३ माघ, काठमाडौं । नेपालमा पहिलोपटक हुन लागेको फ्रेन्चाइज कबड्डी लिग केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को पहिलो संस्करण शुक्रबारदेखि सुरू हुँदै छ । दशरथ रंगशालास्थित कभर्डहलमा हुने प्रतियोगितामा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्दैछन् ।
राउन्ड रोबिन लिग र नकआउट चरणमा खेलाइने प्रतियोगिता माघ १८ गतेसम्म चल्ने छ । प्रतियोगिता सुरू हुनुअघि बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सबै टिमले च्याम्पियन बन्ने दाबी गरेका छन् ।
टिमका मार्की खेलाडी र प्रशिक्षकले राम्रो तयारी भएको र उपाधि जित्न दाबेदार रहेको बताएका थिए । मार्की खेलाडी तथा प्रशिक्षकहरूले केके भने त ?
विराटनगर ब्यान्डिट्स
विराटनगरको प्रशिक्षकमा लोकबहादुर विष्ट छन् । उनले नेपालमै यस्तो प्रतियोगिता खेल्ने मौका पाएकोमा खुसी व्यक्त गर्दै राम्रो तयारी भएको बताए ।
‘हामीसँग दुई बिदेशी खेलाडी छन्, थाइल्यान्ड र बंगलादेशका । धेरैजसो राष्ट्रिय टिमबाट खेलेका नेपाली खेलाडी छन् । विदेशी खेलाडी विश्वकप खेलेका पनि छन् । सबै राम्रो छ । फाइनलसम्म हामी जानसक्छौं भन्ने आशा राखेका छौं’ उनले भनेका छन् ।
त्यस्तै मार्की खेलाडी कल्याण भुजेलले नेपालमा राम्रा कबड्डी खेलाडीहरू भएको बताए । ‘जुन किसिमले एनकेएल ल्याएको छ, धेरै राम्रो छ, एस्ट्रोनिक्स म्यानेजमेन्टलाई धेरैधेरै धन्यवाद । हामी उत्कृष्ट गर्ने प्रयास गर्नेछौं । कहिले हामी आफ्नो खेल देखाउने भनेर उत्साहित छौं’ उनले भने ।
जनकपुर नाइट्स
जनकपुरको प्रशिक्षकमा पार्वती राई छन् । उनले एक महिनादेखि तयारी गरेको उल्लेख गर्दै भनिन्, ‘हाम्रो तर्फबाट जनकपुर नाइट्सले एकदम राम्रो तयारी गरेको छ । हामीसँग बिदेशी चार जना खेलाडी छन् । थाइल्यान्ड र श्रीलंकाका दुई–दुई खेलाडी । प्रो कबड्डी खेलेका खेलाडीको साथ छ । जनकपुरले एनपीएल क्रिकेटको उपाधि जितेको जस्तै हामी त्यसैगरी एनकेएल च्याम्पियन बन्न चाहान्छौं ।
त्यस्तै मार्की खेलाडी रामु टमाटाले टिम राम्रो भएको र कप जित्ने लक्ष्य भएको बताए ।
काठमाडौं माभरिक्स
काठमाडौंका प्रशिक्षक सरोज सिंहले टिममा प्रो कबड्डी लिग खेलेका दुई खेलाडी भएको र सबै राम्रै हुने गरी उत्कृष्ट खेल प्रदर्शन गर्ने बताए । ‘तयारी सबै राम्रो छ । थाइल्यान्डका दुई र बंगलादेशका एक खेलाडीको साथ छ । दुई खेलाडीले पीकेएल खेलेका छन्’ उनले भने ।
त्यस्तै भारतको प्रो कबड्डी लिग विजेता तथा काठमाडौंका मार्की घनश्याम रोका मगरले टिम सन्तुलित भएको र एनकेएलको उपाधि जित्न कोसिस गर्ने बताए ।
पोखरा लेकर्स
पोखराका प्रशिक्षक विष्णुदत्त भट्टले तयारी राम्रै भएको र राम्रो प्रदर्शन दिन सबै टिम लागिरहेको बताउँदै आफूहरूले सबैभन्दा राम्रो गर्ने बताए । ‘बंगबन्धु इन्टरनेसनल कप र वर्ल्ड च्याम्पियनसिपमा पदक ल्याएका हामीसँग छ । प्रो कबड्डी लिगका अनुभवी खेलाडी पनि छन् । समग्रमा हाम्रो टिम राम्रो छ’ उनले भने ।
मार्की खेलाडी प्रदीप मिजारले प्रो कबड्डी खेलेका खेलाडी र राष्ट्रिय खेलाडी पनि भएकाले पोखराको टिम राम्रो र सन्तुलित भएको बताए ।
हिमालयन रेइडर्स (बुटवल)
टिमको प्रशिक्षकमा सन्दीप पन्त छन् । ‘हामी भारतको कोहलापुरमा प्रशिक्षण गरेर चार दिनअघि नेपाल आएका हौं । हामी यहाँ अभ्यस्त भइरहेका छौं । भारतमा सिकेको सीप यहाँ देखाउन चाहान्छौं’ उनले भनेका छन् ।
मार्की खेलाडी गणेशबहादुर पार्कीले भारतको प्रो कबड्डीकै स्तरको तयारी गरेर आएको बताए । ‘धेरै म्याच प्राक्टिस पनि गरेका छौं । म्याचको परिस्थितिअनुसारको म्याच प्राक्टिस गरेका छौं । हामी उपाधि जित्न चाहान्छौं’ उनले भने ।
धनगढी वाइल्डक्याट्स
धनगढीका प्रशिक्षक महेश बोहोराले एनकेएलको आयोजनाले प्रशिक्षक र खेलाडी अति नै उत्साहित भएको बताए । ‘हाम्रो टिम सन्तुलित छ । डिफेन्स राम्रो छ । अफेन्स पनि राम्रो छ । राष्ट्रिय खेलाडी राम्रो छ । विदेशी राम्रो छ’ उनले भने, ‘हाम्रा दुई खेलाडीसँग प्रो कबड्डी लिगको अनुभव छ । खेलाडीप्रति एकदमै खुशी छु । एक महिना भयो चमतीमा ट्रेनिङ गरेको । फिटनेस र स्ट्रेन्थ ट्रेनिङ रंगशालामा गरेका छौं।’
त्यस्तै मार्की पदमबहदुर विष्टले तयारी र खेलाडीलगायत सबै राम्रो भएको र राम्रो खेलेर फाइनलसम्म पुग्ने लक्ष्य भएको बताए ।
प्रतिक्रिया 4