आफन्त, साथीभाइ वा चिनेजानेका कोही बिरामी भएमा ‘भेट्न जाने’ प्रचलन छ । यसरी हितैषी वा इष्टमित्रहरू भेट्न आउँदा बिरामीलाई पनि ढाडस मिल्छ । सान्तवना मिल्छ । कतिपय अवस्थामा आर्थिक, भौतिक सर-सहयोग मिल्न सक्छ ।
त्यसैले बिरामी भेट्न जाने प्रचलन आफैंमा नराम्रो होइन । तर, औपचारिकता मात्र पूरा गर्न बिरामी भेट्न जाने प्रवृत्ति व्यापक छ । यसरी बिरामी भेट्न जाँदा कतिपयले बिरामीको संवेदनशीलता ख्याल नगर्ने, रोगको बारेमा अनेक प्रश्न गर्ने, अर्ती दिने, हो–हल्ला गर्ने जस्ता गल्ती गरिरहेका हुन्छन् । यसले बिरामीलाई सान्तवना होइन, थप पीडामा पार्न सक्छ । आज अरु कोही बिरामी छन्, भोलि हामी त्यो अवस्थामा पुग्नसक्छौं । त्यसैले बिरामी भेट्न जाँदा के गर्ने, के गर्ने ? ख्याल गर्नैपर्छ ।
१. थप सङ्क्रमणको जोखिम नबढाउने
अस्पतालमा भर्ना भएका बिरामीलाई भेट्न जाँदा उसलाई सान्त्वना त मिल्ला तर साथमा अन्य समस्या थप्दिन पनि सक्छन् । उदाहरणका लागि क्यान्सरजस्तो गम्भीर प्रकृतिको रोग लागेको बिरामी भेट्न जाँदा विशेष ध्यान दिनुपर्ने क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही बताउँछन् । ‘क्यान्सरका बिरामीहरूको रोग प्रतिरोधात्मक क्षमता एकदमै कमजोर हुन्छ ।
यस्तोमा भेट्न गएका व्यक्तिबाट उसलाई सङ्क्रमणको जोखिम उच्च हुन्छ । भेट्न गएका व्यक्तिमा फ्लू तथा संक्रमण लागेको छ भने त झन् बिरामीलाई त्यो छिट्टै सर्ने भइहाल्यो’ शाही भन्छन् ‘त्यसैले बिरामीलाई भेट्न जाँदा उसलाई थप संक्रमण पो हुन्छ कि भनेर सचेत हुनुपर्छ ।’
अत्यावस्कबाहेक अस्पतालमा बिरामीलाई भेट्न नजानु नै उचित हुन्छ हुने र फोनबाट नै कुरा गरेर सान्त्वना दिन सकिने डा.शाहीको भनाइ छ । अस्पतालमा जाँदा प्राय मान्छे मास्क नलगाई, पन्जा नलाई सिधै गएर बिरामीलाई छुन्छन् । यस्तो गर्दा बिरामीलाई बाहिरी संक्रमण सर्ने सम्भावना धेरै हुन्छ । त्यसैले अस्पतालमा बिरामी भेट्न जाँदा मास्क लगाउने र सरसफाईमा ध्यान दिनुपर्ने वीर अस्पतालका इन्टरनल मेडिसिन डा. वकास बराल बताउँछन्।
२. भीडभाड नगर्ने
अस्पतालमा बिरामी उपचार गर्नको लागि भर्ना भएको हुन्छ । यस्तोमा धेरै मान्छे भेट्न जाँदा अस्पतालमा भीडभाड हुन्छ । यस्तो हुँदा बिरामीलाई झन् समस्या हुनसक्ने डा.विकास बरालले बताए। ‘अस्पतालमा एकदमै संवेदनशील बिरामी पनि आइरहेका हुन्छन्’ डा.बराल भन्छन्, ‘यस्तोमा बिरामीलाई भिडभाडै कारण अन्य सङ्क्रमणको जोखिम हुनसक्छ।’कोही आफन्त बिरामी भएर अस्पताल भर्ना भएको छ भने सल्लाह गरेर एकैपटक भेट्न जान्छन् । तर, धेरै मान्छे एकैपटक बिरामी भेट्न जाँदा अस्पतालमा भिडभाड हुन्छ, हल्ला हुन्छ, त्यसले उपचारमा बाधा पुर्याउने र छेउछाउका अन्य बिरामीसमेत असर गर्ने डा.बराल बताउँछन् ।
३. कसरी बिरामी भएको भनेर नसोध्ने
भेट्न गएका कतिपय व्यक्तिले बिरामीलाई गएर कसरी यस्तो भयो, किन यस्तो भयो भनेर प्रश्न सोध्ने र केरकारसमेत गर्छन् । यसरी प्रश्न गर्दा बिरामीलाई मानसिकरुपमा दबाब पर्छ । उसले आफूलाई परेको पीडा बिर्सन खोजिरहेको हुन्छ, यस्तोमा के भयो, कसरी भयो भनेर सोध्दा बिरामीले त्यसलाई फेरी सम्झन सक्छ र दुःखी बनाउन सक्ने डा.बराल बताउँछन्।
‘अस्पतालमा बिरामीलाई भेट्न जाँदा हरेक व्यक्तिले के भयो, कसरी भयो भनेर सोध्ने गर्छन् । यसले बिरामीलाई झन् तनाव दिन्छ । त्यसैले अस्पतालमा बिरामीलाई भेट्न जाँदा यस्ता प्रश्न सोध्नु हुँदैन ।’
क्यान्सर जस्तो गम्भीर समस्या आफूलाई भएको थाहा पाउँदा नै बिरामी मानसिक रुपमा कमजोर भएको हुन्छ । यस्तोमा भेट्न जाने व्यक्ति ओहो तपाईँलाई त क्यान्सर पो भएछ, यो एकदमै डरलाग्दो रोग हो भनिदिए भने त्यसले बिरामीको आत्मबल झन् कमजोर भएर जान्छ र यसले उपचारमा पनि असर पुर्याउने क्यान्सर विशेषज्ञ डा. शाहीले बताए ।
४. प्याकेटका खानेकुरा नलाने
