१० माघ, काठमाडौं । मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप २०२५ को समूह चरणबाट अगाडि बढ्न नसकेको नेपालले बिहीबार प्लेअफ खेलमा मलेसियासँग खेल्दै छ ।
मलेसियाको जोहोरस्थित जोहोर एकेडेमी क्रिकेट ओभलमा शुक्रबार दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि खेल सुरू हुनेछ । मलेसिया समूह ए को तथा नेपाल समूह डी को चौथो स्थानका रूपमा प्लेअफमा प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपालको कप्तानमा पुजा महतो तथा मलेसियाको कप्तानमा नुर दानिया सुहादा छन् ।
१६ टोली सम्मिलित विश्वकपमा समूह डी मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै रहेको नेपालले पहिलो खेलमा बंगलादेशसँग ५२ रनमा अलआउट हुँदै ५ विकेटको हार व्यहोरेको थियो भने दोस्रो खेलमा स्कटल्याण्डसँग ७३ रनमा अलआउट हुँदै १ विकेटको क्लोज हार व्यहोरेको थियो । तेस्रो खेलमा अस्ट्रेलियाविरूद्ध नेपाल ८३ रनले पराजित भएको थियो ।
मलेसियाले भारतसँग ३१ रनमा अलआउट हुँदै १० विकेटको हार व्यहोरेको थियो, दोस्रो खेलमा श्रीलंकासँग २३ रनमा अलआउट हुँदै १३९ रनको हार व्यहोरेको थियो भने तेस्रो खेलमा वेस्ट इन्डिजसँग ५३ रनको हार व्यहोरेको थियो ।
समूह चरणको प्रदर्शन हेर्दा नेपालभन्दा मलेसियाको प्रदर्शन धेरै नै कमजोर देखिएको छ । त्यसकारण नेपाली टोली घर फर्कनुअघि मलेसियामाथि जित निकाल्दै सान्त्वना जित र १३औं स्थानमा फिनिस गर्न चाहनेछ ।
पहिलोपटक विश्वकप खेलेको मलेसिया आयोजक टोली भएकाले सिधै विश्वकपमा स्थान बनाएको थियो । नेपालले एसिया छनोट जितेर विश्वकपमा प्रवेश गरेको थियो ।
अर्को प्लेअफ खेलमा पाकिस्तान र सामोआ खेल्ने छन् । दुई खेलपछि रनरेटका आधारमा टिमहरू १३औं देखि १६औं स्थान हासिल गर्ने छन् । हालको अवस्थामा नेटरनरेटमा नेपाल सबैभन्दा अगाडि छ ।
नेपालले मलेसिया र पाकिस्तानले सामोआलाई हराएमा नेपाल र पाकिस्तानमध्ये एक टोली १३औं वा १४औं हुनेछन् ।
मौसम र पिच
यस खेल हुने मैदान नेपालले समूह चरणमा खेलेकाभन्दा फरक हो । जोहोरमा हुने खेलअघि मौसम भने त्यति राम्रो छैन । यस मैदानमा यसअघिका खेलहरू पनि कुनै रद्द हुँदा कुनै ओभर छोट्याइएको थियो ।
जोहोरको आकाश शुक्रबार बादलले अधिकांश समय ढाकिने पुर्वानुमान छ । वर्षाको सम्भावना पनि देखिएको छ ।
यस मैदानमा यसअघि भएका खेलहरूमा राम्रै स्कोर बनेको छ । अमेरिकाले इंग्ल्याण्डिरूद्ध ११९ रन बनाउँदा इंग्ल्याण्डले १५औं ओभरमा लक्ष्य पूरा गरेको थियो । टस जित्ने कप्तानले बलिङ रोजेर लक्ष्य पूरा गर्न ठीक मान्ने अनुमान छ ।
टिममा केही परिवर्तन
नेपाल समूह चरणबाट बाहिरिसकेकाले यस प्लेअफ खेलका लागि केही परिवर्तन गर्न सक्छ । समूह चरणमा मौका नपाएका स्नेहा महरा र कुसुम गोदारलाई नेपालले मौका दिने सम्भावना छ ।
त्यस्तै उपकप्तान सोनी पाख्रिनले पहिलो खेल मात्र खेलेकी थिइन् । उनलाई यस खेलमा मौका दिन सकिनेछ भने बाँयाहाते ब्याटर किरण कुँवर पनि यस खेलका लागि टिममा आउन सक्छिन् ।
नेपाल, मलेसिया र सामोआलाई अनुभव
पहिलोपटक विश्वकप खेलेका नेपाल, मलेसिया, नाइजेरिया र सामोआमध्ये नाइजेरिया सुपर सिक्समा पुग्दा नेपाल, सामोआ र मलेसियालाई यस विश्वकपमा अनुभव बटुल्ने अवसर रह्यो ।
नेपालले अस्ट्रेलिया र बंगलादेश, सामोआले दक्षिण अफ्रिका र न्युजिल्याण्ड तथा मलेसियाले भारत, वेस्ट इन्डिज र श्रीलंकाजस्ता टेस्ट राष्ट्रसँग खेल्ने अवसर पाए ।
समूह चरणमा जितविहीन रहेका सबै टोलीलाई घर फर्कनुअघि अब सान्त्वना जित निकाल्ने अवसर छ ।
खेल : नेपाल विरूद्ध मलेसिया, आईसीसी यू-१९ महिला टी२० विश्वकप (प्लेअफ)
मिति र समय : २४ जनवरी २०२५ (२०८१ माघ ११), १२:१५ बजे (नेपाली समय)
स्थान : जोहोर एकेडेमी ओभल, जोहोर, मलेसिया
मौसम : बादलले ढाकिएको आकाश, वर्षाको सम्भावना
 
                    










 २०८१ माघ  १० गते १८:३१
                        २०८१ माघ  १० गते १८:३१                     
                         
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4