६ माघ, काठमाडौं । नेपाली खो खो खेलको लागि लागि आजको दिन ऐतिहासिक हुनेछ । भारतमा भइरहेको पहिलो खो खो विश्वकपमा नेपालको पुरूष र महिला दुवै टोली फाइनल पुगेको छ ।
आज पुरूष र महिला दुवै टोलीको फाइनल खेल हुँदैछ र दुवैतर्फ नेपालले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । महिलातर्फको फाइनल बेलुका ७ बजे सुरु हुनेछ । पुरुषतर्फको फाइनल त्यसलगत्तै राति ८:१५ बजे सुरु हुनेछ । दुवै खेल नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा हुनेछ ।
खो खो खेल खासै चर्चित नभएपनि अहिले भइरहेको खो खो विश्वकपबाट भने यस खेलले राम्रै चर्चा पाएको छ । पहिलोपटक विश्वकप हुँदा नै नेपालको पुरुष र महिला टोली फाइनल पुगेपछि नेपालमा पनि अहिले खो खो खेलको बारेमा चर्चा बढेको छ ।
कुनै हल्ला नगरिकन चुपचाप एक महिना क्लोज क्याम्प राखेर भारतको नयाँ दिल्ली पुगेको नेपाली खो खो टोलीले विश्वकपमा सनसनी मच्चाउँदा अहिले समग्र नेपाली खेल जगतमा खो खो खेलको पनि चर्चा धेरै छ ।
अहिलेसम्म नेपालबाट कुनै पनि खेलले विश्वकपमा यो स्तरको प्रदर्शन गरेको यो पहिलोपटक हो । नेपाल खो खो संघका अध्यक्ष प्रदिप महर्जनले यस विश्वकपबाट खो खो खेललाई चिन्ने र चिनाउने अवसर चएको बताए । फाइनल पुगेका कूल चार मध्ये तीन टोली अपराजित छन् ।
महिलातर्फ नेपाल र भारत दुव अपराजित रहँदै फाइनल पुगेका हुन् । पुरूषतर्फ भारत अपराजित रहेर फाईनल पुग्दा नेपालले भने एक खेल मात्र हारेको छ । पहिलो खेलमा भारतसँग पराजित भएपछि नेपालले त्यसयता सबै खेल जितेर फाइनलसम्म आइपुगेको हो ।
महिलातर्फ नेपाल समूह सी मा सबै चार खेल जित्दै अपराजित रहेर समूह सी को विजेताको रूपमा क्वाटरफाइनलमा प्रवेश गरेको थियो । नेपालले समूहमा पहिलो खेलमा भुटानलाई ९३-२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३-३४ ले, तेस्रो खेलमा श्रीलंकालाई ११०-१० ले र चौथो खेलमा बंगलादेशलाई ८४-२४ ले पराजित गरेको थियो ।
त्यसैगरी क्वाटरफाइनलमा इरानलाई १०३-८ अंकको अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको थियो भने सेमिफाइनलमा नेपालले युगाण्डालाई ८९-१८ ले पराजित गरेको हो ।
यसैगरी पुरुषतर्फ नेपाल समूह ए को उपविजेता बन्दै क्वाटरफाइनल पुगेको थियो । पहिलो खेलमा भारतसँग ४२-३७ अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा पेरूलाई ८०-३४ ले, तेस्रो खेलमा ब्राजिललाई १३४-८ अन्तरले र चौथो खेलमा भुटानलाई ९८-८ अन्तरले हराएको थियो ।
क्वाटरफाइनलमा नेपालले बंगलादेशलाई ६७-१८ को अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो । सेमिफाइनलमा नेपालले इरानलाई ७२-२० ले पराजित गर्दै फाइनल पुगेको हो ।
फाइनल पुगेर इतिहास रचिसकेको नेपालले अब फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै ट्रफी उचाल्ने लक्ष्य राखेको छ । फाइनल जिते नेपाली खेलकुदका लागि त्यो ऐतिहासिक क्षण हुनेछ ।
 
                    










 २०८१ माघ  ६ गते ७:४९
                        २०८१ माघ  ६ गते ७:४९                     
                         
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4