अस्पतालमा बिरामी भेट्न जाँदा लैजाने मुख्य कोसेली भनेको हर्लिक्स, जुस र बिस्कुट हो । यस्ता कोसेली बिरामीका लागि उपयोगी नहुने पोषणविद् भुपाल बानियाँ बताउँछन् । ‘कोसेलीमा प्राय बिस्कुट, जुस, हर्लिक्सजस्ता प्याकेट बन्द खानेकुरा लिएर जाने चलन हुन्छ। तर, कतिपय बिरामीमा मधुमेहको समस्या हुन्छ, केही बिरामी भर्खर अप्रेसन गरिएका हुन्छन्’ बानियाँ भन्छन् त्यस्ता बिरामीले जुस बिस्कुटजस्ता खानेकुरा खान मिल्दैन ।’
बिरामीलाई भेट्न जाँदा यस्ता खानेकुरा बोकेर जानुभन्दा सकेजति आर्थिक सहयोग उपयुक्त हुने बानियाँको भनाइ छ । बिरामीलाई भेट्न जाँदा फलफूल बोकेर जाने प्रचलन पनि व्यापक छ । अस्पतालमा त्यो फलफूललाई राम्ररी सफा गरेर खाने व्यवस्था र वातावरण नहुन सक्छ । ती फलफूल राम्ररी सफा नगरी खादा त्यसमा भएका कीटाणुले बिरामीलाई थप समस्या निम्ताउन सक्ने बानियाले बताए ।
५. ज्यादा सुझाव नदिने
कतिपयको बानी के हुन्छ भने, बिरामी भेट्न जाँदा बिरामी तथा कुरुवालाई यस्तो गर्नुपर्छ, उस्तो गर्नु हुँदैन भन्दै ज्यादा सल्लाह दिइरहेका हुन्छन् । जस्तो–कुनै अप्रेसन गरेको बिरामी छन् भने उसलाई कालो दाल खान नदिनू नि घाउ पाक्छ भन्ने सुझाव दिने गरेको पाइन्छ । ‘कसैको हात खुट्टा भाँचिएको छ भने चिप्लिकेरा खानुपर्छ छिटो निको भनिएको पनि हुन्छ
कतिपयले त अझ यो अस्पतालमा भन्दा अर्को अस्पतालमा गएर उपचार गरेको भए हुन्थ्यो नि भन्ने सम्मको सुझाव पनि दिन्छन् । यस्तो प्रकारको सुझाव पनि नदिनु नै उचित हुने डा.विकास बराल बताउँछन् ।
६. अरु बिरामीलाई असर पर्ला भनेर सचेत रहने
कतिपय बिरामीको भने आफन्तहरू अस्पताल भेट्न आउँदा तामझाम गर्ने, एकदमै धेरै कोसेली बोकेर जाने समेत गर्छन् । निजी अस्पतालमा त खासै समस्या नहोला । तर, सरकारी अस्पतालमा दुर्गमबाट आर्थिक अवस्था एकदमै कमजोर भएका बिरामीहरू पनि भर्ना भएका हुन्छन्। यस्तोमा उनीहरूलाई भेट्न आउने, कोसेली ल्याउने आफन्त नहुन पनि सक्छन्।
आफूसँगै बसेको बिरामीलाई धेरै मान्छे भेट्न आउने कोसेली ल्याउने अनि आफूलाई कसैले भेट्न नआउने देख्दा त्यो कुराले भावनात्मक असर गर्न सक्ने र दुःखी बनाउन सक्ने डा.बराल बताउँछन् ।
यसका साथै भीडभाड धेरै गर्दा साथछेउछाउका अन्य बिरामीलाई असर गर्न सक्नेमा पनि सचेत हुन बराल सुझाउँछन् ।
यस्तो पनि हुन्छ
अति विशिष्ट मान्छे अस्पताल पुग्दा अस्पताल नै अस्तव्यस्त हुन्छ । ६ महिनाअघि सौर्य एयरको जहाज काठमाडौँबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका क्याप्टेन मनिष शाक्यलाई घटनास्थलबाट उद्धार गरेर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पताल लगियो ।
क्याप्टेन शाक्यलाई भेट्न प्रधानमन्त्री अस्पताल पुगेका थिए । प्रधानमन्त्री अस्पताल पुग्दा अस्पतालको सबै काम अस्तव्यस्त भएको थियो । अन्य बिरामीको उपचार नै पनि रोकिएको थियो । यसरी अति विशिष्ट व्यक्ति अस्पताल पुग्दा पनि बिरामीको उपचारमा असर पुग्नसक्छ ।
यस्तो कुरामा विशिष्ट व्यक्ति स्वयंले पनि ध्यान दिनुपर्ने डा.बरालको भनाइ छ ।
 
                    










 २०८१ माघ  १८ गते १७:०२
                        २०८१ माघ  १८ गते १७:०२                     
                             
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                                         
                             
                         
                         
                         
                         
                         
                         
     
     
     
     
     
                             
                             
                                         
                             
                             
                             
                             
                                        
प्रतिक्रिया 4