काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सरकारी लगानीका सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालहरुसँग सहकार्य प्रस्ताव गरेका छन् ।
प्रहरी महानिरीक्षक तथा सैन्य अधिकारीहरुसहित सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाका प्रमुखहरुसँगको बैठकमा मन्त्री पौडेलले सरकारी अस्पतालमा पालो कुर्नुपर्ने अवस्थामा सुरक्षा निकायका अस्पतालमा अपरेसन वार्ड खाली भएमा सेवा उपलब्ध गराउने गरी सहकार्य गर्न प्रस्ताव गरे ।
संघीय अस्पतालहरुमा सिफ्ट थप्ने तथा अतिरिक्त समयमा पनि काम गरेर बिरामीको चाप व्यवस्थापनमा काम भइरहेको छ,’ मन्त्री पौडेलले भने, सरकारीमा चाप भएका बेला सुरक्षा निकायका अस्पतालमा रेफर गरेर कसरी उपचार दिन सकिन्छ, साथ दिनुहोला ।’
मन्त्री पौडेलले आम नागरिकका लागि खुला नभएका सेवा समेत अन्य सरकारीसरह सरकारी दररेटमा उपलब्ध गराउन सकिने गरी कसरी काम गर्न सकिन्छ भनेर समेत सुझाव मागेका थिए । उनले स्वास्थ्य बीमा कार्यक्रमसमेत सुरक्षा निकायका अस्पतालमा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे सुझाव दिन आग्रह गरे ।
मन्त्री पौडेलले गत साता सुरक्षा निकायका अस्पतालसँग सहकार्य गरेर मन्त्रालयका उपचार सहायता पनि उपलब्ध गराउने तथा सरकारी अस्पतालमा भएको चाप व्यवस्थापनमा अपनाउन सकिने खाका तयार पार्न अतिरिक्त सचिव डा. टंक बाराकोटीको नेतृत्वमा कार्यदल बनाएका थिए ।
बैठकमा प्रहरी महानिरीक्षक बसन्त कुँवर र नेपाली सेनाका उच्च अधिकारीहरु सहभागी थिए ।
एयर एम्बुलेन्स र सर्पदंश उपचारका लागि सेनासँग सहकार्य प्रस्ताव
मन्त्री पौडेलले नेपाली सेनाले आपतकालीन अवस्थाका गर्भवतीको सुत्केरी सेवाका लागि सेनाले थालेको उद्धारका लागि प्रशंसा गरे ।
‘एयर एम्बुलेन्सका लागि सेनासँग कसरी सहकार्य गर्न सकिन्छ, हामी खुला छौं,’ उनले भने, ‘यसबाट उपचार र उद्धार अभावमा अप्ठेरोमा परेकाको ज्यान बचाउन सकिन्छ कि भन्ने हाम्रो अभिप्राय हो ।’
मन्त्री पौडेलले तराईमा सर्पदंशको उपचारमा सेनाले सघाइरहेको भन्दै प्रशंसा गरे । उनले सेनाको विज्ञता मन्त्रालयसँग पनि सहकार्य गर्न सक्ने ढाँचामा काम गर्न तयार रहेको बताए ।
प्रतिक्रिया 4