१० माघ, काठमाडौं । जनकपुर नाइट्स र काठमाडौं माभरिक्सले नेपाल कबड्डी लिग (एनकेएल) मा उत्कृष्ट प्रदर्शन कायमै राखेका छन् ।
बिहीबार जनकपुर र काठमाडौंले जित हात पार्दै आफ्नो रवाफ देखाएका छन् । लिगमा एक्लो अपराजित टिम जनकपुरको यो लगातार चौथो जित हो र काठमाडौंको तेस्रो जित हो ।
बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा जनकपुरले पोखरा लेकर्सलाई ३६-२९ ले हरायो । लगातार चार जितपछि २० अंक जोडेर जनकपुर शीर्ष स्थानमा फर्किएको हो । चार खेल खेल्दा चारै खेलमा पराजित भएको पोखरा ४ अंक मात्र जोडेर पूछारमा छ ।
७ वा त्यो भन्दा कम अंकको अन्तरमा पराजित भएमा हार्ने टोलीले पनि १ अंक पाउँछ । पोखराले चारै खेल कम अन्तरमा हार्दा उसले हरेक खेलमा समान १ अंक जोडेको हो ।
त्यसअघि काठमाडौंले धनगढी वाइल्डक्याट्सलाई ५१-३६ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएपनि त्यो लामो समय टिक्न सकेन । चार खेलमा ३ जित र १ हारको नतिजाबाट १६ अंक जोडेको काठमाडौं दोस्रो स्थानमा छ । तेस्रो हार व्यहोरेको धनगढी ४ खेलबाट ६ अंकसहित चौथो स्थानमा छ ।
प्रतिक्रिया 4