१० माघ, काठमाडौं । भिनसेन्जो अल्बर्टो एनेसको बहिर्गमनपछि नेपाली फुटबल टिम मुख्य प्रशिक्षकविहीन छ । विदेशी प्रशिक्षक नहुँदा नेपालले नविन न्यौपानेको प्रशिक्षणमा ताजिकिस्तान गएर घरेलु टोली र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।
पछिल्लो समय नेपालको खेल तालिका पनि नभएको राष्ट्रिय फुटबल टिम मुख्य प्रशिक्षकविहीन नै बनेको हो । अखिल नेपाल फुटबल संघ एन्फाले न्यौपानेलाई दुई खेलको लागि अन्तरिम प्रशिक्षक बनाएको थियो ।
गत भदौमा एन्फाले इटालियन एनेसलाई मुख्य प्रशिक्षकमा निरन्तरता नदिने निर्णय गरेपछि नयाँ प्रशिक्षकको खोजी सुरु भएको थियो । अब एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेल नजिकिँदै जाँदा एन्फाले नयाँ प्रशिक्षक नियुक्त गर्ने तयारी गरिरहेको छ ।
त्यसमा सबैभन्दा अगाडि रहेको नाम अष्ट्रेलियन म्याट रोसको हो । रोस नै अहिले नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक बन्ने चर्चामा छन् । यो किन पनि भने उनी बिहीबारदेखि सुरु भएको सभापति कप फुटबलअन्तर्गत चर्च ब्वाइज युनाइटेड र संकटा एफसीबीचको खेल हेर्न दशरथ रंगशालमा उपस्थित थिए । त्यसैले पनि रोस नै नेपालको नयाँ प्रशिक्षक बन्ने चर्चामा बल पुगेको हो ।
तर एन्फाले भने यस विषयमा कुनै आधिकारिक निर्णय सार्वजनिक गरेको छैन । यसबारे सोध्दा एन्फा महासचिव किरण राईले छलफल चलिरहेको तर टुङ्गो नलागेको जानकारी दिए । ‘प्राविधिक समितिले सर्ट लिस्ट कोचहरुको अन्तर्वार्ता सकिसकेको छ । मुख्य प्रशिक्षक नियुक्तिबारे छलफल चलिरहेको छ, टुङ्गो लागेको छैन’ महासचिव राईले भने, ‘हामी छिट्टै सार्वजिक रुपमै घोषणा गर्नेछौं ।’
एन्फाले आधिकारिक रुपमा जानकारी नगराए पनि एन्फाभित्रैबाट ‘रोस नै प्रशिक्षक बन्ने’ भन्ने चर्चाहरू बाहिर आइरहेको छ । जे होस छिट्टै नेपालको पुरूष टिमले नयाँ प्रशिक्षक पाउने भने पक्का छ ।
यद्यपी रोसले अहिलेसम्म महिला टिमको प्रशिक्षण मात्र सम्हालेकोले पुरुष टिमको प्रशिक्षक बनाउन उचित नहुने चर्चा पनि छ । उनी नेपालको प्रशिक्षक नियुक्त भएमा पहिलो पटक पुरूष टिमको प्रशिक्षक बन्नेछन् ।
४०० जनाभन्दा बढीको आवेदन
एन्फाले नयाँ प्रशिक्षक नियुक्तिका लागि गत भदौ अन्तिममै दरखास्त आह्वान गरेको थियो । जसमा ५ देखि १० वर्षको प्रशिक्षण अनुभव भएका, प्रो–लाइसेन्स प्राप्त भएको प्रशिक्षकले आवेदन दिन सक्ने उल्लेख थियो । त्यसै अनुसार विश्वभरका ४०० भन्दा बढी प्रशिक्षकहरूले नेपालको मुख्य प्रशिक्षकका लागि निवेदन हालेका थिए ।
