटबल र भलिबलमा राम्रो भएजस्तै कबड्डीमा पनि एनकेएलले राम्रो पहिचान बनाउने बेगानीको विश्वास छ । कबड्डीको विकाससँगै देशको पहिचान र खेलाडीको भविष्यका लागि पनि एनकेएल आयोजनामा अगाडि बढेको उनी बताउँछन् । विराटनगरका स्थानीय रहेका बेगानीले ‘बेगानी ग्रुप’को नेतृत्व समेत गरिरहेका छन् ।

एनकेएलको पहिलो संस्करणमा ३ करोडभन्दा बढी लगानी रहेको उनले बताए । पहिलो संस्करणमा नाफा कमाउने भन्दा पनि खेलको विकासमा जोड दिइएको उनले बताए ।

एनकेएलमा पहिलो संस्करणमा ६ शहरका ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । हरेक टिमले फ्रेन्चाइज फीबापत ३५ लाख रुपैयाँ बुझाउनुपर्ने बेगानीले बताए ।

पहिलो संस्करणमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गर्नेछन् ।

लिग नजिकिँदै गर्दा सहभागी टिमहरूका मालिकको नाम भने अझै सार्वजनिक भएको छैन । ‘हामी छिटै ६ वटै टिमको ‘ओनर’ को नाम सार्वजनिक गर्नेछौं’ बेगानीले मंगलबार पत्रकारहरूसँग भने । सबै टिम बिक्री गरिएको पनि उनले बताए ।

देशको तराई र पश्चिमी क्षेत्रमा लोकप्रिय रहेको खेल कबड्डीमा अनुसन्धान गरेपछि यो खेल नेपालमा सुहाँउदो भएको र खेलाडीहरु पनि धेरै रहेको बेगानीले बताए । ‘अनुसन्धान गर्दा नेपालमा २० हजार बढी कबड्डी खेलाडी पाइयो । कबड्डी काठमाडौंमा पनि खेलिन्छ, दक्षिण एसियामा भूगोल सुहाउँदो पनि छ’ बेगानीले भने, ‘भारतमा पनि क्रिकेटपछि सर्वाधिक हेरिने खेल कबड्डी नै हो । त्यसैले हाम्रा खेलाडीलाई त्यो स्तरमा पुर्‍याउने अवसर छ, जसले नेपाली टिमलाई मनैदेखि बलियो पार्न सक्छ ।’

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा माघ ४ देखि १८ गतेसम्म एनकेएल सञ्चालन हुनेछ ।

एनकेएलका लागि भारतका प्रो कबड्डीबाट नै प्राविधिक जनशक्ति ल्याएर नेपाली खेलाडी र प्राविधकलाई तयार पारिएको आयोजकले जनाएको छ । प्रो कबड्डी लिगकै प्राविधिक निर्देशक, मेन्टर र भारतीय प्रशिक्षकहरु ल्याएर अहिले एनकेएलका खेलाडीहरुलाई ट्रेनिङ दिइरहेका छन् ।

केही समयअघि सम्पन्न प्रो कबड्डीमा हरियाणा स्टिलर्सबाट उपाधि जितेका नेपाली राष्ट्रिय पुरुष कबड्डी  टिमका कप्तान घनश्याम रोका मगरसहित प्रो कबड्डी लिगका अनुभव भएका विदेशी खेलाडी एनकेएलमा देखिनेछन् ।

दुई साताअघि प्रो कबड्डीको उपाधि जितेर सेलेब्रेसनपछि भर्खरै काठमाडौं आइपुगेका घनश्याम काठमाडौँ माभरिक्सको मराकी प्लेअर छन् । ६ वटै टिममा एक-एक मार्की प्लेअर छन् ।

एनकेएलमा स्वदेशी ६६ र विदेशी १८ गरी कूल ८४ खेलाडी हुनेछन् । थाइल्यान्ड र बंगलादेशबाट ६–६, श्रीलंकाका र केन्याबाट ३–३ खेलाडी आएका छन् । हरेक टिममा १४ खेलाडी छन् ।

एनकेएल सिंगल राउण्ड रोविन लिगको आधारमा हुनेछ । जहाँ कूल १९ खेल हुनेछ । काठमाडौं माभरिक्स र पोखरा लेकर्स उद्घाटन खेलमा भिड्नेछन् । राउण्ड रोविन लिगमा कूल १५ खेल हुनेछ । त्यसपछि शीर्ष चारमा रहने टिम प्लेअफमा पुग्नेछन् । जहाँ क्वालिफाय र एलिमिनेटरको ३ खेल हुनेछ र क्वालिफायर वान र क्वालिफायर टु को विजेताबीच १८ माघमा फाइनल हुनेछ ।

एनकेएल नेपाल कबड्डी लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय