
९ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार विभेदविरुद्ध सञ्चालन गरिने ‘विविधता, समानता र समावेशी कार्यक्रम (डीईआई)’ खारेज गर्न आदेश दिएका छन् ।
योसँगै उनले यो कार्यक्रमसँग जोडिएका सबै कर्मचारीलाई तलब दिएर छुट्टीमा पठाएका छन् । ट्रम्पले उनीहरूलाई जागिरबाट निकाल्ने तयारी पनि सुरु गरेका अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् ।
रोयटर्सका अनुसार यस कार्यक्रमको उद्देश्य महिला, अश्वेत, अल्पसंख्यक, यौनिक तथा अल्पसंख्यक समुदाय र अन्य कम प्रतिनिधित्व भएका समूहहरूका लागि अवसरहरू प्रवर्द्धन गर्नु थियो ।
ट्रम्पको यो निर्णयले भेदभाव र पूर्वाग्रह विरुद्धको अभियानमा चुनौती थपिएको विश्लेषण गरिएको छ ।
शपथ ग्रहण समारोहमा ट्रम्पले अब अमेरिकामा महिला र पुरुष मात्र रहने अभिव्यक्ति दिएका थिए ।
डीईआई अन्तर्गत अमेरिका न्याय विभागले निजी कम्पनीहरूको पनि जाँच गर्न सक्थ्यो। यसमा कम्पनीहरूले भर्ती प्रक्रियामा कुनै भेदभाव नगरेको सुनिश्चित गर्ने काम गर्दै आएको थियो ।
अमेरिकामा कतिपयले डीईआई कार्यक्रमले गोरा मानिसहरूप्रति भेदभाव गरिरहेको आलोचना गर्दै आएका थिए । ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा डीईआई कार्यक्रम खारेज गर्ने वाचा गरेका थिए ।
उनले निजी क्षेत्रलाई पनि विभिन्न समूहका मानिसहरूलाई ध्यानमा राखेर गरिएको भर्ती प्रक्रिया बारे पुनः समीक्षा गर्न दबाब दिइरहेका छन् ।
लेबर डिपार्टमेन्टका अनुसार, ट्रम्पले सन् १९६५ मा लिंडन बी जोनसनद्वारा जारी गरिएको आदेशलाई पनि रद्द गरेका छन्। सो आदेशमा संघीय ठेक्काहरूमा जाति, रंग, धर्म, लिङ्ग र राष्ट्रियताका आधारमा कुनै भेदभाव नगर्ने भनिएको थियो।
प्रतिक्रिया 4