जसमा नेपालको राष्ट्रिय प्रशिक्षक बनिसकेका, भुटानका मुख्य प्रशिक्षक रहिसकेका, ललितपुर सिटीलाई नेपाल सुपर लिग जिताएकादेखि यूरोपका हाई प्रोफाइल कोचहरु समेत थिए ।
त्यसबाट प्राविधिक समितिले सुरुमा २० जनाको नाम सर्ट लिस्ट गरेको थियो । त्यसपछि त्यसलाई १० मा झार्दै अन्तिममा ५ जनाको नाम अन्तर्वार्ताको लागि सर्टलिस्ट गरिएको हो । अन्तर्वार्तापछि ती प्रशिक्षकहरुको बारेमा प्राविधिक समितिले एन्फाको सचिवालयलाई सबै विषयमा जानकारी गराएको थियो ।
त्यही ५ मध्येबाट एक जना नेपालको मुख्य प्रशिक्षक बन्नेछन् । जसमा रोससहित अन्य नामहरु पनि थिए । एन्फाले ती नामहरू भने सार्वजनिक गरेको छैन । तर ५ जनामा २ जना प्रशिक्षकहरु भने अन्य स्थानमा आबद्ध भइसकेकोले ३ जनाको मात्र अन्तर्वार्ता लिइएको थियो ।
त्यसमा केही ‘हाई प्रोफाइल’ नामहरु पनि थिए । जसको अपेक्षा पनि धेरै भएकोले एन्फाले उनीहरुको पारिश्रमिक दिन सक्ने अवस्था नभएको एन्फा स्रोतले जनायो । त्यसैले आफ्नो क्षमताअनुसार धान्ने प्रशिक्षकलाई एन्फाले ल्याउन लागेको हो ।
को हुन् म्याट रोस?
अस्ट्रेलियन नागरिक म्याट रोस इंग्ल्याण्डको न्युक्यासलमा जन्मिएका हुन् । ४७ वर्षीय रोस ‘यूईएफए प्रो लाइसेन्स’ मान्यता भएका प्रशिक्षक हुन् । पछिल्लोपटक उनले दक्षिण कोरियाको महिला टोलीको सहायक प्रशिक्षक बनेर काम गरेका थिए ।
उनी सन् २०२० देखि २०२३ सम्म कोरियाको सहायक प्रशिक्षक थिए । यस्तै रोसले स्वीडिस महिला शीर्ष डिभिजन क्लब भिन्सो जियाकेको पनि प्रशिक्षक भएर काम गरेका थिए ।
उनी सहायक प्रशिक्षक रहँदा दक्षिण कोरियाको महिला टोलीले सन् २०२२ को एएफसी एसियन कपको फाइनलमा स्थान बनाएको थियो । तर फाइनलमा कोरिया चीनसँग ३-२ ले पराजित हुँदै उपविजेता बनेको थियो ।
त्यसअघि उनले चीनको यू-१५ राष्ट्रिय महिला टोलीको प्रशिक्षकको रुपमा काम गरेका थिए । चीन छाडेर उनी कोरिया पुगेका थिए ।
रोसले सुरूमा केही समय एम्याचोर फुटबल खेले । त्यसपछि उनले रेफ्री बन्ने प्रयास पनि गरे । त्यसपछि उनी शिक्षक पनि बने । तर फुटबलबाट टाढिन सकेनन् ।
२८ वर्षको हुँदा उनले फेरि खेल्ने प्रयास गरेका थिए । तर अर्को वर्ष उनी फुटबल फेडेरेसन नर्दन टेरीटोरीको प्रशिक्षकको रुपमा काम गर्न थाले । डार्विनमा ५ वर्ष कोचिङ काम गरेपछि उनले अष्ट्रेलियामा करियर देखेनन् र जर्मनी लागे ।
