+
+

हेलिकप्टरबाट उद्धारमा सघाउन सेनासँग स्वास्थ्यमन्त्रीको आग्रह

सरकारी अस्पतालमा रहेको बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्यका लागि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले प्रस्ताव गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ८ गते १६:२५

८ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले हेलि एयर एम्बुलेन्समा सघाउन नेपाली सेनालाई आग्रह गरेका छन् । प्रहरी महानिरीक्षक तथा सैन्य अधिकारीहरूसहित सेनाद्वारा सञ्चालित स्वास्थ्यसेवाका प्रमुखहरूसँगको बैठकमा मन्त्री पौडेलले यस्तो आग्रह गरेका हुन् ।

आपतकालीन अवस्थाका गर्भवतीको सुत्केरी सेवाका लागि सेनाले थालेको उद्दारका लागि प्रशंसा गर्दै अन्य नागरिकको उद्धारका लागि पनि सघाइदिन आग्रह गरे । एयर एम्बुलेन्स नभएकाले अन्य नागरिकको उद्धारका लागि पनि सघाउन नेपाली सेनालाई मन्त्री पौडेलले आग्रह गरेका हुन् ।

‘एयर एम्बुलेन्सका लागि सेनासँग कसरी सहकार्य गर्न सकिन्छ, हामी खुला छौं,’ उनले भने, ‘यसबाट उपचार र उद्धार अभावमा अप्ठेरोमा परेकाको ज्यान बचाउन सकिन्छ कि भन्ने हाम्रो अभिप्राय हो ।’

उनले सरकारी अस्पतालमा पालो कुर्न पर्ने अवस्थामा रहेका विरामीलाई सुरक्षा निकायका अस्पतालमा अपरेशन वार्ड खाली भएमा सेवा उपलब्ध गराउने गरी सहकार्य गर्न पनि प्रस्ताव गरेका छन् ।

‘संघीय अस्पतालहरूमा सिफ्ट थप्ने तथा अतिरिक्त समयमा पनि काम गरेर बिरामीको चाप व्यवस्थापनमा काम भइरहेको छ,’ मन्त्री पौडेलले भने, ‘सरकारीमा चाप भएका बेला सुरक्षा निकायका अस्पतालमा रेफर गरेर कसरी उपचार दिन सकिन्छ, साथ दिनुहोला ।’

छलफलका क्रममा मन्त्री पौडेलले आम नागरिकका लागि खुला नभएका सेवासमेत अन्य सरकारीसरह सरकारी दररेटमा उपलब्ध गराउन सकिने गरी कसरी काम गर्न सकिन्छ भनेर समेत सुझाव माग गरेका थिए ।

गर्भवतीको सुत्केरी सेवाका लागि सेनाले उद्धार गरेजस्तै अन्य विरामीको पनि उद्धार गरेर सघाउन स्वास्थ्यमन्त्रीले आग्रह गरेका हुन् ।

मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमसमेत सुरक्षा निकायका अस्पतालमा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे पनि छलफल गरेका थिए ।

मन्त्री पौडेलको सचिवालयका अनुसार गत साता सुरक्षा निकायका अस्पतालसँग सहकार्य गरेर मन्त्रालयका उपचार सहायता पनि उपलब्ध गराउने तथा सरकारी अस्पतालमा भएको चाप व्यवस्थापनमा अपनाउन सकिने खाका तयार पार्न अतिरिक्त सचिव डा. टंक बारकोटीको नेतृत्वमा कार्यदल बनाएका थिए । यसै सन्दर्भमा उनले सुरक्षा निकायका अधिकारीसँग मन्त्रालयमा बैठक गरेका हुन् । बैठकमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त कुँवर तथा सेनाका उच्च अधिकारीहरू सहभागी थिए ।

सर्पदंसको उपचारमा सहकार्य प्रस्ताव

मन्त्री पौडेलले तराईमा सर्पदंशको उपचारमा सेनाले सघाइरहेको भन्दै प्रशंसा पनि गरे । उनले सेनाको विज्ञता मन्त्रालयसँग पनि सहकार्य गर्न सक्ने ढाँचामा काम गर्न तयार रहेको बताए । ‘तपाईंहरूले सर्पदंशका धेरै बिरामीको उपचार गरिरहनुभएको छ,’ उनले भने, ‘हाम्रा जनशक्ति अभाव भएका स्थानमा सहकार्य गर्न सकिन्छ भने आवश्यक व्यवस्थाका लागि हामी तयार छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?