+
+

भण्डारी भए सशस्त्रको वर्ष जवान, सगरमाथा आरोही नेपाली पनि सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ९ गते ८:३१
सशस्त्र प्रहरीका वर्ष जवान २०८१ घोषित किरण भण्डारी र नेपाल प्रहरीका पहिलो सगरमाथा आरोही पुरुषोत्तम नेपाली ।

९ माघ, काठमाडौं । सशस्त्र प्रहरीको २४ औं स्थापनाको दिवसको अवसरमा सशस्त्र र नेपाल प्रहरीका सगरमाथा आरोहीदेखि कलाकारसम्म सम्मानित भएका छन् ।

सशस्त्र प्रहरीबाट पहिलोपटक सगरमाथा आरोहण गरेका प्रहरी निरीक्षक सुरज पौडेल र नेपाल प्रहरीबाट पहिलोपटक सगरमाथा आरोहण गरेका वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) पुरुषोत्तम नेपाली सम्मानित भए । नेपालीलाई यसअघि अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले समेत सम्मान गरेको थियो ।

महानिरीक्षक राजु अर्यालले सगरमाथा आरोहीलाई ‘आईजी एपीएफ कमेन्डेसन’ अवार्ड प्रदान गरे ।

भण्डारी भए वर्ष जवान

कार्यक्रममा ‘वर्ष जवान–२०८१’ बाट सशस्त्र प्रहरी सहायक हबल्दार किरण बहादुर भण्डारी सम्मानित भए । उनी सशस्त्र प्रहरी बल नेपाल नं. ३३ त्रियुगा गण जुम्ला दरबन्दी भई ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत छन् ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट भएको केन्द्रीय निरीक्षणका क्रममा देशभरका इकाइहरुबाट यस वर्ष सर्वोत्कृष्ट इकाइ हुन सफल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, २१ नम्बर दक्षिणकाली गण ललितपुर, ३० नम्बर गुल्म स्याङ्गजा र मद्दत तथा सेवा गुल्म मकवानपुरले ‘रनिङ्ग अवार्ड’ पाए ।

रिजाललाई  ‘बेस्ट इन्टिग्रिटी अफिसर अवार्ड’

‘बेस्ट इन्टिग्रिटी अफिसर अवार्ड’बाट प्रस्तावित सीमा सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजाल सम्मानित भए । चोरी निकासी पैठारी, लागूऔषध ओसारपसारमा लगायतका सीमा अपराधहरु नियन्त्रणमा उल्लेखनीय कार्य गर्न सफल भएको भन्दै उनलाई सो अवार्ड प्रदान गरिएको हो ।

कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण गरेका सशस्त्र प्रहरी उपरीक्षक स्व. सुमन थपलियाको स्मृतिमा अक्षय कोष खडा गरी सो बापत प्राप्त हुने ब्याजबाट प्रत्येक वर्ष एक जनालाई वार्षिक २५ हजार रुपैयाँ राशीको ‘बेस्ट इन्टिग्रिटी अफिसर अवार्ड’बाट सम्मान गरिन्छ ।

यसैगरी उत्कृष्ट फायरर सशस्त्र प्रहरी नायव उपरीक्षक आनन्द खनालसहित चार जना कर्मचारीहरु समेत सोही अवसरमा पुरस्कृत भएका छन् ।

यसैगरी सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश गैरेले एपीएफ कला, साहित्य सम्मान पाए ।

सहप्रवक्ता डिएसपी थापा तेश्रो पटक पुरस्कृत

यसैगरी सहप्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापा एपीएफ दिवसको अवसरमा तेश्रो पटक पुरस्कृत भए । यसअघि २०औं र २१औं सशस्त्र प्रहरी दिवसमा समेत उत्कृष्ट कार्य गरे वापत डिएसपी थापा पुरस्कृत भएका थिए । २४औं सशस्त्र प्रहरी दिवसमा डिएसपी थापा ‘आईजी एपीएफ कमेन्डेसन’बाट पुरस्कृत भएका छन् ।

सशस्त्र मुख्यालयमा आयोजित विशेष समारोहमा महानिरीक्षक अर्यालले कर्तव्य पालनाको सिलसिलमा साहसिक कार्य गर्ने दुई जना सशस्त्र प्रहरी कर्मचारीसहित खेलाडी र कलाकार गरी १८ जना विशेष बढुवा भएकाहरुमध्ये दुई जनालाई दर्ज्यानी चिह्न समेत प्रदान गरेका थिए ।

कर्तव्य पालनाको सिलसिलामा दिवंगत तीन जना अधिकृतहरुका पत्नीहरुलाई आर्थिक सहायता उपलब्ध गराउने उद्देश्यले स्थापित विपद् प्रकोप राहत कोषबाट उपलब्ध सहायता रकम हस्तान्तरण पनि गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?