सुरुमा उनी आफ्नो फुटबलको ज्ञान विकास गर्न यूरोप लागेका थिए तर पछि उनले यसमै आफ्नो भविष्य खोज्ने सोच बनाए । उनी आफ्नी श्रीमतीसँगै जर्मनी पुगेका थिए । सुरुमा उनले जर्मनीमा भिडियो एनालिस्टको रुपमा काम गर्न थाले ।
जर्मनीको फ्रान्कफर्ट महिला टिमको भिडियो एनालिस्ट हुँदै कार्यवाहक प्रशिक्षकदेखि उनी मुख्य प्रशिक्षक सम्म बने । उनी प्रशिक्षक रहँदा सन् २०१५ मा फ्रान्कफर्टले यूईएफए वुमन्स च्याम्पियन्स लिगको उपाधि समेत जितेको थियो । त्यसपछि उनी मुख्य प्रशिक्षक नै बने ।
त्यसपछि उनले यूईएफएको लाइसेन्स लिए । उनले दुई वर्ष फ्रान्कफर्टको मुख्य प्रशिक्षक भएर काम पनि गरे । क्लबबाट बहिर्गमनपछि उनले सन् २०१७ मा स्वीडिस क्लब भिट्जो जीआईकेको प्रशिक्षक बने ।
स्वीडेनमा एक सिजन बिताएपछि उनलाई चीनबाट प्रस्ताव आयो । जसलाई उनले नकार्न सकेनन् अनि चीन आए । चीनबाट दक्षिण कोरिया पुगेका थिए ।
किन चाहिन्छ प्रो लाइसेन्स प्रशिक्षक ?
नेपालमा हाल एकजना पनि प्रो लाइसेन्स प्राप्त प्रशिक्षक छैनन् । एएफसी एसियन कप विश्वकप छनोटजस्ता ठूला खेल खेल्दा नेपालले प्रो लाइसेन्स प्राप्त प्रशिक्षक नै टिममा राख्नुपर्छ । तर नेपालमा यस्तो खालको प्रशिक्षक नभएपछि ठूला खेलका लागि विदेशी प्रशिक्षकमै भर पर्नुपर्ने बाध्यता छ ।
एन्फाले लामो समयदेखि नेपालमै प्रो लाइसेन्स प्रशिक्षक उत्पादन गर्ने भनेर भन्दै आएपनि त्यो गफमै सीमित बनेको छ । जब ठूला खेल खेल्नुपर्छ अनी मात्र एन्फा विदेशी प्रशिक्षक खोज्न थाल्छ । आगामी मार्च देखि हुने एएफसी एसियन छनोटको तेस्रो चरणको खेलका लागि पनि प्रो लाइसेन्स प्रशिक्षक आवश्यक पर्ने भएकोले एन्फाले अहिले प्रो लाइसेन्स भएको विदेशी प्रशिक्षक ल्याउन लागेको हो ।
सन् २०२७ मा साउदी अरेबियामा हुने एएफसी एसियन कप छनोट तेस्रो चरणमा नेपाल समूह एफमा छ । नेपाल यस समूहमा भियतनाम, मलेसिया र लाओससँग होम एण्ड अवेका आधारमा खेल्नेछ ।
जसअन्तर्गत नेपालले २५ मार्चमा घरेलु मैदानमै मलेसियासँग पहिलो होम म्याच खेल्ने तालिका छ । तर अहिलेसम्म त्यो खेल दशरथ रंगशालमा हुने/नहुने टुङ्गो छैन ।
त्यसपछि नेपालले आगामी १० जुनमा लाओससँग अवे म्याच, ९ अक्टोबरमा भियतनामसँग अवे म्याच, १४ अक्टोबरमा भियतनामसँगै होम म्याच, १८ नोभेम्बरमा मलेसियासँग अवे म्याच र अर्को वर्ष ३१ मार्चमा लाओससँग होम म्याच खेल्ने तालिका छ ।
यस समूहको विजेता मात्र एसियन कपमा छनोट हुनेछ ।
प्रतिक्रिया 4