
८ माघ, काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले मुद्दा चलाउने प्रक्रियामा महान्यायाधिवक्ताको कार्यालयमाथि प्रधानमन्त्रीको हस्तक्षेप नरहेको दाबी गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा संसदीय मामिला समितिमा बोल्दै उनले यस्तो बताएका हुन् । आफू नियुक्त भएदेखि मुद्दा चलाउनू वा नचलाउनू भनेर अहिलेसम्म प्रधानमन्त्रीले अनुरोध नगरेको पनि उनले बताए ।
‘म प्रधानमन्त्रीबाट नियुक्त व्यक्ति हो । तर म आजका दिनसम्म के भन्छु भने, कुनै मुद्दा चलाउनू या नचलाउनू भनेर प्रधानमन्त्रीले मलाई कुनै अनुरोध गर्नु भएको छैन,’ बडालले भने ।
आजसम्म मुद्दा चलाउने र नचलाउने निर्णय भएका सम्पूर्ण प्रक्रियाको जिम्मेवार आफू र महान्यायाधिवक्ताको कार्यालय भएको उनको भनाइ थियो । यद्यपि अन्य राजनीतिक दलका नेताहरूले महान्यायाधिवक्ताको कार्यालयलाई प्रभावमा पार्न खोज्ने गरेको उनले बताए ।
‘म त दावाका साथ भन्छु । म नियुक्ती भएदेखि आजका दिनसम्म कुनैपनि मुद्दा चलाइए वा चलाइएनन् । त्यसको जिम्मेवारी मेरो र मेरो कार्यालयको हो । यसमा कुनैपनि दबाब छैन,’ महान्यायाधिवक्ता बडालले भने ।
मुद्दा चलाउने निर्णय भएका विषयमा राजनीत दलका नेताहरूले प्रभाव पार्न खोज्ने गरेको भएपनि आफूले कानुनको परिधिमा रहेर निर्णय लिने गरेको उनले जिकिर गरे ।
‘हो राजनीतकि दलका अन्य नेताहरूले भन्नुहुन्छ । विभिन्न राजनीतिक दलका नेताहरू आएर हामीलाई भन्नुहुन्छ । कहिलेकाँही हाँसेर हामी भनिरहेका हुन्छौं । तर उहाँहरूले भन्नु भएको कुरालाई हामीले कानुनको परिधिभित्र रहेर हेर्ने गर्छौं, कानुनको परिधिबाहिर गएर हेर्न मिल्दैन,’ उनले भने ।
साथै, उनले फौजदारी कार्यविधि संहिता संशोधन गरिरहेको उल्लेख गर्दै बिगो निर्धारणलाई वैज्ञानिक बनाउने पनि बताए । बिगोसम्बन्धी कानुनमा केही पनि उल्लेख नगरिएको उल्लेख गर्दै कार्यदलले दिएको सुझावका आधारमा ऐन बनाउनुपर्ने बताए ।
प्रतिक्रिया 4